|
नेपाली भाषाको पहिलो चलचित्र भारतमा निर्माण भयो । डिबी परियारको निर्देशन तथा लगानीमा २००८ सालमा बनेको 'सत्य हरिश्चन्द्र'लाई नेपाली भाषाको पहिलो चलचित्र मानिन्छ । त्यसको आधारमा भन्ने हो भने नेपाली चलचित्रको इतिहासले आधा शताब्दी पूरा गरिसकेको छ । तर, नेपालमै बनेको पहिलो चलचित्र भने 'आमा'लाई मानिन्छ । विसं २०२२ मा तत्कालीन राजा महेन्द्रले आफ्नो भक्तिगाथालाई चलचित्रमा उतार्न भारतीय निर्देशक हीरासिंह खत्रीलाई नेपाल ल्याए । खत्रीले नै 'आमा' चलचित्र निर्माण गरेका थिए । त्यसभन्दा अगाडि ०१८ सालमै बनेको चलचित्र 'माइतीघर' भने 'आमा'पछि मात्रै प्रदर्शन भयो । यस हिसाबले पनि नेपाली चलचित्रको इतिहास साढे चार दशक लामो भइसकेको छ । तर, यति लामो अवधिमा पनि नेपाली चलचित्रले सोचेजति गति लिन नसकेको गुनासो चलचित्रकर्मी नै गर्छन् । नेपाली चलचित्रप्रति दर्शकको बेवास्ता नेपाली चलचित्रको अवस्था सन्तोषजनक नभएको संकेत हो ।
समस्या धेरै छन्
'नेपाली चलचित्रमा मौलिकता र नयाँपन फिटिक्कै छैन ।' नेपाली चलचित्रको बारे यही वाक्यबाट सुरु हुन्छ दर्शकको गुनासो । चलचित्रका समीक्षक पनि यो कुरामा धेरै हदसम्म सहमत छन् । 'अहिलेसम्म बनेका नेपाली चलचित्रको मूल्यांकन गर्ने हो भने दुई/चार चलचित्रलाई छाडेर बाँकी चलचित्र मूल्यांकनको तराजुमा चढ्न पनि योग्य छैनन् भन्दा अत्युक्ति हुँदैन । जो निर्देशक वा कलाकार भए पनि अथवा जो निर्माता देखिए पनि एउटा चलचित्रबाट अर्को चलचित्रमा खासै पृथकता छैन,' चलचित्र समीक्षक डा. टीकाराम पोखरेलको धारणा छ, 'केटा-केटीबीचको प्रेम, प्रेमको विस्तार हुँदै जाँदा नाचगान र त्यसपछि प्रेममा बाधा-अड्चन, नायक-नायिकको नक्कली आँसु, दुष्टको गर्जन, त्यसमा नायकको उडन्ते बहादुरी, नायक र खलनायकबीच तिलस्मी खालका लडाइँ, नायकको अस्वाभाविक बहादुरी र अन्त्यमा खलनायकको प्रायश्चित् वा मृत्यु र नायक-नायिकाको मिलन वा बिछोड । यति नै हो नेपाली चलचित्र । यिनै घटनालाई यताउता तन्काएर वा खुम्च्याएर नेपाली चलचित्र सकिन्छ । तीन घन्टाको सम्पूर्ण समय यिनै घटनाभित्रै घुमिरहन्छ ।' विशेषगरी हिन्दी, अंग्रेजी र कोरियन चलचित्रको कथा र विषयवस्तु हुबहु उतारिनु नेपाली चलचित्रको विशेषताजस्तै बन्न गएको छ । राम्रा प्रविधिमा बनेका चलचित्र 'कपी' गर्दैमा कसरी राम्रो चलचित्र बन्न सक्छ ? यो प्रश्नको उत्तर नेपाली चलचित्र उद्योगले दिन सकेको छैन । अत्यन्तै कम चलचित्र मौलिक र नवीन कथावस्तुमा निर्माण हुनु नेपाली चलचित्रको विडम्बना नै हो । यसका पछाडि नेपाली चलचित्रमा अध्ययन गरेका र चलचित्रका महत्त्व बुझेको जनशक्ति अत्यन्तै कम रहेको भनेर आलोचना गरिन्छ । नेपाली चलचित्र हेर्दा यो आलोचनाको पुष्टि पनि हुन्छ । दुई दशकभन्दा लामो समय चलचित्र तथा टेलिचलचित्रको पटकथा लेखनको अनुभव बटुलेका साहित्यकार नयनराज पाण्डे पनि चलचित्र क्षेत्र दुई दशकअघि जस्तो थियो, अहिले पनि त्यस्तै रहेको बताउँछन् । उनले पटकथा लेखनकै क्रममा मौलिक कथामा चलचित्र बनाउनेभन्दा पनि अरू भाषाको चलचित्रको नक्कल गर्ने प्रवृत्ति निकै रहेको पाए । त्यसैले उनी भन्छन्, 'अहिले नेपाली भाषाको चलचित्र मात्र बनिरहेका छन्, नेपाली चलचित्र बन्न सकेका छैनन् । नेपाली चलचित्र अहिले पनि बामे सरिरहेको छ ।' नायक भुवन केसीको विचारमा बजेट थोरै हुनु र प्रविधि राम्रो नहुनु पनि नेपाली चलचित्रको समस्या हो । चलचित्रकर्मीको गुनासो पनि कम सुनिँदैन नेपाली चलचित्र क्षेत्रमा । उनीहरू भन्छन्, 'नेपालीले नेपाली चलचित्र नै हेरिदिँदैनन् । सरकारले पनि नेपाली चलचित्र उद्योगलाई माथि उकास्न कुनै पनि काम गरेन ।' त्यस्तै हलवालाको निर्मातासँग, निर्माताको हलवालासँग आ-आफ्नै गुनासा छन् । गुनासोको खात त एक ठाउँमा छँदै छ । यी गुनासा समस्यामा परिणत भएका छन् र चलचित्र क्षेत्र समस्याको पहाडले किचिएको छ । निर्माता तथा निर्देशक युवराज लामाको भनाइलाई आधार मान्ने हो भने सिनेमा हलले कमाएकोमध्ये आधा रकम हलले नै लैजान्छ । आधाबाट १५ प्रतिशत वितरकलाई दिनुपर्यो । आयकर, स्थानीय कर, भ्याट, स्थानीय प्रचारप्रसार, पि्रन्ट, क्यारिङ, अन्य खर्चजस्ता थुप्रै खर्च काट्दा निर्माताको हातमा व्यापारको २५ प्रतिशत रकम पनि प्राप्त हुँदैन । निर्माताहरू भन्छन्, 'आफ्नै चलचित्रको व्यापार कति भयो हलवालाहरूलाई सोध्नुपर्छ ।' चलचित्रले गरेको कुल व्यापारको २५ प्रतिशत पनि निर्माताको हातमा नपर्ने अवस्था देखिन्छ । अर्को समस्या हो, व्यवस्थित प्रदर्शन प्रणालीको अभाव । 'सिनेमाले राम्रो व्यापार गरिरहेको वेला हलबाट सिनेमाको एक्कासि पाइरेसी भएपछि हामीले लगानी उठाउन सकेनौँ,' निकै चर्चामा आएको मानिएको 'बाटोमुनिका फूल'का निर्माता राजेश घतानी भन्छन् । उनीजस्तै पाइरेसीपीडित पनि थुपै्र छन् । पछिल्लो समयमा बनेका लुटलगायत चलचित्रहरू पनि यसको मारमा परे । उता हलको पनि आफ्नै समस्या छ । 'चलचित्र चल्न छाडेर हल बन्द छन्, बन्द भएकाहरू भत्किँदै छन् र धमाधम सपिङ मल बन्दै छन् । यस्तो वेला नयाँ प्रविधिको त के कुरा ?' हलवालाहरूको गुनासो छ, 'हलमा नेपाली चलचित्र लगायो, झिंगा मारेर बस्नुपर्छ, हिन्दी चलचित्र तीन दिनका लागि एकैदिन 'बुक' हुन्छ ।' त्यस्तो भएपछि नेपाली चलचित्र सकेसम्म चलाउन नपरे हुन्थ्यो भन्ने हलवालालाई लाग्नु स्वाभाविक पनि हो । यसै कारणले होला, केही समयअगाडि मोफसलका केही हलले हिन्दी चलचित्र चलाउन नेपाली चलचित्र उतारे । अर्को समस्या, कलाकारको । चलचित्र क्षेत्र रमझमको क्षेत्र मानिन्छ । तर, रमझमले मात्रै जिन्दगी चल्दैन । जिन्दगी चल्ने पैसा चलचित्रले दिन सक्दैन । दुई/चार वर्ष चलचित्रमा काम गरेर कलाकार भनेर चिनिने र त्यसपछि सहज रूपमा विदेश जाने कलाकार निकै छन् । चलचित्र उद्योगमा आफ्नो भविष्य सुनिश्चित नहुने देखिएपछि यस क्षेत्रबाट बाहिरिनेको संख्या लगातार बढिरहेको छ । महिलाको कुरा सुन्ने हो भने त उनीहरू दोहोरो मारमा परेका छन् । एकातिर उचित पारिश्रमिकको अभाव, अर्कोतिर विभिन्न प्रकारका शोषण र हिंसाको मार । 'यसरी असुरक्षित महसुस हुने स्थानमा जनशक्ति कसरी टिक्न सक्छ ?' कलाकारको गुनासो छ । नेपाली चलचित्रको अर्को समस्या भनेको यसको सीमित बजार पनि हो । हलहरू देशका सबै स्थानमा छैनन् । हल भएका ठाउँमा पनि चलचित्र हेर्न सक्ने जनता छैनन् । यसले पनि नेपाली चलचित्रलाई साँघुर्याएको छ ।
विकास बोर्डको समस्या
चलचित्र क्षेत्रको अवस्था समस्याग्रस्त भए पनि राज्यले यस क्षेत्रका लागि दिगो नीतिनिर्माण गर्न सकेको छैन । त्यसको एउटा कारण हो, चलचित्र विकास बोर्डमा हुने राजनीतिक चलखेल । बोर्डका एक कर्मचारी भन्छन्, 'बोर्डमा राम्रा होइन, राजनीतिक दलका 'हाम्रा' मान्छे धेरै आउँछन् ।' विकास बोर्ड स्वायत्त नहुनुको एउटा उदाहरण यसले केही समयअघि नेपाल सुरु गरेको मोबाइल सिनेमा प्रदर्शनीलाई लिन सकिन्छ । यो कार्यलाई धेरैले सकारात्मक रूपमा लिए पनि त्यसको निरन्तरता हुन सकेन । त्यस्तै, बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले भनेका थिए, 'सबैभन्दा मुख्य कुरा चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने अभियान छ । यसको प्रक्रिया पनि एक ढंगले अघि बढिसकेको छ । हामी यसलाई स्वायत्त निकाय बनाइछाड्छौँ । राज्यले गम्भीरतापूर्वक लिएन भने हजारौँ चलचित्रकर्मीलाई संगठित र एकत्रित गरेर हामी आन्दोलनको तहसम्म पुगेर भए पनि यो लडाइँ जित्नेछौँ ।' तर, उनले यो प्रतिबद्धता पूरा गर्न नै नपाई अध्यक्षबाट हात धुनुपर्यो । अहिले विकास बोर्ड नेतृत्वविहीन छ । अझै पनि बोर्डमा को आउने भन्ने निश्चित भइसकेको छैन । र, यसमा राजनीतिक नियुक्तिको संस्कार कायमै रहने सम्भावना छ । त्यसो नहोस् भनेर कलाकारले आन्दोलन पनि थालेका छन् । निर्देशक समाजका अध्यक्ष विमल पौडेलको अगुवाइमा सोमबारबाट बोर्ड प्रांगणमा आमरण अनसन नै सुरु भएको छ । त्यस्तै, उनको अनसनलाई सघाउन चलचित्रकर्मी नीर शाहको संयोजकत्वमा १६ सदस्य 'राष्ट्रिय चलचित्र उद्योग बचाऊ अभियान' समिति सचिवालयसमेत गठन गरिएको छ । उनीहरूले बोर्डको अध्यक्ष नियुक्तिमा राजनीतिक चलखेल हुन नहुने, सञ्चार मन्त्रालयबाट पास भएर आएका नीति-नियमलाई कार्यान्वयनमा ल्याउनुपर्ने र सिनेमा निर्माण तथा वितरणमा देखिएका समस्यालाई सरकारले समाधान गर्नुपर्नेलगायत माग उठाएका छन् । त्यस्तै, अश्लील सिनेमाको प्रदर्शनीमा रोक लगाउनुपर्ने र विदेशी सिनेमाको प्रदर्शनमा कोटा सिस्टम लागू गर्नुपर्ने उनीहरूको माग छ । पौडेलका अनुसार चलचित्रकर्मीको मागलाई बेवास्ता गरिएमा अन्य कलाकार पनि अनसन बस्ने तयारीमा छन् । यसरी बोर्डलाई स्वायत्त बनाउनका लागि कलाकार सचेत हुनुलाई चलचित्र क्षेत्रमा सकारात्मक रूपमा लिइएको छ ।
सम्भावना
जहाँ अभाव र समस्या हुन्छन्, त्यहाँ झन् बढी सम्भावना हुन्छन् । नेपाली चलचित्र क्षेत्र अहिले निकै समस्याग्रस्त छ । नेपाली चलचित्रका दर्शक र समीक्षक पनि यहाँ सम्भावना रहेको बताउँछन् । त्यसका लागि डा. टीकाराम पोखरेलको सुझाब चलचित्रकर्मीले मनन गर्नु आवश्यक छ । उनी भन्छन्, 'छोटा लुगा लगाएर नायिकालाई पर्दामा देखाउने र नायिकाको नितम्बमा नायकले र्याल काढेर प्रेमको सुरुवात गराउने परम्पराबाट लेखक र निर्देशक मुक्त हुनु आवश्यक छ ।' नेपाल मौलिक कथाको खानी भएकोमा जोड दिँदै पोखरेल अगाडि भन्छन्, 'नेपाली चलचित्रका लेखक, निर्देशक र निर्माताका लागि नेपाली कथाहरू बग्रेल्ती छन् । तर, त्यस्ता विषयवस्तु भेट्नलाई सबैभन्दा पहिले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ । काठमाडौंका आँखाले हेरेर नेपाली कथा भेटिँदैन, मुम्बईका कथा मात्र देखिन्छ । नेपाली कथा भेट्न अछाम र डोटीका एचआइभी पीडितका गाउँगाउँमा आँखा पुर्याउनुपर्छ । खान नपाएर भोकभोकै बस्न बाध्य कणर्ालीवासीका घरदैलोमा चियाउनुपर्छ । चेतनाको ज्योति बल्न नसकेको अन्धकारपूर्ण हुम्लाको गाउँका केटा र केटीको प्रेम कहानी खोजिनुपर्छ । १० वर्षकै उमेरमा बलात्कृत भएर पनि अन्यायविरुद्ध मुख खोल्न नसकेकी ग्रामीण महिलाको प्रेम मनोविज्ञान बुझ्न सक्नुपर्छ । तीन वर्षकै उमेरमा अपहरणमा परी हत्या गरिएको निर्दोष बालकको परिवारको विरहलाई प्रस्तुत गर्न सक्नुपर्छ । द्वन्द्वमा सिन्दुर पुछिएका अल्लारे महिलाको प्रेम इच्छा प्रस्तुत गर्नुपर्छ । गर्भमै टुहुरा भएकाहरूको संवेदनशीलतालाई समात्न सक्नुपर्छ । के यी घटना वर्तमान नेपाली समाजका द्योतक होइनन् ? राजेश हमाल र रेखा थापाबीचको बनावटी र नसुहाउँदो प्रेम कहानी र बिछोडले भन्दा यी वास्तविक घटनाले दर्शकको संवेदनालाई छिटो स्पर्श गर्दैनन् ? अनि योभन्दा अर्को नेपालीपनको झल्को जबर्जस्ती लगाइदिएको दौरा, सुरुवाल, टोपी, फरिया र चोलोमा कसरी झल्कन्छ ? पटक्कै झल्कँदैन ।' यो बिषयमा एकपटक नेपाली चलचित्र लेखक, निर्देशक र निर्माता घोत्लिने हो भने सम्भावनाका अनेक क्षितिज खुल्छन् । त्यस्तै, नेपाली चलचित्र प्रदर्शनीको क्षेत्र बढाउने उपाय पनि नभएकै भने होइन । चलचित्र समीक्षक मनोज अधिकारी बताउँछन्, 'चलचित्रलाई नेपालमा मात्र सीमित नराखौँ । भारतमा ४० लाख नेपाली छन् । सिक्किम, आसाम, देहरादुन, नैनीताल, नागाल्यान्ड र दार्जिलिङ पनि त नेपाली बजार नै हो । त्यसैले त्यहाँ नेपाली चलचित्र लाग्ने वातावरणको सिर्जना गर्न सरकारलाई दबाब दिऔँ । त्यस्तै, नेपालीभाषी रहने भारतका हरइलाका र अन्य देशमा पनि नेपाली चलचित्रको बजार खोज्ने काम गरौँ । विदेशमा रहेका नेपाली साँच्चिकै नेपाली चलचित्र हेर्न लालयित छन् ।' यस्तैमा विदेशमा आफ्ना चलचित्र प्रदर्शन गरेको अनुभवका आधारमा निर्देशक केपी पाठक सुझाउँछन्, 'जसरी विदेशीले नेपालमा सांस्कृतिक दूतावास खोल्छन्, हामीले पनि ती देशमा सांस्कृतिक राजदूतावास राखेर संस्कृति प्रवर्द्धन गर्ने र सिनेमाको वितरण तथा बजार प्रवर्द्धन गर्ने वातावरण तयार गर्नुपर्छ । चलचित्रकर्मीले यस्ता विषयमा विचार गर्ने र सरकारले पनि ध्यान दिने हो भने सधँै बामे सरिरहने चलचित्र पनि दौडने थियो कि ? नेपाली चलचित्रप्रेमीले अझै आश भने मारेका छैनन् ।
कला अनुरागी
|
Comments
RSS feed for comments to this post