|
नयाँ पत्रिका काठमाडौं, ५ साउन एमालेका असन्तुष्ट आदिवासी जनजाति नेताहरूले आफूहरूको जिम्मेवारी खोस्ने निर्णय प्रतिगमनकारी भएको ठहर गरेका छन् । जिम्मेवारी हेरफेर गर्ने स्थायी समितिको निर्णयपछि शुक्रबार पहिलोपटक बसेको असन्तुष्ट नेताहरूको बैठकले आफूहरुलाई जिम्मेवारीविहीन बनाएर पार्टी प्रतिगमनतर्फ उन्मुख भएको आरोप लगाएको हो । पार्टीको निर्णयविपरीत अभिव्यक्ति नदिन एमालेले चेतावनी दिएपछि शुक्रबार उपाध्यक्ष अशोक राईको निवासमा बसेको असन्तुष्ट नेताको बैठकले जिम्मेवारी खोस्ने निर्णय हतारमा भएको निष्कर्षसमेत निकालेको छ । 'हतार गरेर पार्टीले जिम्मेवारी खोसुवा गर्ने निर्णय गरेको छ,' बैठकपछि उपाध्यक्ष राईले भने, 'स्पष्टीकरण नै नबुझाई जिम्मेवारीबाट निकालिँदा कारबाही गरेको सन्देश गएको छ ।' कतिपयलाई पत्रसमेत नपुगीकन जिम्मेवारीबाट निकालिएको भन्दै उनले असन्तुष्टि पोखे । स्पष्टीकरण नबुझाउँदै जिम्मेवारीबाट हटाइएकाले पुनः स्पष्टीकरण दिनुपर्ने बाध्यता नरहेको उनले बताए । 'अब स्पष्टीकरण दिनुपर्ने आवश्यकताबाट मुक्त भएको ठान्छौँ,' उनले भने, 'केन्द्रीय कमिटीको निर्णयविपरीत स्थायी समितिको निर्णय प्रतिगमनतर्फ उन्मुख रहेको हाम्रो ठहर छ ।' 'अन्तर्संघर्ष गरेरै पार्टी बलियो बनाउने आफूहरूको रणनीतिमा ठेस पुगेको छ,' अर्का असन्तुष्ट नेता पृथ्वी सुब्बा गुरुङले भने, 'यो दुःखदायी हो । उनीहरू खटाएकै ठाउँमा बसोस्, नभए जाओस् भन्ने मानसिकतामा रहेको जस्ता देखिए । जिम्मेवारी खोसेर हामीहरूलाई आक्रोशित बनाउने काम भएको छ ।'
|