Friday, May 24, 2013

इटालीद्वारा महानगरपालिकालाई दमकल र उपकरण हस्तान्तरण पीडीएफ मुद्रण इमेल

नीरज खड्का/नयाँ पत्रिका
काठमाडौं, ३ भदौ
इटालीको बुजेन बुल्जानो राज्यले काठमाडौं महानगरपालिकालाई अत्याधुनिक दमकलसहित अग्नि नियन्त्रणका उपकरण प्रदान गरेको छ । आगलागी नियन्त्रण र खोज तथा उद्धारका सामग्री आइतबार आयोजित एक कार्यक्रममा बुजेन बुल्जानोका फायर बिग्रेड चिफ डा. अर्नस्ट प्रेयरले काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सवारीसाधन, उपकरण तथा औजार प्राप्तिका लागि रोटरी क्लब अफ काठमाडौं मिडटाउनले विशेष सहयोग उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।
सो राज्यले प्रदान गरेका सवारी तथा उपकरणमा एकथान ठूलो दमकल, एकथान सानो दमकल, एउटा हेभी रेस्क्यु ट्रक, एउटा लाइट रेस्क्यु ट्रक, एउटा जिप र भर्‍याङ रहेका छन् । ठूलो दकमल २२ सय लिटर पानी र चार सय लिटर फम क्षमताको रहेको छ । सो दमकलमा आगो नियन्त्रण गर्दा मोनिटरको उपयोग हुन्छ । सानो दमकल काठमाडौंको विद्यमान भौतिक संरचनाका लागि अत्यन्तै उपयोगी हुने प्राविधिकहरूले बताए । सानो भएकाले यो दमकल काठमाडौंका गल्लीगल्लीमा पनि पुग्न सक्ने तथा चार सय लिटर पानी राख्ने क्षमता भएकाले भित्री सहरी क्षेत्रका लागि उपयोगी हुने जुद्ध बारुणयन्त्रका प्रमुख लीलाराज गछामगरले बताए । यस्तै सो राज्यले अग्ला घरमा हुने आगलागी नियन्त्रणका लागि ३० मिटर अग्लो भर्‍याङ पनि उपलब्ध गराएको छ ।
यसैगरी, बुजानो राज्यले उपलब्ध गराएको हेभी रेस्क्यु ट्रक आगलागी नियन्त्रणमा काम गर्ने कर्मचारीहरूले खोज तथा उद्धारका लागि प्रयोग गर्नेछन् । यो नेपालमा पहिलो प्रयोग हुनेछ । सो ट्रकमा भौतिक संरचना भत्किँदा वा सवारी दुर्घटना हुँदा च्यापिएका व्यक्तिलाई बाहिर निकाल्न प्रयोगमा आउने हाइड्रोलिक उपकरण जडान गरिएको तथा त्यसैमा क्रेन पनि भएकाले दुर्घटनामा परेका सवारी साधन उठाउन उपयोगी हुने इटालियन प्राविधिकले बताए । सोबाहेक आगलागी नियन्त्रणमा संलग्न जनशक्तिको सुरक्षाका लागि आवश्यक पर्ने ज्याकेट, बुट, पानी तान्ने पाइप, खोज तथा उद्धारमा सिसा एवं फलाम काट्ने उपकरण प्राप्त भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा संघीय ब्यवस्था तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले बुजानो राज्यले गरेको सहयोगले द्विपक्षीय सहयोगमा बल पुग्ने बताए । उनले उपत्यकामा दमकल माग धेरै भए पनि इटाली सरकारमार्फत भएको सहयोगले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । बुजानो प्रान्तका दमकल प्रमुख डा. अर्नस्ट प्रेयरले काठमाडौं सहर संस्कृतिमा धनी भए पनि विपत्का वेला उद्धारका लागि आवश्यक सामग्री नभएकाले सहयोग गरिएको बताए । काठमाडौंलाई दमकल सहयोग गर्न पाउँदा अत्यन्तै खुसी रहेको उनको भनाइ थियो ।
विपत्का दृष्टिले सहर संवेदनशील भएकाले उद्धारका लागि आवश्यक औजार र उपकरणहरूको अभाव भइरहेको सन्दर्भमा इटालीबाट प्राप्त यी आधुनिक उपकरणहरू सम्भावित विपत् क्षति न्युनीकरणका लागि उपयोगी हुने कामनपा प्रमुख केदारबहादुर अधिकारीले बताए । महानगरले सुरु गरेको विपत् व्यवस्थापन कोषमा संकलन हुने रकमले सहरका विभिन्न ६ स्थानबाट दमकल सेवा सञ्चालन गर्ने र अन्य विपत्मा सकेसम्म छिटो महानगरपालिका पुग्ने संयन्त्र निर्माणका लागि प्रयोग गर्ने योजना बनाएको अधिकारीले जानकारी दिए । जुद्ध बारुणयन्त्र कार्यालयसँग यसअघि विभिन्न दातृ निकायबाट प्राप्त भएका दमकल ६ वटा, भर्‍याङ दुईवटा, रेस्क्यु ट्रक दुईवटा र अन्य केही उपकरण थिए ।
नयाँ उपकरणहरू कसरी चलाउने भन्नेबारेमा जुद्ध बारुण शाखाका कर्मचारीहरू इटालियन प्राविधिकहरूसँग एक सातादेखि तालिम लिइरहेका छन् । उनीहरूलाई अझै एक साता तालिम दिइने गछामगरले जानकारी दिए ।

 

Add comment


Security code
Refresh