|
नयाँ पत्रिका काठमाडौं, ३ भदौ राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिविना सरकारले संविधानसभा वा व्यवस्थापिका संसद् कुनैको पनि चुनाव गराउन नसक्ने बताएका छन् । काठमाडौंको सुन्दरीजलमा रहेको ओख्रेनी माध्यमिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटन गर्दै राष्ट्रपति यादवले मुख्य चार शक्तिबीच सहमति नभए जनआन्दोलन-२ का उपलब्धि गुम्ने खतरा रहेकोसमेत औँल्याए । राष्ट्रपतिले निर्वाचन आयोगले सरकारलाई संविधानसभाको निर्वाचन हुन नसक्ने पत्र पठाएको अवस्थामा निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गर्नुको अर्थ नरहेकाले फिर्ता पठाएको बताए । अध्यादेश फिर्ता गरेपछि माओवादीले संस्थागत रूपमा कडा आपत्ति जनाएका वेला राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । 'निर्वाचन आयोगले संविधानसभा वा अन्य कुनै निर्वाचन गर्न सक्दैन भनेर सरकारलाई पत्र पठाइसकेको अवस्थामा सरकारबाट स्वीकृतिका लागि निर्वाचनसम्बन्धी दुई अध्यादेश आएका थिए,' राष्ट्रपति यादवले भने, 'निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गर्ने निर्वाचन गर्न हो, निर्वाचन गराउने संस्था निर्वाचन आयोगले चुनाव असम्भव रहेको बताएपछि स्वीकृत गर्नको कुनै अर्थ थिएन, त्यसैले फिर्ता पठाइएको हो ।' राष्ट्रपति यादवले सरकारले स्वीकृतिका लागि पठाएका निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन, ०६९ शुक्रबार अस्वीकृत गरी सरकारलाई फिर्ता पठाएका थिए । राष्ट्रपति यादवले नयाँ निर्वाचनका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए । अध्यादेश फिर्ताबारे एकीकृत माओवादीले शनिबार गरेको टिप्पणी लक्षित गर्दै राष्ट्रपतिले सरकारलाई कानुन मात्र पढे पुग्ने आफूलाई संविधान पनि पढ्नुपर्ने बताए । 'सरकारलाई कानुनमात्र पढे पुग्छ,' राष्ट्रपतिले भने, 'मैले संविधान पनि पढ्नुपर्छ ।' माओवादीले शनिबार अध्यादेश अस्वीकृत गर्ने राष्ट्रपतिको कदम 'दुर्भाग्यपूर्ण' भएको टिप्पणी गर्दै राष्ट्रपतिको सो कदमविरुद्ध जनपरिचालन गर्ने घोषणा गरेको थियो । कार्यक्रममा शिक्षामन्त्री दीनानाथ शर्माले माध्यमिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार नीति नै परिवर्तनको तयारीमा रहेको बताए । 'हाम्रो अहिलेको माध्यमिक शिक्षा समयसापेक्ष र गुणस्तरीय छैन,' मन्त्री शर्माले भने, 'मन्त्रालय माध्यमिक शिक्षा गुणस्तरीय र समयसापेक्ष बनाउन शिक्षा नीति परिवर्तन गर्ने तयारीमा छ ।' उनले शिक्षा नीति परिवर्तन गर्न मन्त्रालयले काम सुरु गरिसकेको पनि बताए । कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले शिक्षाको गुणस्तर पछिल्लो समयमा खस्केको बताउँदै त्यसलाई सुधार्न सरकारले विद्यालय सुधार कार्यक्रम ल्याउनुपर्ने बताइन् । कांग्रेस केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायले शिक्षाको गुणस्तर नसुधारी योग्य जनशक्ति सम्भव नभएको बताए ।
|