Wednesday, Jun 19, 2013< /p>

गजलमा नारा बटुल्दै पीडीएफ मुद्रण इमेल
प्रेमिका र मदिरा ! सबैभन्दा बढी गजल लेखिएको विषय । उर्दू भाषाबाट आएको गजलको अर्थ नै 'प्रेमिकासँगको कुराकानी' हुन्छ भनेर विद्वानहरू भन्छन् । धेरै पाकादेखि तन्नेरी गजलकार अहिले पनि यसैलाई गजलको विषय बनाउँछन् । र, बजारमा यस्तै गजलले वाह ! वाह ! पनि पाइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसमेत रहेका गजलकार बूँद रानासँग कुराकानी पनि यही विषयबाट सुरु भयो ।

गजल र प्रेमिका

'गजल विधा उर्दू भाषाबाट आएको मानिन्छ । त्यसैले अक्षर-अक्षर छुट्याएर अर्थ लगाइयो,' उनले अर्थको पृष्ठभूमि भने । 'पहिले-पहिले त्यही अर्थअनुसार लेखियो र लेख्न अभिप्रेरित पनि गरियो । तर मूल्य-मान्यता र परिभाषा समयअनुसार बदलिन्छन् । अहिले गजलको अर्थ त्यति मात्रैमा सीमित राख्न मिल्दैन,' उनले उदाहरण दिए, 'पहिले सूर्य पूर्वमा उदाउँछ र सात वटा घोडा चढेर पश्चिम जान्छ भन्ने मान्यता थियो भनेर अहिले पनि त्यही कुरा सही हो भन्न त सकिन्न ।
त्यस्तै हो ।'
उनको विचारमा अहिलेको गजलमा वर्तमान बोध छ, यसले वर्तमान बोल्छ । 'प्रेम पनि मानव जीवनको एउटा पाटो हो, तर समग्र पक्ष होइन,' उनको धारणा छ, 'त्यसैले गजलको अर्थ पनि परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने गरी लगाउनुपर्छ ।'
उनका गजलले चाहिँँँँ कोसँग कुरा गर्छन् त ? उनले भने, 'मेरा गजलहरू आममान्छेको भावनासँग बात मार्छन् । देश र जनताको भावनाभन्दा पर म जान सक्दिनँ ।' त्यसो त प्रेम पनि जीवनको एउटा पाटो हो भन्ने उनले स्वीकार गरेका छन् । र, लेखेका छन् M
सधैँ सधैँ कति गर्नु बन्दुकका कुराहरू
कहिलेकाहीँ बज्नुपर्छ हृदयमा चुराहरू
'सधैँ देश, जनता र परिवर्तनको कुरा गरे पनि कहिलेकाहीँ त चुराको छन्छन् पनि सुन्न मन लाग्छ भन्ने भाव हो यो । तर, मेरा गजलले प्रेमिकासँग एकदमै थोरै मात्र बात मारेका छन्,' उनले प्रस्ट्याए ।

गजल र मदिरा

गजलमा अलि बढी प्रयोग हुने अर्को विषय मदिरा । उनले पनि मदिराका विषयमा गजल नलेखेका होइनन् ।
पिउँदै नपिउने मान्छे पिएँ अलिकति
उनको वचन राख्न लिएँ अलिकति
मदिराकै विषयमा लेखिएको यस गजलमा वरिष्ठ संगीतकार अम्बर गुरुङले संगीत भर्नुभएको छ । 'तर, यसमा पनि मदिरा नै मेरो जिन्दगी भनेको छैन,' उनले आफ्नो बचाउ गरे । 'साँच्चै म वचन राख्नकै लागिझैँ मदिरा एकदमै कम पिउँछु । तर, पिउँदिन भन्दिनँ,' उनले स्पष्टीकरण दिए, 'कहिलेकाहीँ अमिलो-पिरो एकदमै खान मन लागेझैँ पिउन मन लाग्छ । तर, एकबिर्को मात्रै भए पुग्छ ।' उनलाई कतिपय प्रोफेसनल लेखकलाई झैँ लेख्ने 'मुड' बनाउन मदिरा चाहिँदैन । त्यसैले मदिराबाटै लेखनको माहोल जम्दैन, उनको वरपर । 'मनमा आएको भाव छोप्नलाई कापी र कलमचाहिँ सधँै साथै राख्छु,' कोटमा भिरेको तीनवटा कलमको प्रमाण पेस गर्दै उनी खुलेर हाँसे ।
'सुन्दरीसँग सुरा जोडिएर आउनु स्वाभाविक नै हो,' उनले आफ्नो धारणा पेस गरे, 'त्यसैले गजलमा मदिरा आएको हुनुपर्छ । गजल बृहत् विषय भएका कारण मदिरा पनि एउटा विषय बन्नु नौलो होइन ।'
गजल सुन्दै मदिरा पिउने अर्को संस्कार पनि छ । त्यो संस्कारलाई गजल रेस्टुराँले बचाएका छन् । तर, रानालाई यो संस्कारको अनुभव छैन । 'काठमाडांैमा गजल रेस्टुराँका बोर्ड त देखेको छु । त्यसभित्र पसेको छैन, कस्तो गजल गाइन्छ, त्यो पनि थाहा छैन,' उनले भने ।
उनको अनुमान छ, मनमोहक विधा भएकाले गजल सुन्दै मदिरा पिउँदा आनन्द हुँदो हो ।

नियम र गजल

नियममा बाँधिएरै लेख्नुपर्ने, गजलको जबर्जस्त मान्यता । बूँद राना पनि यो मान्यतालाई स्विकार्छन् । गजल बहर -उर्दू नियमअनुसार गजलको छन्द) मा लेख्ने कि गैरबहरमा ? उनको जवाफ छ, 'सकेसम्म बहरमा लेख्नुपर्छ । सके शाश्त्रीय छन्दमा, नभए पनि लोक छन्द वा स्वनिर्मित छन्दमा लेख्नुपर्छ । छन्दविहीन त गजल नै हुन सक्दैन नि !'
उनले बहरलाई साँढेको अर्थमा नेपालीकरण पनि गरे । 'साँढेमा बल धेरै हुन्छ, तर त्यसलाई सजिलै काममा लगाउन गाह्रो हुन्छ । त्यसलाई सदुपयोग गर्न सकियो भने धेरै काम लिन सकिन्छ, त्यस्तै हो,' उनले प्रस्ट्याए, 'बहरमै लेख्न सकियो भने धेरै प्रभावकारी हुन्छ । स्वनिर्मित छन्दमा लेखे पनि बार-बन्धनलाई तोड्नचाहिँ हुँदैन ।'
गजलको अर्को कन्फ्युजन हो, शीर्षक । 'म त शीर्षक राख्दिनँ,' उनले भने, 'गजलमा चार/पाँच सेरदेखि काफिया -गजलमा अनुप्रास मिलाउने शब्द) मिलेसम्म धेरै सेर -गजलको प्रत्येक दुई हरफ) लेख्न सकिन्छ । यसका प्रत्येक सेर आफैँमा मुक्त हुन्छन् । त्यसमा छुट्टै भाव हुन्छ । सबै भावलाई समेटेर एउटै शीर्षक दिन गाह्रो हुन्छ । तर, राम्रो सेरबाट केही शब्द लिएर शीर्षक दिने चलन पनि चलाइएको छ ।'
राख्दा ठीक कि नराख्दा भन्ने सवालचाहिँ उनले गजलकारलाई नै छाडे ।
रदिफ -प्रत्येक सेरको अन्तिममा दोहोरिरहने शब्द वा शब्द समूह) अनिवार्य कि ऐच्छिक ? गजलमा अर्को सवाल छ । राना भन्छन्, 'यसमा त विवाद नै छैन । काफियाचाहिँ अनिवार्य छ । तर, रदिफ ऐच्छिक नै हो । त्यसलाई मैले झुम्का, फुर्का वा लुर्कना भन्ने गरेको छु । खाटमा तन्ना मात्रै बिछ्याएर लेस नझुन्ड्याए पनि हुन्छ । तर, लेसले खाटको शोभा बढाउँछ । त्यस्तै, रदिफले पनि गजललाई
सुन्दरचाहिँ बनाउँछ ।'
काफिया दोहोर्‍याउने कि नदोहोर्‍याउने ? अर्को सवाल छ, गजल लेख्दा । उनको धारणा छ, 'मैले गालिब, मिर, फैजका साथै नेपालका पुराना गजलकारको गजलमा पनि काफिया दोहोरिएको पाएको छु । तर, मेरो विचारमा काफिया धेरै दोहोरिनुहुँदैन । त्यो पनि भावको प्रबलता जोडदार खालको छोड्नै नमिल्ने भयो भने मात्रै ।'
तखल्लुस प्रयोगबारे उनको मत छ, 'तखल्लुस -गजलमा लेखकले प्रयोग गर्ने आफ्नो नाम)चाहिँ अर्थपूर्ण भएर आएको राम्रो हुन्छ । त्यतिकै प्रयोग गर्दा अर्ति दिएजस्तो, दबाब दिएजस्तो, मैले यो भनेको हो, तैँले मान्नुपर्छ भनेकोजस्तो हुन्छ ।'
तर, अन्तिम सेरमा मात्रै यसको प्रयोग गर्नुपर्छ भन्ने मान्यताको चाहिँ विरोधमा छन् उनी ।

मरुभूमिमा परेँ र त गजलकार भएँ
ँबूँद’का निम्ति मरेँ र त गजलकार भएँ
यसरी सन्दर्भ मिलेमा जुनसुकै सेरमा पनि तखल्लुस प्रयोग गर्न सकिने उनको धारणा छ । कतिपय गजलमा त उनले धेरै ठाउँमा पनि तखल्लुस प्रयोग गरेका छन् ।
अरूले चाहिँ रचनामा नाम लेख्न नपर्ने तर गजलकारलाई चाहिँ किन यत्रो नाम मोह ? यो प्रश्नमा उनी खुलेर हाँसे र भने, 'भनिन्छ, गजलको एउटै सेरमा महाकाव्य प्रतिविम्बित हुन्छ । त्यो पूर्ण उक्ति पनि हो । त्यसैले त्यो कसले लेखेको हो भन्ने नबिर्सिऊन् भनेर नामको प्रयोग सुरु गरिएको होला । यसलाई अन्यथा लिन नमिल्ला ।' नाम मोहमा उनको समर्थन नै देखियो ।

नयाँ पुस्ता र गजल

नयाँ पुस्ता ओइरिएको छ, गजलमा । अन्य विधामा जमेका कति साहित्यकारलाई पनि यसको मोहनी लागेको छ । के छ त्यस्तो गजलमा ?
'गीतमा एउटै भाव हुन्छ । त्यसबाट पनि मानिसले आनन्द लिइरहेका छन् । गजलमा त प्रत्येक सेरमा छुट्टाछुट्टै भाव र छुट्टाछुट्टै आकर्षण हुन्छ । त्यसैले एउटै गजल सुन्दा पनि धेरै आनन्द र तृप्ति हुन्छ,' उनले ठम्याएको गजलको मोहनीमन्त्र यही हो । उनको ठम्याइमा त्यसैले धेरैलाई आकर्षण गरिरहेको छ ।
'अहिलेका राम्रा लेखकलाई साहित्य यात्रा कहाँबाट सुरु गर्नुभयो भनेर सोधियो भने कविताबाट भन्ने उत्तर आउँछ धेरैको । मैले पनि कविताबाटै साहित्य लेखन सुरु गरेको हुँ । तर, अहिलेको पुस्ता पुरानो हुँदा गजलबाट रचना सुरु गरेको कुरा आउने स्थिति छ,' गजलमा युवा उपस्थितिलाई चित्रित गर्दै उनले भने ।
युवाहरू जति गजल लेखनमा आइरहेका छन्, त्यति गुणात्मक रचना नआएको उनको ठहर छ, 'नयाँ पुस्तामा लोभलाग्दा प्रतिभा पनि आउनुभएको छ । तर, युवा जति आउनुभएको छ, गुणात्मक रचनाचाहिँ धेरै देखिएको छैन ।'
धेरै युवा युवासुलभ चेतना, प्रेम, प्रेमिका र त्यसबाट जन्मिएको निराशा, कुण्ठा आदिमा मात्र केन्दि्रत भएकाले गुणात्मक रचना आउन नसकेको उनको निष्कर्ष छ । तर, त्यस्तै लेखे पनि गजल लेखिनुलाई चाहिँ उनी सकारात्मक रूपमा लिन्छन् । 'अपेक्षा गरेजस्तो गुणस्तरीय रचना नआए पनि सिर्जनात्मक काममा लाग्नु सकारात्मक हो । त्यो रचना मञ्चमा गएपछि राम्रो/नराम्रो छुटिँदै जान्छ,' उनले भने । उनले नयाँ पुस्तालाई समाजप्रति र आफैँप्रति पनि जिम्मेवार भएर रचना गर्न सुझाब दिए ।

गायन र गजल

'यो सुन्न, सुनाउन, पढ्न र गाउन मिल्ने विधा हो । अझ संगीतबद्ध गरेर गाउँदा सुनमा सुगन्ध हुन्छ,' उनले गजल र गायनको सम्बन्ध प्रस्ट्याए, 'हुन त गहिरिएर बुझ्ने हो भने गजल पढ्दा पनि उत्तिकै प्रभाव पर्छ, तर त्यसमा संगीत भरिँदाको प्रभाव नै अर्कै हुन्छ ।'
नेपालमा गजल कम गाइएकामा उनी चिन्तित पनि छन् । 'नेपालमा राम्रा गजल अझै पनि गाइएका छैनन् । जस्तै, मनु ब्राजाकी, ललिजन रावललगायतका राम्रा गजलहरू पनि धेरै गाइएका छैनन्,' उनले भने, 'मेरो त नगन्य मात्रै गाइएको छ । कसै-कसैले बूँद राना पनि पुरानो गजलकार हो भनेर गाइदिएको मात्रै हो ।' यसको दोष उनी संगीतमा भएको व्यापारीकरणलाई दिन्छन्, 'अहिले आफैँले खर्च गरेर गायनमा आउने टे्रन्ड छ । तर, राम्रा गजल लेख्ने गजलकार पनि आर्थिक रूपमा लगानी गर्न सक्षम छैनन् । त्यसैले जतिले आर्थिक व्यवस्थापन गर्न सक्छन्, उनीहरूको मात्रै गजल आएको छ । त्यसैले मात्रै बजार पिटेको छ ।'
अर्कातिर, युवा पुस्तामा देखिएको गम्भीरताको कमीले पनि राम्रा र गम्भीर गजल बजारमा नआएको उनको ठहर छ । 'युवाहरू बढी हाहा र हिहीमा रमेको पाइन्छ । बजारमा चर्चामा आएका गजल सुन्दा त्यो प्रमाणित हुन्छ,' उनको गुनासो छ ।
उनी आशावादी छन् । भारतीय गजल गायक जगजित सिंह, गुलाम अलिका गजल सुन्ने धेरै नेपाली छन्, उनीहरूले बूँद रानाको गजल सुन्ने दिन आउने आशामा छन् उनी ।

गजल र बूँद राना

चन्द्रगढीको जुही प्रकाशन समूहले नेपाली गजल इतिहासमा मोतिरामकालीन समयपछि सुस्ताएको गजलको पुनर्जागरण गर्ने एक अभियन्ता बूँद रानालाई 'गजल शिरोमणि' को उपाधिले सम्मान गरेको छ ।
विद्यार्थीकालमा सिनेमा हेर्दा 'हिरो'ले गजल गाएर सबैलाई प्रभावित पारेको देखेपछि उनलाई पनि लेख्न र गाउन मन लागेको थियो । त्यसपछि नै उनले गजल लेख्न र मञ्चमा वाचन गर्न थाले । तर, पञ्चायतकालीन समयमा देश र जनताको विषयमा गजल लेख्नु निकै चुनौतीपूर्ण थियो । त्यो चुनौतीलाई उनले स्वीकार गरे ः
हेपेर कालले भन्थ्यो मलाई हट् पाजी
उसैको बुई चढेँ र त गजलकार भएँ
तीसको दशकको आधाआधीबाट गजल लेखनमा खरो उत्रेका राना नेपाली गजलको पुनर्जागरण गर्ने एक अभियन्ता बन्न पुगे ।
अहिले भने समकालीन गजलकारका बीचमा कहाँ छुजस्तो लाग्दो हो उनलाई ? 'म समूहमै छुजस्तो लाग्छ । तर, कहिलेकाहीँ एक्लै छुजस्तो पनि लाग्छ,' उनले दोधारे कुरा गरे । कारण पनि दिए, 'बूँद रानाले नारा लेख्छ भन्छन् धेरैले । हो, म नारा लेख्छु ।'
उनले यो आरोपलाई स्विकारे  र भने, 'नारा नराम्रो कुरा त होइन नि । टिप्पणी गर्नेहरूले के आशयमा भनेका हुन्, त्यो त म भन्न सक्दिनँ । तर, हातका मैला सुनका थैला, के गर्नु धनले, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्नु पनि त नारै हो नि ।'
उनले नारा लेख्नुको महत्त्व वर्णन गरे, 'नारा भनेको उक्ति हो, सूक्ति हो । नारा पो सबैलाई कण्ठ हुन्छ त । त्यो महात्मा गान्धी, म्याक्सिम गोर्कीले भनेका हुन् या माक्र्सले भनेका हुन् । त्यसैले नारा भनेको त धेरै महान् कुरा रहेछ । त्यसैले साथीहरूले धेरै राम्रो भन्नुभएछ भन्ने लाग्छ ।'
'कसैले कला कलाका लागि मात्रै हो भन्छ भने त मेरो भन्नु केही छैन,' उनले आफ्नो लेखनमा आउने नाराकोे औचित्य पुष्टि गर्न भने, 'मेरो विचारमा साहित्य भनेको त समाजलाई अग्रगति प्रदान गर्ने कुरा पनि हो । कला जीवनको लागि, सुखद भविष्य निर्माणमा अगाडि बढ्नका लागि हो भने स्वाभाविक रूपमा यसमा राजनीति, चिन्तन, विचार त हुन्छ नि । त्यसलाई अभिव्यक्त गर्न नारा चाहिन्छ, उक्ति पनि चाहिन्छ । लौ साथी हो, अगाडि बढ्नुपर्छ, पछाडि र्फकने होइन भन्नु पनि नारा नै हो नि ।'
उनले आरोप स्विकारे पनि त्यसलाई गलत मान्न फिटिक्कै तयार देखिएनन् र उदाहरण दिए, 'कहीँ दनन आगो लागिरहेको छ । त्यस वेला आगोलाई आगो पनि नभनेर अनल आदि शब्द खोजेर कलात्मक ढंगले आह्वान गर्न थाल्नुभयो भने त डढेर भष्म भइहाल्छ नि । त्यसैले सीधै त्यहाँ आगो लाग्यो, निभाउन जाउँ भन्नु नै सही हुन्छ ।' उनको निष्कर्ष छ- साहित्यलाई कति कलाले छोप्ने भन्ने परिस्थितिमा भर पर्छ ।
आजकाल उनी हाकाहाकी भन्न थालेका छन्, 'म नारावादी नै हुँ । यसमा म गर्व गर्छु ।' यही विषयमा गजल पनि लेखेका छन् ः
भेट्टाएका पीडा सारा बटुल्दै छु गजलमा
मुर्दा ब्युँताउने नारा बटुल्दै छु गजलमा
...
म जे बोलुँ बनोस् नारा म यस्तै कामना गर्छु
नहोस् आवाज बेचारा म यस्तै कामना गर्छु
'जे बोलिन्छ, त्यो महत्त्वपूर्ण होस् । सम्झना रहने खालको, मुुटुमा ढ्यांग्रो ठटाउने खालको होस् । मस्तिष्कमा उथलपुथल ल्याउने, त्यसलाई झंक्रित गर्ने खालको होस्,' उनले भने । उनले त्यो शक्ति नारामा नै पाएका छन् । साहित्यमा कला कि नारा भन्ने बहसमा उनले आफ्नो धार स्पष्ट छ ।
यति धेरै तर्क गरिसकेपछि उनले आफू फरक हुनुको कारण प्रस्ट पारे, 'यस मानेमा म अरू साथीहरूभन्दा फरक छुजस्तो लाग्छ । मेरा समकालीन कतिपय मेरै उमेरका पनि छन् । उनीहरूको रचना सुललित होला । तर, मेरोमा नारा हुन्छ, यो म हाकाहाकी स्वीकार गर्छु ।'

कला अनुरागी

 

 

Add comment


Security code
Refresh