Friday, May 24, 2013

पीडीएफ मुद्रण इमेल

सन्तोष पोखरेल, पोखरा, फागुन २९- टलक्क टल्केको माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला अनि पोखराको चिसो मौसम। शनिबार बिहान पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट सयर गर्ने जो सुकैले खुला हिमाल र चिसो मौसमको अनुभव गर्न पाउँथे । शनिबार खुला आकास सयर गर्ने भाग्यमानी पर्यटकसँगै अस्ट्रेलियाकी हिरोइन सारा माबे पनि एक थिइन्। पहिलोपटक पोखरा आएकी उनको नेपाल यात्रा पनि पहिलो नै हो। नेपाली फिल्म 'डेस्टिनेसन काठमाडौं' मा अभिनय गर्न उनी पोखरा आएकी हुन्।

फिल्मको गीत छायांकनको क्रममा शनिबार पोखराको आकासमा अल्ट्रालाइट प्रयोग गरिएको थियो। दुईवटा अल्ट्रालाइट भाडामा लिएर पोखराको सौन्दर्यको बयान गर्दै गीत खिचिएको थियो।

पोखरादेखि माछापुच्छ्रे हिमालसम्मको दृश्य छायांकनको क्रममा हिरोइन सारा निकै खुसी भइन्। 'पहिलो यात्रामै पोखराको सौन्दर्यले आकर्षित गर्‍यो,' अल्ट्रालाइटबाट ओर्लिनासाथ उनले भनिन्, 'पोखरा साँच्चै राम्रो रहेछ, मैले यति धेरै सुन्दर होला भन्ने सोचेकी थिइनँ। प्राकृतिक दृश्यले म निकै लोभिएँ,' उनले भनिन्।

नेपाली भाषा नबुझे पनि साराले शनिबार शीतल मोक्तानले गाएको 'स्वर्गभन्दा राम्रो प्रकृतिको सुन्दरता' बोलको गीतमा अभिनय गरिन्। प्राकृतिक सौन्दर्यसँग सम्बन्धित गीत भएकोले सारालाई नेपाली पोशाकमा सजिनु त परेन, तर उनले फिल्मको अर्को दृश्यमा नेपाली पोशाक लगाएर पनि अभिनय गर्नेछिन्।

'म अहिले प्राकृतिक सौन्दर्यको बखान गरिएको गीतमा रम्दैछु,' आफ्नो भूमिका प्रस्टाउँदै साराले भनिन्, 'प्राकृतिक सौन्दर्यको कल्पनामा डुबेको अवस्थालाई चित्रण गर्ने कोशिश भइरहेको छ।'

नेपाल आएका पर्यटकले विभिन्न पर्यटकीय क्षेत्र अवलोकनको क्रममा देख्ने दृश्यलाई फिल्ममा उतार्ने क्रममा पोखराको आकास प्रयोग गरिएको निर्माता महेश कुँवरले बताए।

बढीभन्दा बढी पर्यटक भित्र्याउने तयारीका साथ नेपाल पर्यटन वर्ष २०११ मनाइरहँदा फिल्ममार्फत् थप पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी हिरोइनलाई अभिनय गराइएको कुँवरले बताए। 'विदेशी हिरोइनलाई अभिनय गराउँदा नेपालको पर्यटन प्रवर्द्धनमा केही सहयोग हुने ठानेका छौं,' उनले भने।

नेपालीले विदेश गएर पाएको दुःख, पीडा, साथै नेपालको राजनीतिक खिचातानीले पारेको अप्ठेरोलाई कथावस्तुमा समेटिएको कुँवरले जानकारी दिए। फिल्ममा पर्यटन प्रवर्द्धनका दृश्यसँगै प्रेमकथा पनि जोडिएको छ। पर्यटकको रूपमा अस्ट्रेलियाबाट नेपाल घुम्न आएकी सारा र नेपालका पात्र दिलीप रायमाझीबीचको भेटघाट प्रेममा परिणत हुने कथा फिल्ममा छ।

फिल्मको ३० प्रतिशत अंश अस्ट्रेलिया र बाँकी नेपालमा छायांकन गरिनेछ। हिरोइन साराले अहिलेसम्म अस्ट्रेलियामा ३ वटा फिल्ममा अभिनय गरिसकेकी छिन्। यो उनको चौथो फिल्म हो। उनले यसअघि सेभेन्थ हन्ट, भानगार्ड र न्युटन्स थर्ड ल' मा अभिनय गरेकी छिन्। नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको साराले बताइन्।
'म धेरै खुशी छु तर नेपाली भाषा नबुझ्दा केही समस्या हुने हो कि भनेर नर्भस पनि भएकी छु,' उनले भनिन्, 'नेपाली भाषाको गीतमा नाच्नुपर्दा अप्ठेरो पर्नसक्छ।'

अस्ट्रेलियाको सनराइज ग्रुप अफ इन्भेस्टमेन्ट र नेपालको जनपुकार मिडिया होमले बनाएको फिल्मका निर्देशक दीपक रायमाझी हुन्। फिल्ममा दिलिप र सारासहित झरना थापा, शुभेच्छा थापा कलाकार छन्।

शरद अधिकारी र महेश कुँवर निर्माता रहेको फिल्मको छायांकन राजु थापा र नृत्य निर्देशन राजु श्रेष्ठले गर्दैछन्। नेपालका पोखरा सहित चितवन, काठमाडौं र लुक्लामा फिल्म खिचिने छ।

 

Comments are now closed for this entry