Monday, May 20, 2013

१२ वर्षपछि फर्कायो पाकिस्तानी दूतावासले छात्रवृत्ति पीडीएफ मुद्रण इमेल

रामप्रसाद न्यौपाने/नयाँ पत्रिका
काठमाडौं, ६ असोज
नेपाली विद्यार्थीका लागि आउने छात्रवृत्ति कोटा नेपाल सरकारलाई नबुझाई आफँै विद्यार्थी छनोट गर्दै आएको पाकिस्तानी दूतावासले १२ वर्षपछि विद्यार्थी छनोटको जिम्मा नेपाल सरकारलाई दिएको छ ।
नेपाल सरकारका नाममा आउने छात्रवृत्ति नेपालस्थित सोही देशको दूतावासले लिने र विद्यार्थी छान्ने गरेको समाचार गत ५ वैशाखमा नयाँ पत्रिका दैनिकमा छापिएको थियो । सो समाचारमा भारत,  पाकिस्तान र बंगलादेश सरकारले कूटनीतिक मर्यादा नाघेर नेपाल सरकारलाई दिनुपर्ने कोटामा आफैँ परीक्षा लिई विद्यार्थी छनोट गर्ने गरेको उल्लेख थियो ।
त्यतिवेला संसद्को परराष्ट्र तथा मानवअधिकार समितिले विदेशी छात्रवृत्ति तथा अन्य सहयोग परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने भन्दै दुईपटकसम्म सरकारको ध्यानाकर्षण गराएको थियो । सोही समाचार छापिएपछि पाकिस्तानस्थित नेपाली दूतावासको पहलमा नेपालका लागि आउने छात्रवृत्तिको कोटा यस वर्षदेखि परराष्ट्र मन्त्रालय हँुदै शिक्षा मन्त्रालयमा आइपुगेको हो ।
शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका उपसचिव लक्ष्मीबहादुर खड्काले पाकिस्तान सरकारले नेपाली विद्यार्थीका लागि वर्षेनी पठाउने गरेको छात्रवृत्ति कोटा झन्डै १२ वर्षपछि मन्त्रालयमा आइपुगेको बताए ।
विभिन्न विषय पढ्नका लागि यस वर्ष आएको २५ वटा कोटाका लागि मन्त्रालयले १८ नेपाली विद्यार्थीलाई गत २० भदौमा छनोट गरी  सकेको छ । त्यसमा दशजना एमबिबिएस, एकजना बिडिएस, तीनजना डि-फार्मेसी र चारजना इन्जिनियरिङ विषय पढ्नका लागि छनोट भएका छन् । बाँकी सातवटा इन्जिनियरिङ कोटा भने समयमै विद्यार्थी सम्पर्कमा नआउँदा गुमेको मन्त्रालयले जनाएको छ ।
नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि पाकिस्तानस्थित नेपाली दूतावासले नेपालका लागि दिइएको छात्रवृत्ति कोटा नेपाल सरकारकै मातहतमा जानेगरी कूटनीतिक पहल गरेको उपसचिव खड्काले बताए । 'समाचार आउनासाथ पाकिस्तानस्थित नेपाली दूतावासका प्रथम सचिव दुर्गाप्रसाद भण्डारीले विशेष चासो लिनुभयो र उहाँले नेपालका लागि आउने सबै सहयोग परराष्ट्रमार्फत सम्बन्धित मन्त्रालयको हक हुने गरी पठाउने व्यवस्था गर्नु भएको हो,' उनले भने । योपटकको छात्रवृत्तिकोटा पहिले परराष्ट्र मन्त्रालयमार्फत शिक्षामा आए पनि काठमाडांैस्थित पाकिस्तानी दूतावासले आफूले नै वितरण गर्ने प्रयास गरेको थियो ।
शिक्षा मन्त्रालयमा पुगेको कोटालाई दूतावासले सूचना निकाली चार सय रुपैयाँका दरले फारमसमेत भराइसकेको थियो । तर पुनः पाकिस्तान सरकारका तर्फबाट आफ्नो दूतावासलाई सो कार्य नगर्न र मन्त्रालयलाई दिन निर्देशन दिएपछि फारमको पैसासमेत फिर्ता गरी शिक्ष्ाा मन्त्रालयलाई जिम्मा दिएको हो । 'हामीले तयारी गर्दागर्दै पाकिस्तानी दूतावासले नै अघिल्ला वर्षमा जस्तै आफँै छनोट गर्ने प्रक्रिया अघि बढाएपछि हामी अल्मलियाँै, तर अन्त्यमा पुनः हामीलाई नै जिम्मा दियो,' खड्काले भने । तर, छोटो समयमा विद्यार्थीले समेत थाहा पाउन नसक्दा सबै कोटामा विद्यार्थी जान नपाएको उनले बताए ।
त्यसो त पाकिस्तानले दिएको छात्रवृत्ति पूर्ण निःशुल्क भने होइन । त्यहाँ छनोट भएका विद्यार्थीले प्रतिवर्ष झन्डै दुई हजार डलरका दरले तिर्नुपर्ने हुन्छ । 'नेपालमा एमबिबिएस पढ्नका लागि ३०/३५ लाख तिर्नुपर्ने अवस्था छ, तर त्यहाँ गएमा सात/आठ लाखमै कोर्ष सकिने भयो । त्यसैले पनि यो राहत छ,' खड्काले भने ।
बंगलादेशको गडबडपछि मन्त्रालयले लियो जिम्मा
झन्डै चार वर्षअघि बंगलादेश सरकारले शिक्षा मन्त्रालयको नाममा एमबिबिएस पढाइका लागि विद्यार्थी छनोट गरी पठाउन आग्रह गर्‍यो । सोहीअनुसार मन्त्रालयले पनि परीक्षा लिई उत्कृष्ट ठहरिएका सात विद्यार्थीलाई बंगलादेशका लागि छनोट गर्‍यो । तर, उनीहरूको नाममा दूतावासका कर्मचारीले अन्य विद्यार्थी पठाएका थिए । छात्रवृत्ति शाखाका उपसचिव खड्का भन्छन्, 'सरकारले छनोट गरिसकेकाले छानिएका सात विद्यार्थीलाई नेपाल सरकारले नै शुल्क तिरेर चार वर्ष बंगलादेशमै अध्ययन गरायो । तीन वर्षअघि पनि छनोट भएकी एकजना छात्राको ठाउँमा सांस्कृतिक कोटाबाट अर्को व्यक्ति नै छनोट गरी पठाइदिएपछि मन्त्रालयले आफ्नै खर्चमा पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पढ्न पठाएको उनले बताए ।
आधा मन्त्रालयका लागि दिने र आधा आफूले नै राखी सांस्कृतिक कोटाअन्तर्गत विद्यार्थी पठाउने नियम बनाएको नेपालस्थित बंगलादेशी दूतावासले पटक-पटक धोका दिएपछि मन्त्रालयले बंगलादेशबाट आउने  कुनै पनि कोटा छनोट नगर्ने निर्णय गरेको छ । उपसचिव खडकाले भने, 'हामीले छनोट गरेका विद्यार्थीलाई समेत बीचमा अड्काइदिने गरेपछि किन हामीले छनोट गर्नु भनी सबै दूतावासलाई जिम्मा दिएका हाँै ।'

अरू दूतावासले टेरेनन्

सरकारले पटक-पटक ध्यानाकर्षण गराए पनि भारतीय  र बंगलादेशी दूतावासले छात्रवृत्तिका लागि आउने कोटा आफँै लिएर विद्यार्थी छनोट गर्ने गरेका छन् । भारतले नेपालमै अध्ययन गर्ने विद्यार्थीका लागि आफैँले परीक्षा लिई छात्रवृत्ति प्रदान गर्ने गरेको छ । बंगलादेशले वितरण गर्ने एमबिबिएस कोटाको विद्यार्थी छनोट  कार्यगत तीन वर्षदेखि दूतावास आफैँले छनोट गर्दै आइरहेको छ । उनीहरूले खुला र सांस्कृतिक कोटाका नाममा आफैँ विद्यार्थी छनोट गर्दै आएका छन् । खुला कोटाको छनोट प्रक्रिया केही स्वच्छ भए पनि सांस्कृतिक कोटामा भने व्यापक चलखेल हुने गरेको परराष्ट्र स्रोतले बताउने गरेको छ ।
गतवर्ष ४ साउन र २० चैतमा तत्कालीन संसद्को परराष्ट्र तथा मानवअधिकार समितिले विदेशी छात्रवृत्ति दूतावासले वितरण गर्नु कूटनीतिक मर्यादाविपरीत भएको भन्दै परराष्ट्र र शिक्ष्ाा मन्त्रालय तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । तर, परराष्ट्रले सो समितिलाई त्यसको जवाफ दिन सकेन । परराष्ट्र मन्त्रालयका प्रवक्त अर्जुन थापाले सो सम्बन्धमा मन्त्रालयले पहल गरिरहेको बताए । तर, स्रोतका अनुसार कतिपय कोटा दूतावासका कर्मचारीले  राजनीतिक दलका नेता, उच्च घराना, उच्च सरकारी अधिकारी  तथा व्यापारीका सन्तानका नाममा छुट्याउने गरेपछि कोटा व्यवस्थित गर्न गाह्रो भएको हो ।

 

Comments   

 
0 #1 mandan b. k.c. 2012-09-23 12:12
chha barsha agadi bangladeshko lagi 2 numberma selection bhaeko umangdhoj karki nepali congress ko dariwal siksha mantri hunda gaeb bhako thiyo, nepalle paye pani testai ho, bideshile pae pani partiality ta hunchha hunchha, nabhae 062 salko bangladeshko result heram na sathi ho, bichara bangladesh jane bhanera garmika kapada samet kinera tayari halatma kurna paryo, tar pachhi usko thauma bimlendrale afno manchhe pathaepachhi usko palo michiyo, hal u frankfurtma self financema medicine padhdai chha.
Quote
 

Add comment


Security code
Refresh