|
सेताम्मे हिउ फुल्ने कञ्चनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोसे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानको बीचमा विराजमान छ, पर्यटकीय नगरी भेडेटार । यहाँ बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ । यहाँ हरेक शनिबार पिकनिक खान जानेको भीड नै लाग्ने गर्छ । सेताम्मे हिमालको दृश्यदेखि लिएर तराईका सुन्दर फाँट, पूर्वपश्चिम फैलिएको चारकोसे झाडीका साथै गोधुली साँझको मनमोहक दृश्य हेर्नका लागि भेडेटार उपयुक्त थलो हो । नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरू भेडेटार नपुगी फर्किए भने त्यो यात्रा अपुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरू एकचोटि जसरी भए पनि भेडेटार नपुगी फर्किंदैनन् । भेडेटार समुद्री सतहदेखि एक हजार चार सय ३० मिटरको उचाइमा छ भने धरानदेखि १६ किमि उत्तर र धनकुटादेखि ३२ किमि दक्षिणमा पर्छ । भेडेटार सुनसरी र धनकुटाको संगमस्थलको रूपमा रहेको छ । एकैछिनमा चर्काे घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनमै हुने मौसम परिवर्तनले पनि पर्यटकलाई आकषिर्त गर्छ । तराईको समथल भूभागदेखि १६ किमि मात्र माथि भए पनि भेडेटारमा उच्च हिमाली भेगको जस्तो हावापानी पाइन्छ । अनौठो हावापानी भएको सुनेर बेलायतका राजकुमार चाल्र्स ०४० सालमा भेडेटार पुगेका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढ्नुको आनन्द लिएको स्थानीय बताउँछन् । पहिलोपटक विदेशी आएर चुचुरोमा पुगेकाले उक्त चुचुराको नाम नै चाल्र्स राखिएको छ । राजकुमार चाल्र्स चढेको चुचुरोमा हाल ३० फिट अग्लो टावर बनाइएको छ । सो टावर पर्यटकको आकर्षणमा पर्छ । टावरबाट आकाश खुलेको वेला पूर्वका १६ वटा जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट बिहानीपख देखिने दृश्य कैद गर्न प्रकृतिप्रेमीको तँछाडमछाड हुने गरेको छ । टावरमा प्रवेश गर्न प्रतिव्यक्ति पाँच रुपैयाँ र क्यामेरासहित प्रवेश गर्दा १० रुपैयाँ शुल्क लाग्छ । भारतीय नागरिकलाई भने प्रतिव्यक्ति २० रुपैयाँ र अन्य देशका नागरिकलाई भने जनही ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । दैनिक आठ/दश बसबाट विद्यार्थी भेडेटार र नाम्जेको अवलोकन गर्न आउने गरेको भए पनि भूकम्पका कारण जीर्ण बनेको टावरमा चढ्न सबैले पाउँदैनन् । टावर जीर्ण बनेपछि एकैपटक धेरैजनालाई टावरमा चढ्न मनाही गरिएको छ । टावर मर्मतका लागि पटक-पटक सम्बन्धित निकायलाई कुरा राख्दा चासो नदेखाएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । प्रायः युवायुवतीको युगल जोडी प्रेमालाप गर्न भेडेटार पुग्ने गर्छन् । त्यसकारण भेडेटारलाई रियल लभर स्टेसनसमेत भन्ने गरिन्छ । विवाहित जोडी हनिमुन मनाउन टाढा-टाढाबाट भेडेटार आउने गर्छन् । नजिकै रहेको पाथीभरादेवी मन्दिर पुगेर दर्शन गर्ने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि नाम्जेमा स्थानीय तवरबाट समिति नै गठन गरेर १० वटा घरबाट होम स्टे सुरु गरिएको छ । होम स्टेमा आउने विदेशीभन्दा नेपाली पर्यटक बढी भएको तर उनीहरूले होटलको जस्तो सुविधा खोज्ने गरेको स्थानीय युवा हरि मगर बताउँछन् । सिएनएनले विश्वका उत्कृष्ट १२ गन्तव्यको सूचीमा भेडेटारलाई सूचीकृत गर्नुअघि विदेशी धेरै आउने गरेको तर त्यसपछि भने विदेशी घटेर स्वदेशीको आगमन बढेको स्थानीय बताउँछन् । भेडेटार-नाम्जेमा शिक्षाको उचित व्यवस्थापन हुन सकेको छैन । ग्रामीण जनता उच्च माविमा एसएलसी गरेपछि आफूले इच्छाएको विषय पढ्न टाढा जानुपर्नर्े हुन्छ । खानेपानीको समस्या नै छ, सबै ठाउँमा खानेपानी पुग्न सकेको छैन । त्यहाँ वितरित खानेपानी आएन भने दुई घन्टाको पैदल दूरीबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ । स्थानीयस्तरमा उत्पादित कृषि उपजले उचित बजार पाउन सकेको छैन । बिचौलियाका कारण किसान आफूले उत्पादन गरेको अग्र्यानिक तरकारी पनि सस्तो मूल्यमा बेच्न बाध्य छन् । नाम्जेको अर्काे समस्या भनेको भविष्यका लागि विकास हुनुपर्ने नेतृत्वदायी युवापुस्ताको हो । यहाँका प्रायः युवा सामाजिक दायित्व र नतृत्वका लागि अघि नसर्ने बरु पैसा कमाउन खाडी मुलुकतिर जाने परमपराजस्तै भएको छ । युवापुस्ता बिदेसिएपछि समाजमा बहुविवाह र पारिवारिक विखण्डन बढेको छ । विवाह गर्नेबित्तिकै श्रीमान् विदेश जाने र श्रीमतीले दोस्रो बिहे गर्ने समस्या बढी रहेको छ यहाँ । यसले पारिवारिक विखण्डन, सामाजिक विचलनका साथै बालबालिकाको भविष्यसमेत अनिश्चित बन्ने संकेत देखिन्छ । युवा बिदेसिएपछि समाजमा विकास-निर्माणका काममा श्रमदान गर्नसमेत समस्या पर्न थालेको छ । श्रम खर्च गर्न सबैभन्दा शक्तिशाली र बढी समयसम्म निरन्तर खट्ने युवाको अभाव समुदायले महसुस गर्न थालेको छ । मगर समुदायमा नशा अर्थात् जाँड-रक्सीको अधिक प्रयोग गर्ने बानी परेको छ । उनीहरूको सबै चाडपर्वमा जाँड-रक्सी नभई नहुने कुरा हो । त्यहाँका प्रत्येक परिवारले आफ्नो कुलपूजा गर्दा, धामी झाँक्री राख्दा, न्वारन अथवा अरू कुनै संस्कार गर्दा जाँड-रक्सी चढाउने प्रचलन छ । समुदायमा रक्सी पिउने परम्परागत प्रचलन कायमै छ ।
प्रस्तुति/तस्बिर : प्रेम बास्तोला
|