Friday, May 24, 2013

विदेशी नामका कलेज क्रान्तिकारीको निशानामा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २९ असार
नवगठित नेकपा-माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले विदेशी नाममा सञ्चालित उच्च माविहरूको नाम परिवर्तन गर्न २४ घन्टे अल्टिमेटम दिएको छ । विदेशी नामले राष्ट्रियतामा गम्भीर आँच पुर्‍याएको भन्दै क्रान्तिकारीले उच्च माध्यमिक शिक्षा परिषद्मा सातबँुदे ज्ञापनपत्र बुझाएको हो ।
क्रान्तिकारीले प्लस टुसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, विदेशी नाममा सञ्चालन भएका शैक्षिक संस्थाको नाम हटाएर राष्ट्रियता झल्कने नयाँ नाम राखिनुपर्ने तथा भड्किलो विज्ञापनको बोर्ड तत्काल हटाउनुपर्ने, छात्रवृत्तिलाई पारदर्शी बनाउनुपर्नेलगायतका माग शनिबारसम्म पूरा हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले पुष्टि गरे ।
क्रान्तिकारीका संयोजक शरद रसाइलीको नेतृत्वमा शुक्रबार परिषद्मा पुगेको टोलीले २४ घन्टाभित्र आफ्ना माग सम्बोधन नभए त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेबार परिषद्ले लिनुपर्ने चेतावनी दिएको छ । यसअघि नेपाल विद्यार्थी संघले पनि राष्ट्रियता मेटिनेगरी कलेजका नाम राखेको भन्दै उपत्यकामा सञ्चालित पाँचवटा कलेजको बोर्डमा कालो पोतेको थियो ।
क्रान्तिकारीले परिषद्सँग ५ माघ ०६६ मा भएको १३ बँुदे सहमतिको पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । संयोजक रसाइलीले अन्तरिम संविधानले प्लस टुसम्मको शिक्षालाई विद्यालय तहमा राखेको भन्दै सोहीअनुरूप निःशुल्क गरिनुपर्ने बताए । 'हामीले शनिबारसम्मको समय दिएका छौँ त्यस दिनभर मागको सुनुवाइ नभए आइतबारबाट विद्यार्थीको एक्सन सुरु हुन्छ,' रसाइलीले भने । उनले त्यससँगै अन्य संघर्षको कार्यक्रम ल्याउने पनि जानकारी दिएका छन् ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसानका उपाध्यक्ष रमेश सिलवालले सरकारले स्वीकृति दिएको नामलाई विद्यार्थीले हटाउन नमिल्ने बताए । 'नामै परिवर्तन गर्न पनि नियम चाहिन्छ, कसैको दबाबका भरमा हटाउने कुरा हँुदैन,' उनले भने ।
परिषद्का सदस्यसचिव भीमलाल गुरुङले विद्यार्थीका कतिपय माग जायज भएको र पूरा गर्न परिषद्समेत लाग्ने उल्लेख गर्दै केही माग भने परिषद्को क्षेत्राधिकारभन्दा बाहिर रहेको बताए । 'आजको भोलि नै नाम परिवर्तन गर भनेर भन्दैमा त्यो हुन सक्दैन । त्यसका लागि वर्तमान नीति नै परिवर्तन गर्नुपर्छ । जुनकुरा तत्कालै सम्भव छैन्,' गुरुङले भने ।

 

Add comment


Security code
Refresh