Wednesday, Jun 19, 2013< /p>

तामाङबाट सिक्नुपर्ने पाठ पीडीएफ मुद्रण इमेल


नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको ७८ वर्षको उमेरमा हृदयाघातबाट शनिबार बिहान निधन भयो । नेपाली राजनीतिमा अलिकति पनि चासो राख्नेहरूका लागि उनको निधनको खबरले पक्कै पनि दुःखी तुल्याएको हुनुपर्छ । तामाङको निधनबाट नेपाली राजनीतिमा मूल्य, मान्यता र निष्ठाको राजनीतिमाथि ठूलै धक्का पुगेको अनुभव धेरैले गरेको देखिँदै छ । खासगरी छलछाम, धोका, स्वार्थ सबै भुलेर जीवनभर इमान-जमानको राजनीति गरिरहेका कांग्रेस नेता तामाङ निष्ठाको राजनीतिको पर्यायकै रूपमा चिनिन्थे ।
नेता तामाङको निधनपछि नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरूले गरेको टिप्पणीबाट पनि उनको राजनीतिक आदर्श र उचाइको अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तामाङको निधनले आदर्श र सिद्धान्तको राजनीति गर्नेहरूका लागि ठूलो धक्का पुगेको र उनीजस्ता आदर्श र निष्ठावान् व्यक्तिहरू समाजमा कमै देखिने बताउनु उनको राजनीतिप्रतिको निष्ठाकै सम्मान हो । साथै, नेता तामाङको निधनले कांग्रेसलाई मात्र होइन, समग्र मूल्य, मान्यताको राजनीति गर्नेहरूलाई ठूलो धक्का पुगेको बताएर प्रधानमन्त्री भट्टराईले तामाङप्रति गहिरो श्रद्धाभाव प्रकट गरेका छन् ।
सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरूको खडेरी परिरहेका वेला नेता तामाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको अनुभव गरिनु गलत होइन । जटिल राजनीतिक संक्रमणबाट गुजि्ररहेको मुलुकमा यतिखेर सहमति र सहकार्यको राजनीतिबाट दलहरू टाढिँदै गएको भान भइरहेको छ । जनताको पटकपटकको संघर्षबाट जन्मेको संविधानसभा चार वर्षमा पनि नयाँ संविधान दिन नसकी मृत्युवरण गर्न बाध्य भयो । सरकारले नयाँ चुनाव घोषणा गरे पनि दलहरू सहमतिमा नआइदिँदा घोषित तिथि त्यत्तिकै गुजि्रसक्यो । अब चुनाव कहिले होला, यसै भन्न सकिने स्थिति छैन । दलहरू सत्ताको मियोवरिपरि चक्कर काटिरहेका छन् । तैपनि, साँघुरो स्वार्थको घेराबाट माथि उठेर उनीहरूले मुलुक र मुलुकवासीका लागि सोच्न पटक्कै सकिरहेका छैनन् ।
यतिखेर सत्ताको लिगलिगे दौडमा आँखा चिम्लेर कुदिरहेका दलका नेताले गान्धीवादी कांग्रेस नेता भीमबहादुर तामाङको त्यागी जीवनबाट धेरै सिक्न बाँकी नै रहेको देखिन्छ । तामाङले जीवनभर व्यक्तिगत लाभको लेखाजोखा नराखी कांग्रेसको प्रजातान्त्रिक समाजवादको आदर्शलाई व्यवहारमा उतारेर स्वार्थको राजनीतिदेखि आफूलाई सदैव टाढै राखे । विभिन्न दलमा बसेर जनजातिका नाममा राजनीति गरिरहेका नेताहरूले अलग्गै पार्टी खोल्दा पनि जातीय नाराले मुलुक विखण्डित हुने भन्दै नेपाली राजनीतिको मूलधारमै सक्रिय तामाङले राजनीतिक सहमति र सहकार्यको बाटो हिँड्न दलका नेताहरूलाई प्रेरित गरेका छन् । नेता तामाङप्रति श्रद्धाञ्जली दिन चाहने नेताहरूले कम्तीमा पनि स्वार्थ छाडी सत्ता दौडबाट पछि हटेर सहमति र सहकार्यको राजनीतिलाई अघि बढाई जारी राजनीतिक संक्रमणबाट छिटोभन्दा छिटो मुलुकलाई मुक्त गर्न सक्नुपर्छ । सादा जीवन उच्च विचारका धनी तामाङबाट वर्तमान राजनीतिक नेतृत्वले सिक्नुपर्ने पाठ नै यही हो ।

 

Add comment


Security code
Refresh