|
एजेन्सी न्युयोर्क, ३० मंसिर अमेरिकाको स्यान्डी इलेमेन्ट्री स्कुलमा एक सन्की युवकलेे अन्धाधुन्ध गोली चलाउँदा शनिबार बिहान करिब २७ व्यक्तिको मृत्यु भएको छ । अमेरिकाको स्थानीय समयअनुसार शनिबार बिहान साढे नौ बजे ती युवक स्कुलभित्र छिरेका थिए । उनले दुई कक्षाभित्र प्रवेश गरी जथाभावी गोल चलाउँदा झन्डै साढे दुई दर्जन व्यक्तिको मृत्यु भएको एसोसिएट प्रेस (एपी)ले जनाएको छ । साथै, सन्की युवकले स्कुलभित्र सयौँ राउन्ड गोली चलाएका थिए । एजेन्सीका अनुसार २० बालक, प्रधानाध्यापकसहित ६ जना स्कुलका कर्मचारी र गोली चलाउने स्वयंले ज्यान गुमाएका छन् । अमेरिकी एजेन्सीका अनुसार घाइतेको संख्या बढ्न सक्नेछ । तीन व्यक्तिलाई तत्कालै नजिकको अस्पतालमा लगिएको छ । स्यान्डी इलेमेन्ट्री स्कुलमा ६ सय विद्यार्थी अध्यनरत छन् । यस स्कुलमा ४ स्टान्डर्डसम्म पढाइ हुन्छ । स्यान्डी इलेमेन्ट्र्ररिङ प्रशासनका अनुसार स्कुलमा ४ देखि १० वर्षका विद्यार्थी पढ्ने आउँछन् । शनिबार बिहान भने स्कुलमा चार सय ५० विद्यार्थी थिए । एजेन्सीका अनुसार आक्रमणकारी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएका छन् । तर, अन्तर्राष्ट्रिय एजेन्सीहरूले युवकले आफैँलाई गोली हानेको बताएका छन् । एजेन्सीका अनुसार गोल चलाउने व्यक्ति २० वषर्ीया एडम लान्जा हुन् । प्रहरीले गोली चलाउने लान्जासँगै अर्का एक अज्ञात व्यक्तिको शव एक कोठामा फेला परेको बताएका छन् । लान्जाले स्कुलमा गएर गोली चलाउनुको कारण्ा भने पहिचान हुन सकेको छैन । स्थानीय प्रहरीले प्रत्यक्षदर्शीसँग घटनाको छानबिन गरेका छन् । यसैबीच केही व्यक्तिलाई नजिकको अपस्तालमा लगिएका छन् । एजेन्सीका अनुसार ती व्यक्तिको अवस्था गम्भीर छ । सुरक्षा व्यवस्था कडा पार्ने क्रममा स्यान्डी क्षेत्रलाई 'लक' गरिएको थियो । घटनाका प्रत्यक्षदर्शी आठ वषर्ीय स्टेफन विलियम्सले आफूहरू स्कुलको पछाडि ढोकाबाट बाहिर आएको बताए । विलियम्स रुँदै भन्छन्, 'हामीहरू कक्षामा थियौँ, केही समय गोलीको आवाज सुन्यौँ, हामीलाई मिसले चलाखीपूर्ण तरिकाले स्कुलबाट बाहिर ल्याइन्,' विलियम्सले भने, 'बाहिर आउँदा मैले एक बन्दुक बोकेको व्यक्तिलाई देखेको थिएँ । उनी स्कुलको हलतिर जाँदै थिए ।' स्कुलभित्र रहेका सयौँ बालबालिकालाई सुरक्षाकर्मीले सुरक्षित बाहिर ल्याएका थिए । बालबालिकाहरू स्कुलको अफिस कक्ष हुँदै बाहिर निस्केका थिए । स्कुल खाली भएपछि सुरक्षाकर्मीले आफ्नो कारबाही अगाडि बढाएका थिए । बन्दुकधारीले केही राउन्ड गोली कक्षा कोठामा समेत चलाएका थिए । कक्षाभित्रै बन्दुकधारीले गोली चलाउँदा सयाँै बालबालिका चिच्याइरहेका थिए । उनीहरूले आफूलाई बचाउनका लागि गुहारेका थिए । यसैबीच, अमेरिकी राष्ट्र्रपति बाराक ओबामाले घटनाप्रति दुःख व्यक्त गरेका छन् । सुरुमा अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइटहाउस प्रवक्ताबाट आफ्नो सन्देश अमेरिकनबासीलाई पठाएका थिए । स्यान्डीको स्थिति सामान्य भएपछि ह्वाइटहाउसबाट राष्ट्रपति ओबामाले राष्ट्रको नाममा सन्देश दिँदै भने, 'घटना सुन्दा मलाई निकै दुःख लाग्यो, स्कुलभित्र दुई बन्दुकधारीले गोली चलाएको सुन्दा म स्तब्ध भएँ ।' पीडित परिवारलाई सहानुभूति दिँदै राष्ट्रपति ओबामाले भने, 'सरकार तपाईंहरूको पक्षमा छ, घटनाका चाँडै अनुसन्धान हुनेछ, यसमा संलग्न कसैलाई पनि छाडिने छैन, उनीहरूलाई कडा कारबाही गरिने छ ।' ओबामाको कार्यकालमा यस्तो घटना बारम्बार भइरहँदा सुरक्षा व्यक्ति कडा नभएको एजेन्सीले जनाएका छन् ।
एक दशकमा ठूलो हत्याकाण्ड
अमेरिकी राष्ट्रपति चुनावको क्रममा ओबामाले स-साना हतियार प्रतिबन्ध लगाउनुपर्ने मुद्दा उठाएका थिए । दोस्रोपटक राष्ट्रपति चुनिँदा ओबामाले त्यस्ता साना बन्दुकमाथि पूर्ण रूपले प्रतिबन्ध लगाउने आश्वासन दिएका थिए । तर, राष्ट्रपति पदभार सम्हालेको दुई महिना बित्न नपाउँदै न्युयोर्कबाट ६० माइल टाढा रहेको स्यान्डी इलेमेन्ट्री स्कुलमा दुखद् घटना भएको छ । पछिल्लो केही समययता अमेरिकामा अज्ञात तथा आतंकारीले अन्धाधुन्ध गोली सार्वजनिक स्थलमा चलाउँदै आइरहेका छन् । सन् २००० जुलाईमा भिर्जिनिया सहरमा केही व्यक्तिले सार्वजनिक स्थलमा गोल चलाउँदा ३२ जनाले ज्यान गुमाएका थिए । यसै वर्षको जनवरीमा न्युयोर्कको हलभित्र गोली चल्दा १२ को मुत्यु भएको थियो । सन् १९९९ मा कोलुम्बियन उच्च विद्यालयमा गोली चल्दा १३ को मृत्यु हुनुका साथै २४ जना घाइते भएका थिए । अमेरिकामा यस प्रकारको घटना तेस्रो ठूलो हो । यसअगाडि सन् २००७ मा भर्जिनियामा हत्याकाण्ड हुँदा ३३ जनाले ज्यान गुमाएका थिए । गत जुलाईमा कोलोराडोको आउरोरास्थित ब्याटम्यान फिल्म हलमा यस्तै प्रकारको आक्रमण हुँदा १२ जनाको ज्यान गएको थियो भने अगस्टमा विस्कन्सिनको शिख मन्दिरमा ६ जना भारतीय मूलका शिख मारिएका थिए ।
को हुन् हमलाकारी लान्जा ?
घटना जति डरलाग्दो थियो । त्यति नै योजनाकारको हत्या योजना खतरनाक थियो । अमेरिकी एजेन्सीका अनुसार २० वषर्ीय लान्जाले स्कुल जानुअगाडि आफ्नो बुबासँग झगडा गरेका रहेछन् । त्यतिले मन शान्त नभएर लान्जाले बुबामाथि गोली प्रहार गरे । एजेन्सीका अनुसार घटना स्थलमै रायनले आफ्नो बुबालाई मारेका थिए । त्यसपछि उनी आफ्नो आमाले पढाउने स्यान्डी इलेमेन्ट्री स्कुलमा गए । त्यहाँको सुरक्षाकर्मीले उनलाई भित्र छिर्न दिएनन् । उनले सुरुमा सुरक्षागार्डलाई निराश बनाए । आमाले बस्ने कक्षाभित्र उनी छिरे । त्यहाँ लान्जा र उनकी आमाबीच केहीबेर भनाभन समेत भएको थियो । तर, सन्की लान्जाले सीधै गोली हानी आमाको हत्या गरेको एजेन्सीले जनाएका छन् । त्यसपछि लान्जा आमाले पढाइरहेको कक्षामा गोलीको वषर्ा गरे । जहाँ २० बालकको मृत्यु भयो । त्यसपछि उनी अर्को कक्षमा गए । जहाँ थप गोली चलाउँदा ६ वयस्क व्यक्तिको निधन भयो । उनले चार आधुनिक हतियार बोकेका थिए । साथै, लान्जाले बुलेटले भरिएको ज्याकेट लगाएको सुरक्षाकर्मीले जनाएका छन् ।
ओबामा भक्कानिए
आधिकारिक रूपमा अमेरिकी राष्ट्रपति ओबामाले सम्बोधन गर्दा उनी भक्कानिएर रोएका थिए । बालबालिकालाई संवेदना दिँदा राष्ट्रपतिले धेरैपटक आँसु झारेका थिए । मलिन स्वरमा ओबामाले भने, 'आज मारिने अधिकांशमा ५ देखि १० वर्षबीचका साना र सुन्दर बच्चा थिए, ती बालबालिकाको सुन्दर जीवन अब कहिल्यै आउने छैन । राष्ट्रपतिले जुनसुकै राजनीतिक अवस्थामा यो समस्या समाधानका लागि 'अर्थपूण्र्ा कारबाही'को आवश्यकता रहेको बताएका छन् । राष्ट्रपति बाराक ओबामाले घटनाले अमेरिकालाई ठूलो धक्का लागेको बताएका छन् । पटक-पटक आँसु फुछ्दै ओबामाले भने, मारिने बच्चाहरूको पूरै जिन्दगी बाँकी थियो, सन्की व्यक्तिले उनीहरूको जिन्दगी खोसे ।'
|