|
एजेन्सी बैंकक, २८ मंसिर थाइल्यान्डका निवर्तमान प्रधानमन्त्री अभिजित भिजाजिभामाथि ज्यान मारेको आरोपमा मुद्दाको तयारी भएको थाई अधिकारीले बिहीबार अन्तर्राष्ट्रिय एजेन्सीलाई जानकारी दिएका छन् । दुई वर्षअघि बैंककमा सरकारविरोधी आन्दोलनका प्रदर्शनकारी 'राता पोसाकधारी' व्यक्तिलाई हत्या गरेको आरोप पूर्वप्रधानमन्त्री भिजाजिभामाथि छ । पूर्वप्रधानमन्त्री भिजाजिभाले आन्दोलनको समयमा राम्रो व्यवस्थापन गर्न नसक्दा सर्वसाधारण नागरिकको हत्या भएको वर्तमान सरकारले आरोप लगाएको छ । सन् २०१० को मे मा भएको आन्दोलनमा ९० को मृत्यु हुनुका साथै १९ सयभन्दा बढी घाइते भएको स्थानीय एजेन्सीले उल्लेख गरेका छन् । आन्दोलनमा प्रदर्शनकारीलाई सरकारी सैनिकले दमन गरेका थिए । त्यसवेला भिजाजिभाले दमनमा क्रूर व्यवहार देखाउँदा उनको विश्वव्यापी विरोध भएको थियो । पूर्वप्रधानमन्त्री भिजाजिभामाथि टयाक्सीचालक फान कोम्कोंगको हत्या गरेको समेत अर्को आरोप लागेको छ । फानलाई भिजाजिभाका सुरक्षा अधिकारी सैनिकले हत्या गरेको दाबी छ । दुई वर्षअगाडि तत्कालीन प्रधानमन्त्री भिजाजिभालाई तत्काल निर्वाचन गराउन भन्दै रातो पोसाकधारीले प्रदर्शन गरेका थिए । तीन दिनसम्म निरन्तर रहेको सो प्रदर्शन तितरबितर पार्न सरकारले प्रदर्शनकारीमाथि सैनिकबल प्रयोग गरेको थियो । यस घटनामा तत्कालीन उपप्रधानमन्त्री सुथेप साउथवानलाई पनि मुद्दा लगाइने भएको छ । तत्कालीन प्रधानमन्त्री भिजाजिभा र उपप्रधानमन्त्री सुथेपमाथि बैंककको विशेष अनुसन्धान विभागमा आरोपपत्र दायर गरिने एजेन्सीले उल्लेख गरेका छन् । आफूमाथि ज्यानमारा मुद्दा लगाउने भएपछि पूर्वप्रधानमन्त्री भिजाजिभाले राजनीतिक प्रेरित आरोप लगाएका छन् । दुई वर्षअघि लाखौँ व्यक्ति सडकमा ओर्लिएकाले सरकारले बाध्य भएर सो कदम उठाएको उनले बताए । 'त्यसवेला सरकार सकेसम्म नरम भएको थियो, हामीले आन्दोलकारीमाथि धेरै बल प्रयोग गरेका थिएनौँ,' पूर्वप्रधानमन्त्री भिजाजिभाले भने, 'सरकारको दायित्व नै शान्तिसुरक्षा प्रदान गर्नु हो, सडकमा आन्दोलन रोक्ने जिम्मा पनि सरकारको हो ।'
|