|
नेपालमा ब्राजिल र थाइल्यान्डमा उत्पादित कुखुराको मासुको स्वाद पस्किने दाबीसाथ खुलेको अमेरिकी बहुराष्ट्रिय कम्पनी केएफसीले भारतबाट आयात गरिएको कुहिएको मासु आमउपभोक्तालाई खुवाइरहेको प्रमाणित भएको छ । ब्राजिल र थाइल्यान्डबाट कुखुराको मासु आयात गर्नुको त कुरै छाडिदिउ“m, केएफसीले सामान्य अन्तर्राष्ट्रिय मापदण्ड र नेपाली कानुनसमेत पालना नगरी भारतको बर्ड फ्लु प्रभावित राज्य पुनेबाट कुखुराको मासु आयात गरिरहेको खुलासा भएको छ । यतिखेर भारतकै अन्य सहरमा समेत पुनेबाट कुखुराको मासु आयात गर्न भारत सरकारले नै रोक लगाइरहेको अवस्था छ । नेपाल सरकारले पनि १५ कात्तिकमा राजपत्रमै सूचना प्रकाशित गरी भारतबाट कुखुरा, कुखुराको मासु, अन्डालगायत वस्तु आयात गर्न प्रतिबन्ध लगाइसकेको छ । यस्तोमा केएफसी जस्तो प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीले भारत सरकार र नेपाल सरकारको प्रतिबन्धका बाबजुद जनस्वास्थ्यमाथि नै खेलबाड गर्नु गम्भीर लापरबाही हो । केही समयअघि काठमाडौंको दरबारमार्गस्थित केएफसीको स्टोरमा म्याद नाघिसकेको खानेतेल भेटिएको समाचार प्रकाशित भएको थियो । अहिले फेरि कुहिएको हजारौँ केजी मासुसहितको ट्रक समातिएको घटनाले केएफसी जनस्वास्थ्यप्रति कत्ति पनि जिम्मेवार नभएको पुष्टि भएको छ । विश्वका कैयौँ देशमा फैलिएको आफ्नो सञ्जालमार्फत लाखौँ उपभोक्ताको मन जितिसकेको केएफसीले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नुले स्वयं उसैको गुणस्तरीयता र विश्वसनीयतामा कमी आउने र केएफसीमाथिकै विश्वास गुम्ने निश्चित हुँदाहुँदै पनि यसरी बारम्बार नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नुले केएफसीकै नियतमाथि प्रश्न खडा गरेको छ । यो घटनाबाट केएफसीका नेपाली उपभोक्तबाट मात्र ऊप्रतिको विश्वास घट्ने नभई विश्वभर उसको विश्वसनीयतामा समेत कमी आउने निश्चित छ । बर्ड फ्लुको उच्च जोखिम रहेको भारतीय राज्य पुनेबाट हजारौँ केजी कुखुराको मासु विनाकुनै स्वास्थ्य जाँच प्रमाणपत्र नेपाल भित्र्याउनु सामान्य गल्ती मात्र नभई यो गम्भीर प्रकृतिको अपराध नै हो । कुखुराको मासुमा आत्मनिर्भर भइरहेको नेपालमा गरिने मासु व्यापारमा नेपाली कुखुराको मासुमाथि विश्वास नगरी ब्राजिल र थाइल्यान्डको कुखुरा भएको दाबी गर्दै भारतको बर्ड फ्लु प्रभावित राज्यबाट कुखुराको मासु आयात गरेको घटनाबाट केएफसीको ँगुणस्तर’ को कथा उदांगो भएको छ । यसबारे सरकारले गम्भीरतापूर्वक छानबिन गरी बर्ड फ्लु प्रभावित भारतीय राज्यबाट कुखुराको मासु आयात गर्ने कार्यमा जिम्मेवार केएफसीका पदाधिकारीमाथि कडाभन्दा कडा कारबाही गरिनु जरुरी छ । बहुराष्ट्रिय कम्पनीले नेपालमा व्यापार व्यवसाय गर्दा नेपाली ऐन, कानुन पालना गर्नैपर्छ । तर, कोही कसैले सरकारी निर्देशन, ऐन, कानुन र नीतिनियम अवज्ञा गर्छ भने उसको लगानी र व्यापार, व्यवसायबारे सरकारले वेलैमा सोच्नु जरुरी छ । यसैबीच बर्ड फ्लु प्रभावित भारतीय राज्यबाट कुहिएको मासु विनाकुनै सरकारी अनुमति भित्रिएको अवस्थामा समेत त्यसलाई नियमानुसार नष्ट गर्न प्रहरीले जनतालाई असहयोग गरेको जुन गुनासो आएको छ, त्यसबारे पनि सरकारले छानबिन गर्नुपर्ने देखिन्छ ।
|