|
जेलमा सजाय कटाइरहेका अभिभावकसितै जेलको चौघेराभित्र बन्दी बन्न विवश कलिला केटाकेटीलाई बाहिर ल्याएर उनीहरूको लालनपालन गर्दै आएकी नेपालकी पुष्पा बस्नेत सिएनएन हिरो २०१२ चयन भएकी छिन् । यसअघि चेलिबेटी बेचबिखनविरुद्ध सक्रिय माइती नेपालकी अनुराधा कोइरालाले सन् २०१० मा सोही उपाधि जितेर नेपाल र नेपालीको शिर उठाएकी थिइन् । यसवर्ष अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर’ स्थापना गरेर विगत आठ वर्षदेखि जेलको चौघेरामा बाबुआमासितै कैद बालबालिकालाई बाहिर ल्याएर उनीहरूको शिक्षादीक्षा, लालनपालन र स्वास्थ्योपचारमा समर्पित हुँदै आएकी पुष्पा बस्नेत अर्की सिएनएन हिरो घोषित भएकी छिन् । २८ वर्षको युवा उमेरमै पुष्पाले पाएको यो उपाधिले आजका युवालाई पनि मुलुकमै बसेर केही गर्ने प्रेरणा दिएको छ । लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमै सामाजिक काममा हात हालेकी पुष्पाले जेल परेका बाबुआमाका सन्तानलाई नयाँ जीवन दिइरहेकी छिन् । सामान्यतः जेल कसैका लागि पनि उपयुक्त हुँदैन । अझ बालबालिकाका लागि त जेलको चौघेरा कल्पनासम्म गर्न नसकिने कुरो हो । तर, अभिभावकको अपराधकर्मसँगै जेलको पर्खालभित्र कैद हुन विवश बालबालिकाले शिक्षादीक्षा, पौष्टिक खाना, स्वास्थ्योपचारको उचित अवसर त पाउँदैनन् नै, साथसाथै अन्य बालसुलभ क्रियाकलाप देखाउनसमेत उनीहरूलाई छुट हुँदैन । यिनै बन्दीसरह जीवन बिताउन बाध्य बालबालिकालाई भरपर्दो सहारा दिएको हुनाले नै पुष्पाले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हात पारेकी हुन् । पुरस्कारसँगै पुष्पाले झन्डै अढाई करोड रुपैयाँ प्राप्त गरेकी छिन् । पुरस्कारले आफ्नो काममा अझै अघि बढ्न सघाउ पुग्ने उनी स्वयंले स्विकारिसकेकी छिन् । उनले यसअघि नै मुलुकभर अझै पनि धेरै बालबालिका जेलको चौघेराभित्रै रहेकाले आफूले तिनलाई पनि सहारा दिन चाहेको बताउँदै आएकी थिइन् । त्यसको संकेत उनले अमेरिकाको लसएन्जल्समा आयोजित पुरस्कार घोषणा समारोहमा पनि गरिसकेकी छिन् । कुनै पनि बालबालिकाले जेलको चौघेराभित्र कैद हुनु नपरोस् भन्दै आएकी पुष्पाको यो सफलतापछि अझै धेरै बालबालिकाले ँजेल जीवन’बाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । अमेरिकी टेलिभिजन च्यानल सिएनएनले हरेक वर्ष विश्वभरबाट इन्टरनेट भोटिङका माध्यमबाट छानिएका उत्कृष्ट १० समाजसेवीमध्येबाट सबैभन्दा बढी मत पाउने समाजसेवीलाई सिएनएन हिरो उपाधि प्रदान गर्ने गरेको छ । उपाधिसँगै विजेताले यस वर्षदेखि झन्डै तीन लाख अमेरिकी डलर नगद पुरस्कारसमेत हात पार्ने हुनाले पनि यो पुरस्कारको ठूूलो महत्त्व देखिन्छ । यस्तो पुरस्कारले एकातिर सामाजिक सेवामा लागिपरेका समाजसेवीलाई संसारभर चिनाउने र अर्कातिर उनीहरूको काममा आर्थिक रूपमा समेत सघाउने हुनाले पनि यस्ता पुरस्कारको महत्त्व निकै ठूलो हुन्छ । त्यसैले पुष्पाले जुन उमेरमा जुन स्तरको पुरस्कार हात पारेकी छिन्, त्यसले नेपाली युवालाई सामाजिक सेवातर्फ आकषिर्त गरिरहनेछ । सफलताका लागि सिएनएन हिरो पुष्पा बस्नेतलाई बधाई !
|
Comments
you are a real hero for our neapli communityh in usa . we are really proud of you for your hard working who needs help. keep it work hard.
congratulations !!!
RSS feed for comments to this post