|
एजेन्सी टोकियो, २५ साउन जापानको नागासाकी सहरका बासिन्दाले बिहीबार आजभन्दा ६७ वर्षअघि अमेरिकाले अणु बम विस्फोट गराउँदा भएको नरसंहारको स्मरण गरेका छन् । सन् १९४५ मा बम विस्फोट गराइएको केन्द्रनजिकै आयोजित स्मरणसभामा जापानका प्रधानमन्त्री योसिहिको नोदा, नागासाकीका मेयर तोमिहिसा ताउ तथा जापानका लागि अमेरिकी राजदूत जोन रुसको समेत उपस्थिति रहको थियो । सभाका सहभागीमाँझ नागासाकी सहरका प्रमुखले जापानलाई आणविक केन्द्रमुक्त राष्ट्र बनाउन आग्रह गरेका छन् । समारोहमा जापानमा आणविक केन्द्रका कारण आज पनि नागरिकले त्रासदीका रूपमा बााच्नु परेको भन्दै मेयर ताउले आगामी दिनमा विकिरणको त्रासबाट सबै जनतालाई मुक्त गराउन सरकारसमक्ष आग्रह गरेका छन् । साथै उनले विकिरणरहित नीति अवलम्बन गर्नसमेत माग गरेका छन् । जापानमा हाल आणविक भट्टीको पुनस्र्थापना गर्न नहुने विषयमा नागरिकले आवाज उठाइरहेका छन् । गतवर्ष मार्चमा गएको भूकम्पका कारण जापानका विभिन्न आणविक भट्टीमा क्षति पुगेपछि नागरिकमा विकिरणको त्रासदी छाएको हो । कार्यक्रमका सहभागीले नागासाकीको जस्तो नरसंहार आगामी दिनमा जापानी एवं विश्वका कुनै पनि नागरिकले कहिल्यै सहनु नपरोस् भनेर कामनासमेत गरेका छन् । ६७ वर्षअघि दोस्रो विश्वयुद्धमा आजकै दिन अर्थात् सन् १९४५ को अगस्त ९ मा जापानको नागासाकी सहरमा अमेरिकाले अणु बम विस्फोट गराएको थियो । विस्फोटमा त्यहाँका करिब ७४ हजार नागरिकको ज्यान गएको थियो भने हजारौँ मानिस अंगभंग भएका थिए । त्यसको तीन दिनअघि अथवा सन् १९४५ को अगस्त ६ मा जापानकै हिरोसिमा सहरमा अमेरिकाले नै गराएको अणु बम विस्फोटमा एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । नागासाकीमा भएको बम विस्फोटको ६ दिनपछि जापानले आत्मसमर्पण गरेको थियो । दोस्रो विश्वयुद्धमा जापानविरुद्ध लडेको संयुक्त राज्य अमेरिकाले गराएका अणु बम विस्फोटका कारण मात्र करिब साढे दुई लाख जापानी नागरिकले ज्यान गुमाएका थिए । हाल विश्वमा १९ हजार आणविक हतियार भएको अनुमान गरिएको छ । ती हतियारका कारण विश्वमा जहिले पनि आणविक युद्ध हुने खतरा रहेको भन्दै विश्वका मानिसहरू त्रसित छन् ।
|