|
मुलुकभर महिला हिंसाविरुद्धको १६ दिने अभियान सोमबार समाप्त भएको छ । घरशान्ति नै विश्वशान्तिको आधार : दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासाथ यो अभियान नेपालभर मात्र नभई विश्वभर नै धुमधामसाथ मनाइयो । विश्व मानवअधिकार दिवस १० डिसेम्बरमा समापन भएको यस अभियानको प्रभावले कति घरमा शान्ति ल्याएर विश्वशान्तिको आधार तयार गर्ला र कति पीडितले दमनको प्रतिवाद गरेर समाजबाट महिला हिंसा अन्त्य गर्न सघाउ पुर्याउलान्, भविष्यले नै बताउनेछ । तर, यस अभियानले थोरै मात्र भए पनि समाजमा महिला हिंसाविरुद्ध सजग र सचेत बनाउन सक्यो भने पनि अभियानको सार्थकता भने पक्कै झल्किनेछ । नेपाल र मुलुकभर बडो तामझामसाथ महिला हिंसाविरुद्ध अभियान चलिरहेको समयमै बर्दियाकी १६ वषर्या किशोरी शिवा हासमीलाई एकजना सनकी युवक बाबु खानले आफूसित बिहे गर्न नमानेको 'अपराध’मा पेट्रोल छर्केर जिउँदै जलाए । शिवामाथिको यो नृशंस हिंसा महिला हिंसाविरुद्ध चलिरहेको अभियानका लागि दह्रो चुनौती हो । एउटा सनकीको सनकबाट एउटी किशोरीले अनाहक जिउँदै जलेर जीवन मृत्युको दोसाँधमा पुग्नु अत्यन्तै दुःखद घटना त हुँदै हो, साथसाथै महिला हिंसाविरोधी अभियानमा ढ्वाङ फुकेर लागिपरेका संघसंस्था उनको पीडामा मलम लगाउन अघि नसर्नु झन् सबैका लागि लज्जाको विषय हो । मुलुकमा महिला हकहितका नाममा कति एनजिओ र आइएनजिओ खुलेका छन्, स्वयं राज्यसितै त्यसको कुनै लेखाजोखा छैन । राज्यले महिलाकै नाममा छुट्टै महिला मन्त्रालय खडा गरेको छ । राष्ट्रिय महिला आयोगले पनि महिलाकै सरोकारका विषयलाई उठाउँदै आएको छ । साथसाथै, राष्ट्रिय मानवअधिकार आयोगले पनि महिला हकहितका विषयमा चासो दिने गरेकै छ । तैपनि, जिउँदै जलाइएकी शिवाको उपचारमा सामान्य सहयोगको पहलसम्म नहुनु गम्भीर चिन्ताको विषय हो । यतिखेर भेरी अञ्चल अस्पतालको बेडमा ९० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा छट्पटाइरहेकी शिवाको जीवन बचाउनु महिलावादी संघसंस्था र राज्यकै दायित्व हो । शिवा सहयोगको आशामा बाँचिरहेकी छिन्, महिला हिंसाविरोधी अभियानमा लागिरहेका संघसंस्थाको ध्यान अविलम्ब उनको पीडाप्रति जानु जरुरी छ । मुलुकमा महिला हिंसाका अनेक रूप र अवतार वेलामौकामा प्रकट हुने गरेका छन् । कहिले दाइजो कम भएको आरोपमा त कहिले छोरी नै छोरी जन्माएको अभियोगमा, कहिले बोक्सीको आरोपमा त कहिले 'परपुरुष’सित हाँसेर बोलेको 'अपराध’मा हाम्रा आमा, दिदी, भाउजू, बहिनी, छोरीचेली सबै डरलाग्दो हिंसाको सिकार हुने गरेका छन् । केहीअघि पाकिस्तानमा एउटी अबोध किशोरीले परपुरुषलाई हेरेकै अभियोगमा उनकै बाबुआमाले एसिड खन्याएर हत्या गरेको डरलाग्दो समाचार सार्वजनिक भएको थियो । हाम्रो समाजमा पनि त्यस्तै तर फरक ढंगका महिला हिंसाका अनेक रूप छ्याप्छ्याप्ती भेटिन्छन् । त्यसैले यस्ता घटना न्यूनीकरणमा जनचेतना जगाउन सके मात्र महिला हिंसामा पनि कमी आउने अपेक्षा गर्न सकिन्छ । अन्यथा, यस्ता अभियानले मात्र केही हुनेवाला छैन ।
|