|
आधुनिकताले ढाके पनि हाम्रो समाजमा अझै सामाजिक कुरीति र अन्धविश्वासका अंश बाँकी नै छन् । यद्यपि समाजमा भएका त्यस्ता परम्परावादी सोचमा बिस्तारै परिवर्तन आउन भने थालेको छ । यो लहर ग्रामीण भेगतिर पनि बिस्तार फैलन थालेको छ । गुल्मीका एक दम्पतीले विधवा जीवन बिताइरहेकी आफ्नै बुहारीको विवाह गराइदिएको घटना त्यसैको एक प्रमाण हो । आफ्ना जेठा छोराको निधनको पीडा मनको एक कुनामा गुम्सिरहेको थियो होला । तर, तम्घास-३ का ईश्वरी र लक्ष्मी नेपालीका लागि त्योभन्दा बढी विधवा बुहारीको पीडाले छोयो । युवा अवस्थामै सिउँदो पुछिनुपर्दा बुहारीले बाँकी जीवन एक्लै बिताउनुपर्ने बाध्यता ती दम्पतीले बुझे । अनि, उनीहरूले माइतीको भूमिका निर्वाह गर्दै अर्को वर खोजेर बुहारीको कन्यादान गरिदिए । विधवा बुहारीको पुनर्विवाहलाई अझै पनि कतिपय समाजमा सहज रूपमा स्वीकार गर्न नसक्ने अवस्था छ । यस्तो चुनौतीलाई स्वीकार गर्दै नेपाली दम्पतीले विधवा बुहारीको पुनर्विवाह गराइदिएर उदाहरणीय कार्य गरेका छन् । हाम्रो समाजमा यस्ता अनगिन्ती एकल महिला छन्, जो युवावस्थामा पति गुमाएर जीवनभर गुम्सिएर बाँचिरहेका छन् । उनीहरूको भविष्यप्रति समाज तगारो बनिरहेको छ । आफ्नो अन्तस्करणको आवाज दबाउन बाध्य तमाम एकल महिलाका लागि यो घटना प्रेरक बन्न सक्छ । हो, समाजका आफ्नै मूल्य-मान्यता हुन्छन् । त्यसलाई नाघ्नुपर्छ भन्न खोजिएको होइन । तर, आफ्नो भविष्यको बलिदानीले इच्छाआकांक्षा पूर्ति हुन सक्दैन । यस कुरालाई एकल महिलाले पनि मनन गर्नुपर्छ । अनि, तम्घासका नेपाली दम्पतीले जस्तै बुहारीलाई पनि छोरीको अर्को रूप मानेर व्यवहार गर्नुपर्छ भन्ने पाठ यस कार्यले सिकाएको छ । विवाहपछि अब बुहारीलाई आफ्नो भविष्य बनाउन बाटो खुलेको छ । केही समयअघि केही गैरसरकारी संस्थाको पहलमा एकल महिला विवाहको क्रम सुरु भए पनि बीचमा रोकिएको थियो । श्रीमतीको मृत्युपछि श्रीमान्ले अर्को बिहे सहजै गर्न सक्ने तर श्रीमान् मरेपछि महिलाले अर्को बिहे गर्दा तिरष्कार सहनुपर्ने परम्पराबाट समाज अब केही माथि उठ्न लागेको सन्देश गुल्मीको यस घटनाले दिएको छ । विवाहमा गैरदलितको उपस्थितिले पनि यो सकारात्मक परिवर्तनलाई समाजले समेत स्वीकार गर्न थालेको आधार दिएको छ । यस्ता कार्यलाई समाजका हरेक व्यक्तिले प्रोत्साहन गर्न जरुरी छ । विधवा विवाहबारे सकारात्मक सोच राखेर अघि बढ्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ । अझ राज्यले समेत एकल महिला तथा विधवा विवाहलाई प्रोत्साहन गर्ने नीति अँगालेमा समाज परिवर्तन सुनिश्चत हुने देखिन्छ ।
|