|
मुलककै प्रतिष्ठित औद्योगिक घराना चौधरी गु्रप यतिखेर वाइवाइ चाउचाउका कारण 'ब्रान्डेड' हुन थालेको छ । यतिखेर चौधरी गु्रपको चौथो पुस्ता पनि व्यवसायमा आइसकेको छ । हो, वाइवाइ ब्रान्डको लागि विश्वप्रसिद्ध हुन तीव्र गतिमा दौडिरहेको यस व्यावसायिक घरानाको इतिहास १ सय ३७ वर्ष नाघिसकेको चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । तर, आधुनिक ढंगले व्यावसायिक प्रतिष्ठानको प्रारूप खडा गर्नमा भने भुरामल चौधरीको योगदान रहेको छ । सन् १९३३ मा भुरामलले जुद्ध सडक -हाल विशाल बजारको अगाडि) बाट सुरु गरेको व्यवसायको विकसित रूप नै अहिलेको चौधरी गु्रप हो । वास्तवमा भुरामलले निजी क्षेत्रबाट टेक्सटायल कपडाको आयात भारतबाट गरेर व्यवसायको आधुनिक रूप दिइएको हो । राणाशासक जुद्ध शमशेरले सीमित निजी व्यवसायीलाई यस्तो सुविधा दिएको पाइन्छ । यद्यपि चौधरी गु्रपको बजार विस्तार गराउनमा भुरामलका छोरा लुनकरण दासको मेहनत र चातुर्य पनि महत्त्वपूर्ण छ । लुनकरण २३ वर्षकै उमेरमा बाबुको व्यवसायको जिम्मेवारी प्राप्त गरेपछि विराटनगरबाट जुटका सामग्री अमेरिका र युरोपसम्म निकासी गरेर व्यवसायलाई नयाँ उचाइमा पुर्याउन कामयाब भए । त्यतिखेर जापान र कोरियाबाट 'फेबि्रक्स' का सामान पनि आयात गर्दथ्यो, 'भुरामल लुनकरण र अरुण इम्पेक्स' को नामबाट ।' यसपछि नेपाल स्पिनिङ, वेइभिङ एन्ड निटिङ प्रालि, रत्न स्टेनलेस स्टिल र अरुण इम्पोरियमको स्थापना गरिएको पाइन्छ । तर सन् १९७० मा अरुण इम्पेक्स ल्याइएपछि मुलुककै आयातनिर्यात व्यवसायमा यसले बढी चर्चा पाएको मान्ने धेरै छन् । यतिखेर चौधरी गु्रपसँग १२ क्षेत्रका ४० वटा औद्योगिक प्रतिष्ठान छन् । त्यसमा पनि वाइवाइ ब्रान्डको व्यवस्थापकीय सेवा लिन धेरै मुलुकका कम्पनीले अभिरुचि देखाउन थालेका छन् । चौधरी गु्रपको संस्थापक भुरामलले करिब ७० वर्षअघि जग हालेको व्यवसायलाई तेस्रो पुस्ताका विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीले थप उचाइमा पुर्याउन आ-आफ्ना ठाउँबाट सहयोग पुर्याएका हुन् । प्रबन्ध निर्देशक निर्वाण पनि यसलाई स्वीकार गर्छन् । 'यतिखेर चौधरी गु्रपको जुन उचाइ छ, त्यसमा तेस्रो पुस्ताको योगदान अविस्मरणीय छ,' उनले भने, 'अब चौथो पुस्ताका रूपमा हामीले पनि केही गर्ने अवस्था आएको छ ।' आधुनिक संरचनामा आएको चौधरी गु्रप पनि 'मल्टी नेसनल' कम्पनीका रूपमा जाने सोचाइमा भए पनि मुलुकको कानुनी जटिलताले सोचेजस्तो हुन नसकेको बताउँदै आएको छ । प्रबन्ध निर्देशक निर्वाणले भने, 'विदेशको लगानी नेपालमा आउने मात्र नभएर नेपाली ब्रान्ड पनि विदेशमा लैजान सक्नुपर्छ ।' उनले जसरी सगरमाथाले नेपालको पहिचान गराउन सकेको छ, त्यसरी नै नेपाली उद्यमीले पनि नेपालको चिनारी विश्वसमुदायमा पुर्याउन आवश्यक भएको बताए ।
वाइवाइ भनेको छिटोछिटो
हामीमध्ये अधिकांशले वाइवाई चाउचाउ खाएका छौँ । तर, वाइवाइको अर्थ थाहा पाएका छैनौँ । वाइवाइ शब्द थाई भाषाबाट आएको हो । थाई भाषामा वाइ भन्नाले 'छिटो' हो । त्यसैले 'वाइवाइ' भन्नाले अंग्रेजीमा 'फास्ट फास्ट' र नेपालीमा 'छिटोछिटो' हो । करिब २५ वर्षअघि नेपालमा पनि मानिसको व्यस्तता बढ्न थालेपछि नुडल्स उत्पादन गर्न धैरै कम्पनीले अभिरुचि देखाउन थालेको पाइन्छ । यही समय विदेशको व्यापारमा हिँडिरहनुपर्ने चौधरी गु्रपमा पनि नुडल्सको उत्पादन गर्ने सोच आएपछि त्यसका लागि त्यतिखेरको थाइल्यान्डको कम्पनीसँग प्राविधिक सहयोग लिइएको पाइन्छ । यही प्राविधिक सहयोग लिने क्रममा करिब २२ वर्षअघि थाई भाषाको 'वाइवाइ' नाम राख्न उनीहरूले दिएको सुझाबअनुसार सो नामकरण गरिएको प्रबन्ध निर्देशक निर्वाणले जानकारी दिए । यसलाई चौधरी गु्रपको सिजी फुड्स प्रालिले नेपाली बजारमा ल्याइरहेको छ । तर, यतिखेर वाइवाइ भन्नेबित्तिकै विश्वभर नेपाली ब्रान्ड भनेर चिनिन्छ । नेपाली वाइवाइ चाउचाउ २२ मुलुकमा निर्यात हुने गरेको चौधरी गु्रपको भनाइ छ । यसमा अमेरिका र क्यानडा पनि पर्छन् । अर्कातिर मलेसिया र खाडी मुलुकमा यसको माग दिनप्रतिदिन बढिरहेको छ । त्यसो त दक्षिण एसियाली मुलुक भारत, भुटान र मालदिभ्समा पनि नेपाली ब्रान्डको वाइवाइले बजारको राम्रो हिस्सा लिन थालेको छ । भारतमा खाद्य पदार्थको उद्योगमा अति नै तीव्र गतिमा दौडिएको कम्पनीमा वाइवाइ पर्छ । यसैगरी 'ओआरजी मार्ग' ले गरेको सर्भेअनुसार नेपालमा उत्पादित ५० उच्च ब्रान्डमध्ये वाइवाइ सन् २००५ देखि नै पहिलो नम्बरमा आइरहेको छ । अर्कातिर २२ वर्षअघिको थाई भाषाको शब्द भएर पनि 'वाइवाइ' अब पूर्ण रूपमा नेपाली जनजिब्रोको पि्रय शब्द भइसकेको छ ।
प्रस्तुति ः सुभाष न्यौपाने
|
Comments
RSS feed for comments to this post