|
नयाँ पत्रिका काठमाडौं, १६ असार विपक्षी दलहरूले सहमतिका लागि प्रधानमन्त्रीको राजीनामालाई पूर्वसर्त बनाइरहेका वेला सत्तारुढ दलका शीर्ष नेताहरूले संविधानका विवादित विषयमा सहमति नबन्दासम्म अहिलेकै सरकार कायम राख्ने निष्कर्षमा पुगेका छन् । शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको एकीकृत माओवादी र मधेसी मोर्चाका शीर्ष नेताको छलफलमा पहिचानसहितको संघीयतामा समझारी नबनेसम्म सत्ता साझेदारीमा सहमति नगर्ने निर्णय भएको हो । छलफलमा पछिल्लो राजनीतिक अवस्था र सत्ता साझेदारहरूको रणनीतिका विषयमा कुराकानी भएको स्रोतले बतायो । उनीहरूले संविधानका विवादित विषय र त्यसलाई वैधानिकता दिने विधिमा सहमति भएपछि मात्र सत्ता साझेदारीको विषय अगाडि बढाउनुपर्नेबारे छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । विपक्षी दलहरूसँग संवाद गरेर सहमतिको प्रयत्न गर्ने विषयमा पनि उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ । बजेटको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री-किरण भेट
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच शनिबार पार्टी विभाजन र वर्तमान राजनीतिक संकट समाधानका विषयमा छलफल भएको छ । भेटमा एकीकृत माओवादी र नेकपा-माओवादी कार्यकर्ताबीच झडपको स्थिति मत्थर पार्ने र पार्टी एकताको विषयमा कुराकानी भएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिए । किरणनिवास निवास गोंगबुमा भएको भेटामा एकीकृत माओवादीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा. भट्टराईले वर्तमान राजनीतिक संकट समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा किरणले राजनीतिक सहमतिको वातावरण तयार पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री डा. भट्टराईले विवाद तथा झगडा बढाएरभन्दा सहकार्यबाटै अगाडि बढ्न पनि आग्रह गरेका थिए । पार्टी विभाजन भए पनि सहमति र सहकार्य कायम गरी अगाडि बढ्न र पार्टी एकताको वातावरण तयार पार्न कसले के गर्नुपर्छ भन्नेबारे खुला रूपमा छलफलका लागि दुवै पक्ष तयार हुनुपर्ने पनि उनको भनाइ थियो । यसैबीच, सहमति निर्माणका लागि प्रधानमन्त्री डा. भट्टराईले शनिबार साँझ फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । भेटमा सहमतिको विकल्प नभएकाले पहल जारी राखेको उल्लेख गर्दै प्रधानमन्त्री डा. भट्टराईले सहयोग गर्न आग्रह गरेका थिए । यादवले पनि सहमति र सहकार्यमै सबै विषयलाई टुंग्याउन तथा राष्ट्रिय सहमतिको पहल गर्न आग्रह गरेका थिए ।
|