अख्तियारले विभागीय कारबाहीको सिफारिस गरेका व्यक्ति पनि उम्मेदवार
भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, २८ भदौ शिक्षा मन्त्रालयमातहतको जनक शिक्ष्ाा सामग्री केन्द्र लिमिटेडमा रिक्त रहेको प्रबन्ध सञ्चालकको पदपूर्ति प्रक्रिया सुरु भएको छ । सरकारले सार्वजनिक संस्थाहरूमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छनोट गर्न गठन गरेको सार्वजनिक संस्थान निर्देशन बोर्डले जनक शिक्षामा पनि प्रबन्ध सञ्चालक नियुक्तिको तयारी गरेको हो । बोर्डले सार्वजनिक सूचना जारी गरेर प्रबन्ध सञ्चालकको उम्मेदवार खोजेको छ । तर, केन्द्रमा अनियमितताको पुष्टिपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभागीय कारबाहीका लागि सिफारिस भएका कपिलदेव पोखरेल प्रबन्ध सञ्चालक बन्ने दौडमा लागेका छन् । पोखरेल पुस्तक छपाइ प्रकरणमा आर्थिक अनियमिततामा मुछिएका व्यक्ति हुन् । ०६५/०६६ मा वीरेन्द्रकुमार दास जनक शिक्षाको प्रबन्ध सञ्चालक रहेका वेला भारतमा पुस्तक छपाइमा अनियमितता गरेको सम्बन्धमा अख्तियारले छानबिन गरी वीरेन्द्रकुमार दास, रामचन्द्र सिलवाल, कपिलदेव पोखरेललगायत आठ कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएको थियो । तर, दासपछि हाल प्रबन्ध सञ्चालक रहेका रामचन्द्र सिलवालले आफू पनि कारबाहीमा पर्ने डरले पोखरेललाई नसिहत मात्र दिएर अहिलेसम्म विभागीय कारबाही गरेका छैनन् । त्यस्तो अनियमितता गर्नेलाई जागिरबाट हटाउनसमेत सकिन्छ । भारतमा किताब छपाइ गर्न तथा नेपालकै केही निजी प्रेसमा छपाइ गर्न तत्कालीन प्रबन्ध सञ्चालकले १५ फागुन ०६५ मा निर्णय गरेका थिए । त्यतिवेला कपिलदेव पोखरेल उपनिर्देशक पदमा कार्यरत थिए भने केन्द्रको पाठ्य पुस्तक प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा थिए । उनले केन्द्रले पुस्तक छाप्न नसक्ने, कर्मचारी थाकेका र मेसिन पनि पुराना भएको देखाएर टिप्पणी उठाउँदै किताब भारतमा छाप्न सिफारिस गरेका थिए । २५ चैत ०६६ मा सञ्चालक समिति अध्यक्षले निर्देशक पोखरेललाई लेखेको पत्रमा केन्द्रको कर्मचारी सेवा-सर्त विनियमावलीअनुसार कार्य सम्पादन नगरेको देखिएको र पदीय दायित्व र जिम्मेवारी पूरा नगरेकाले अख्तियारको निर्णयअनुसार केन्द्र सञ्चालक समितिको २५ चैत ०६६ को निर्णयबाट जनक शिक्षा कर्मचारी सेवा-सर्त विनियमावलीअनुसार नसिहत दिने निर्णय भएको जनाएको छ । केन्द्रका स्थायी कर्मचारी नरहेका तत्कालीन प्रबन्ध सञ्चालक दासलाई सरकारले पदबाट हटाएको थियो । अहिले अख्तियारले विभागीय कारबाहीका लागि सिफारिस गरेका पोखरेल पनि प्रबन्ध सञ्चालक हुन उम्मेदवार बनेर दौडधुप गरिरहेका छन् । संस्थालाई करोडौँ घाटा पुर्याई आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न मात्र लाग्ने व्यक्तिलाई संस्थाको प्रमुख नबनाउन आफूहरू लाग्ने कर्मचारीले बताएका छन् । केन्द्रका एक कर्मचारीले भने, 'अख्तियारबाट दोषी ठहरिएका पोखरेलजस्ता कर्मचारी प्रमुख भएर आएमा संस्थाकै बदनाम हुनेछ, त्यस्तालाई काम गर्ने वातावरण पनि हुँदैन ।' प्रबन्ध सञ्चालक बन्न निवेदन पेस गर्ने अन्तिम दिनसम्ममा नौजनाले दरखास्त दिएका छन् । तीमध्ये अनिल झा उद्योग मन्त्रालयका उपसचिव हुन् भने कपिलदेव पोखरेल र मनोहर लामिछाने जनक शिक्षामा कार्यरत कर्मचारी हुन् । पोखरेल जनक शिक्षाका निर्देशक तहका कर्मचारी हुन् । उनी केही समय अघिसम्म जनक शिक्षाको कर्मचारीको नाममा खोलिएको जनक बहुमुखी सहकारीका अध्यक्ष थिए भने त्यस समयमा जनक शिक्षाको पुस्तक सहकारीको नामबाट बिक्री गरी अवैध आम्दानी गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । दरखास्त दिनेहरूमा दीपक अधिकारी, ईश्वरी घिमिरे, कपिलदेव पोखरेल, मनोहर लामिछाने, शालिकराम भुसाल, इन्जिनियर प्रदीप पौड्याल, अनिल झालगायत छन् ।
|
Comments
RSS feed for comments to this post