|
नयाँ पत्रिका काठमाडौं, १३ भदौ शिक्षा सरोकारवालाहरूले राजनीतिक संक्रमण नसकिँदासम्म नेपालमा विदेशी विद्यार्थी भित्र्याउन नसकिने धारणा राखेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको अन्तरक्रियामा उनीहरूले पटकपटक हुने बन्द र हड्तालका कारण नेपाली विद्यार्थी बिदेसिएको बताए । उनीहरूले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई पर्यटनदूतका रूपमा घोषित गरी उनीहरूमार्फत विदेशी विद्यार्थी नेपालमा ल्याउन सकिने प्रशस्त सम्भावना रहे पनि सरकारले त्यसप्रति चासो नदिएको बताए । कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक अस्थिरताका कारण शिक्षा क्षेत्र पनि प्रभावित भएको भन्दै राजनीतिक स्थिरता नहुन्जेल शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नसकिने विचार व्यक्त गरे । उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण नहुन्जेल विदेशी विद्यार्थीलाई नेपालमा ल्याउन नसकिने पनि बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले सार्वजनिक निजी साझेदारी ढाँचाअनुरूप शिक्षामा विदेशी लगानीकर्ता भित्र्याउन सकिने सम्भावना उत्तिकै रहेको बताए । उनले हावापानी राम्रो भएका कारण नेपाललाई अन्तर्राष्ट्रिय 'हब'का रूपमा विकास गर्न सकिने धारणा व्यक्त गर्दै व्यावसायिक शिक्षामा जोड दिइएमा विदेशी विद्यार्थी ल्याउन सकिने बताए । कार्यक्रममा नेपाल प्राध्यापक संघका महासचिव रामेश्वर उपाध्यायले व्यक्तिको लहडका भरमा शिक्षा नीति ल्याउने परम्पराले शैक्षिक गुणस्तर ह्रास भएको बताए । नेपाल विद्यावारिधि संघका अध्यक्ष डा. राजेन्द्र केसीले पाठ्यक्रम स्तरीय भए पनि पर्याप्त विषय नभएकाले नेपाल शिक्षाका लागि गन्तव्य बन्न नसकेको गुनासो गरे । त्यसअवसरमा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारी, इक्यानका अध्यक्ष राजेन्द्र बराल, राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष बुद्धिप्रसाद रेग्मीलगायतका वक्ताहरूले अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम र भौतिक पूर्वाधारको विकास गर्न सकिएमा नेपालले विदेशी विद्यार्थीलाई आकषिर्त गर्न सक्ने बताए ।
|