|
लन्डन/ कृत्रिम फलामका खुट्टा लगाएर प्रतिस्पर्धा गरेका दक्षिण अपि|mकाका स्पिन्टर धावक ओस्कार पिस्टोरिस आइतबार राति चार सय मिटर दौडको फाइनलमा पुग्न असफल भएका छन् । सो इभेन्टको हिट चरणमा आश्चर्यचकित पार्दै दोस्रो स्थान हात पार्दै ओस्कार सेमिफाइनलमा पुगेका थिए । चालू लन्डन ओलम्पिकमा पदक जित्न नसके पनि प्रदर्शनबाट खुसी रहेको ओस्कारले बताएका छन् । 'कसैलाई केही देखाउने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न आएको थिइनँ, केवल ओलम्पिकमा भाग लिन मात्र आएको थिएँ,' चार सय मिटर दौडको अन्तिम स्थानमा परेका ओस्कारले भने, 'सक्दो उत्कृष्ट प्रदर्शन गर्ने मनसाय थियो, शरीरले भ्याएसम्म असमान्य प्रदर्शन गरेँ ।' उनले सानै उमेरमा खुट्टा गुमाएका थिए । उनले बाल्यकालदेखि प्लास्टिक तथा फलामे कृत्रिम खुट्टा लगाउँदै जीवनलाई अगाडि बढाए । स्कुले जीवनमा उनी च्याम्पियन थिए । १६ वर्षको उमेर ओस्कार रग्वी खेलाडीसमेत बने । सो खेलमा बढी रिक्स भएपछि उनले रग्वीलाई टाढै राखे । रग्वीपछि म्याराथन दौड सहज लागेको उनी बताउँछन् । 'मलाई रग्वीभन्दा म्याराथन नै सजिलो लाग्यो,' उनले भने, 'यस खेलमा म रमाइरहेको छु, अझ ओलम्पिक खेलकुद प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा खुसीको सीमा छैन ।' स्टामफोर्डबि्रज रंगशालामा चार सय मिटर दौड सुरु हुँदा हजारौँ दर्शकले ओस्कारकै साथ दिए । पाँचौँ लेनबाट दौड सुरु गरेका ओस्कार पुछारमा परे पनि दर्शकको आत्मीयता उनीमाथि नै थियो । सो इभेन्टको सेमिफाइनलमा विश्व च्याम्पियन अमेरिकन धावक किरानी जेम्सले ४४.५९ सेकेन्ड निकाल्दै फाइनलका लागि प्रवेश गरेका थिए । अमेरिकन धावक जेम्सले खेलको समाप्तिपछि ओस्कारलाई बधाई दिए । जेम्सले ओस्कारको जर्सी उपहारका रूपमा लिएका थिए । दौडमा सहभागी सबै आठै खेलाडीबाट ओस्कारलाई न्यानो माया दिए । स्पिन्टरका उत्कृष्ट खेलाडी मानिने ओस्कारले सन् २००४ को एथेन्स प्याराओलम्पिकको दुई सय मिटरमा स्वर्ण तथा सय मिटरमा कास्य पदक जितेका थिए । दौड सकिएपछि उनले भने, 'यहाँसम्म आउन धैरै मिहिनेत गरेको थिएँ, सबैबाट न्यानो माया पाउँदा उत्साहित भएको छु ।' ७० हजार दर्शकअगाडि दौडेको क्षणलाई अविस्मरणीय रहेको उनले बताएका छन् । 'सुरुमा दर्शक हेर्दा आत्तिएँ, ती सबै मेरो खेल हेर्न आएका रहेछन्, खेलको अन्तिममा उनीहरूलाई मैले निराश पारेँ,' उनले भने, 'यो अनुभव कहिल्यै बिर्सने छैन ।' यता, जेम्सले ओस्कारको प्रशंसा गर्दै भने, 'रेसमा ओस्कार मात्रै कृत्रिम खुट्टाका भरमा दौडेका थिए, उसको प्रयासलाई सम्मान गर्नुपर्छ,' जेम्सले थपे, 'उनीबाट म प्रभावित भएको छु, स्पिन्टर खेलाडी भए पनि ओस्कारले हामीलाई चुनौती दिएका थिए ।' सेमिफाइनलमा आठौँ स्थानमा रहँदा उनले ४६.५४ सेकेन्ड टाइमिङ निकालेका थिए । केही महिनापछि लन्डनमै हुने प्यारा ओलम्पिक खेलकुद प्रतियोगितमा उनले रिले इभेन्टमा सहभागिता जनाउने बताए ।
अमेरिकन झन्डा खस्दा
विम्बल्डनको सेन्टर कोर्टको एक छेउमा तीन विजेता खेलाडी उभिरहेका थिए । ओलम्पिकको महिला टेनिसकी स्वर्ण पदक विजेता अमेरिकन सेरेना विलियम्स, रजतपदक हात पारेकी रुसी मारिया सारापोभा तथा कास्य पदक विजेता बेलारुसकी भिक्टोरिया अजारेन्काले आइतबार राति सेन्टर कोर्टको बीच भागमा आ-आफ्नो राष्ट्र झन्डा फरफराइरहेको रमाइलो गर्दै हेरिरहेका थिए । अचानक तीव्र गतिको हावा थेग्न नसक्दा एउटा झन्डा भूमिमा खस्यो । स्वर्ण पदक जितेको विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको झन्डा अचानक खस्दा लन्डन ओलम्पिक आयोजना गरिरहेको बेलायत नाजवाफ भयो । ओलम्पिक इतिहासमा स्वर्ण पदक जितेको राष्ट्रको झन्डा पहिलोपटक खसेको हो । ओलम्पिकमा पदक जितेको राष्ट्रको सम्मानका लागि राष्ट्रिय धुन बजाउँदै झन्डा फरफराउने चलन छ । तर, यसपटकको महिला टेनिसको स्वर्ण पदक विजेता अमेरिकाको झन्डा नै बीच भागमा खस्दा ११ हजार दर्शकले आयोजकको चरम कमजोरी भएको बताए । केहीबेर त सेन्टर कोर्टमा हो-होल्ला भएको थियो । त्यसवेला सेन्टर कोर्टको व्यवस्थापनमा जुटेका कर्मचारीहरूको मुख कालो-नीलो भएको थियो । यता, सेरेनाले सो घटना नाटकीय लागेको बताइन् । आफ्नो साथसाथै सिंगो अमेरिकाकै बेइज्जत भएको प्रतिक्रिया उनले दिएकी छिन् । दर्शकले अमेरिकन झन्डा खसेको भिडियो टेपलाई आ-आफ्नो फेसबुक तथा टि्वटरमा सार्वजनिक गरेका छन् । यता, अमेरिकाको एनबिसी टेलिभिजनले राष्ट्रको बेइज्जत भएको ठान्दै सो दृश्य प्रसारित गरेन । आयोजक कमिटीबाट घटनाको छानबिन हुने बताएको छ ।
जेनिटीले चेनलाई निराश पारे
ब्राजिलका नावारेटज जेनिटीले चिनियाँ साबिक विजेता चेन यिविङलाई निराश पार्दै जिम्न्यास्टिकमा स्वर्ण पदक जितेका छन् । जिम्न्यास्टिकका उत्कृष्ट खेलाडी चेनले चौथोपटक स्वर्ण पदकका लागि प्रतिस्धर्पा गर्दा जेनिटीले १५.८० स्कोरमा पछि पारे । इटालीका म्याटेयोले १५.६६ स्कोर गर्दै कास्य पदक जिते । अस्ट्रेलियन टोमलाई स्वर्ण अस्ट्रेलियाका टोम सिन्डबीजले सोमबार पुरुष लेसर क्लासिकमा स्वर्ण पदक जितेका छन् । लासेर क्लासिकमा उनले २७ प्रयासमा सर्वाधिक १४ अंक जोड्दै शीर्ष स्थानमा हात पारेका हुन् । सो इभेन्टमा साइप्रसका पाल्भोस कोन्टिजले रजत पदक जिते । स्विडेनका रामुस म्यागनले कास्य पदक सुरक्षित गरेका छन् ।
लिजा शीर्ष स्थानमा
चिनियाँ खेलाडी हु लिजाले सोमबार महिला लासेर राडिल क्लासिकमा चार रेस अगाडि स्वर्ण पदक जितेकी छिन् । रेसमा नेदरल्यान्डकी मार्टिक बाउस्टिमरले रजत पदक जितिन् । बेल्जियमकी इभी भान अकेर तेस्रो स्थानमा रहिन् । जिलाले दुई अंक बटुल्दा मार्टिकले चार अंक हात पारिन् । यस इभेन्टमा कम अंक जोड्ने खेलाडीले विजेता हुन्छन् ।
|