|
एजेन्सी सोल, ४ पुस दक्षिण कोरियामा पहिलोपटक महिला राष्ट्रपति बन्ने सम्भावना प्रबल बनेको छ । राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणनाअनुसार दक्षिण कोरियाली पूर्व सैनिक शासक पार्क चुङ हीकी छोरी पार्क ग्युन हे विजयी हुने निश्चित हुने दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । सेन्रुई पार्टीकी नेतृ पार्कले यस समाचार तयार पार्दासम्म ५०.१ प्रतिशत मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी मुन जी इनले ४८.९ प्रतिशत मत प्राप्त गरेका छन् । चुनावको मतपरिणाम बुधबार मध्यरातसम्म सार्वजनिक हुने अुनमान गरिएको छ । ६० वर्षे पार्कले सन् १९७० को दशकमा उत्तर कोरिया समर्थित सैनिकले आमाको हत्या गरेपछि बुबाको शासनकालमा प्रथम महिलाको समेत कार्यभार सम्हालेकी थिइन् । चुनावमा पार्क विजयी भएमा पुरुषको बाहुल्य रहेको दक्षिण कोरियाली राजनीतिमा उनले देशकै पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् ।
|