Wednesday, Jun 19, 2013< /p>

काठमाडौंमा रात्रिबस पीडीएफ मुद्रण इमेल

नीरज खड्का/नयाँ पत्रिका
काठमाडौं, १ भदौ
रातको समयमा यातायातका साधन नपाउने समस्याबाट अब उपत्यकावासीले छुटकारा पाएका छन् । शुक्रबार साँझबाट रात्रिबस सेवा सुरु भएपछि रातको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई सजिलो भएको हो ।
चम्किलो बत्तीमा 'रात्रिबस सेवा' लेखिएका सुरक्षाकर्मीसहितका बस राति आठ बजेदेखि ११ बजेसम्म चल्न थालेका हुन् । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरु गरेको रात्रिबस सेवाको उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ रत्नपार्कमा उद्घाटन गरे । रात्रिबस सेवाको उद्घाटनसँगै जोरपाटी जाने बसले भरिभराउ यात्रु र मन्त्री श्रेष्ठ तथा अन्य अतिथिलाई लिएर रत्नपार्क परिक्रमा गरेको थियो ।
रात्रिबस सेवाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाले सुरु गरेको पहल अत्यन्तै सराहनीय रहेको बताए । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार रहेका वेला पनि रात्रिबस सञ्चालनको प्रयास भए पनि त्यतिवेला सफल हुन नसकेको काम अहिले भएको भन्दै उनले खुसी व्यक्त गरे । 'जनतालाई यातायातमा अझै सेवासुविधा विस्तार गर्नु जरुरी छ । त्यस कार्यमा महानगरपालिकाले सुरु गरेको रात्रिबस कोसेढुंगा हो,' मन्त्री श्रेष्ठले भने । रात्रिबसलाई दीर्घकालसम्म चलाउन रात्रिजीवनलाई बढाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले रात्रिबसको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय विकास मन्त्रालयका सचिव शीतलबाबु रेग्मीले सरकारले अनुदान दिएरै भए पनि रातको समयमा सार्वजनिक यात्रुबस सञ्चालन गर्नुपर्ने बताए । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले अन्य देशका सहरमा जस्तै काठमाडौंमा पनि रात्रिकालीन व्यवसायलाई प्रवर्द्धन गरी २४ घन्टे सहर बनाउनुपर्नेमा जोड दिए । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख एआइजी कुबेरसिंह रानाले प्रहरीमा जनशक्ति थोरै भए पनि रात्रिबसको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
कामपा प्रमुख तथा कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले रात्रिबस सञ्चालनलाई सफल बनाउन सबै पक्षसँग अपिल गरे । महानगरवासीको समस्यालाई ध्यानमा राखेर बस सञ्चालन गरिएकाले सबैले यसको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्नुपर्ने उनले बताए ।
सुरक्षाकर्मीसहित सिसिटिभी राखिएको बसमा यात्रा गर्दा फरक महसुस भएको कोटेश्वरबाट बस चढेका यात्रु दीपक बस्नेतले बताए । राति बस चलाउनु सरकारको राम्रो काम भएको उनको भनाइ थियो । रात्रिबसका चालक र सहचालकलाई पहेँलो रङको ज्याकेट दिइएको छ । रात्रिबसको भाडा हालका लागि दिउँसोकै सरह राखिएको छ भने विद्यार्थी र अन्य सहुलियत दिइएका वर्गका लागि तत्काल छुटको व्यवस्था गरिएको छैन । बसमा सवार यात्रुहरूमा नयाँ उत्सुकता देखिएको थियो । उनीहरू भन्दै थिए, 'दुई दिन चलाएर बन्द नगरिदिए हुन्थ्यो ।'

 

Comments   

 
0 #1 Keto 2012-08-19 09:54
busko root chahi kata kata rahechha?
Quote
 

Add comment


Security code
Refresh