Tuesday, May 21, 2013

बलात्कारविरुद्ध भारतभर जनप्रदर्शन पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, ४ पुस
गत आइतबार साँझ भारतको नयाँदिल्लीमा गुडिरहेको बसमा एक युवतीमाथि गरिएको बलात्कारविरुद्धको प्रदर्शन बुधबार पनि जारी रहेको छ ।
दिल्लीकी मुख्यमन्त्री शिला दीक्षितको घरबाहिर बुधबार भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । त्यस्तै, दिल्ली प्रहरी मुख्यालयबाहिर बुधबार बिहानैदेखि प्रदर्शन जारी छ । प्रदर्शनका कारण लामो समयसम्म यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको थियो । प्रहरी मुख्यालयअघि भएको प्रदर्शनमा राज्यसभा सदस्य तथा अभिनेत्री जया बच्चनसमेत सहभागी भएकी छिन् । यसैगरी युवती बलात्कारको विरोधमा भारतीय जनता युवा मोर्चाले दिल्लीस्थित जन्तरमन्तरमा प्रदर्शन गरेको छ ।
गृहमन्त्री सुशीलकुमार सिन्धेले बलात्कारविरुद्ध देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनबारे बुधबार संसद्लाई जानकारी गराएका छन् । घटनापछि दिल्लीमा बस सञ्चालन गर्ने मानिसको पृष्ठभूमि जाँच अभियान तत्काल सञ्चालन गर्न आफूले प्रहरी तथा यातायात विभागका अधिकारीलाई निर्देशन दिएको उनले जानकारी दिए । त्यस्तै, दिल्लीमा सञ्चालन भइरहेका बसमा राखिएको पर्दा तथा कालो सिसा तत्काल हटाउन दिल्ली प्रहरीलाई निर्देशन दिइसकेकोसमेत उनले जानकारी गराए । यसैगरी गृह मन्त्रालयले दिल्लीमा सञ्चालनमा रहेका बसका ड्राइभर तथा उनीहरूको मोबाइल नम्बर बसमा ठूलो अक्षरले लेख्न निर्देशनसमेत दिएको छ । घटनाप्रति टिप्पणी गर्दै दिल्ली उच्च अदालतले प्रहरी तथा न्यायपालिकाप्रति जनताको विश्वास हराउँदै गएको भन्दै युवतीको बलात्कार हुनुअघि प्रहरी के हेरेर बसेका थिए भनि प्रतिप्रश्नसमेत गरेको छ ।

'मलाई फाँसी दिनुहोस्’

यसैबीच बलात्कारको अभियोगमा पक्राउ परेका चारमध्ये तीन युवाले बुधबार दिल्ली अदालतसमक्ष युवतीमाथि बलात्कार गरेको स्वीकार गरेका छन् । अदालतले पक्राउ परेकामध्ये पवन गुप्ता र विनय शर्मालाई चार दिन हिरासतमा राख्न आदेश दिएको छ भने मुकेश सिंहलाई चौध दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दिल्ली अदालतसमक्ष विनय शर्माले बलात्कृत महिलासँगै रहेका उनका केटा साथीलाई कुटपिट गरेको स्वीकार गरेका छन् । आफूले जघन्य अपराध गरेको भन्दै उनले अदालतसमक्ष फाँसी दिन माग गरेका छन् ।
यसैबीच आइतबार दिल्लीमा भएको बलात्कारको अभियोगमा अक्षय ठाकुर भनिने अर्का एक व्यक्तिलाई बिहार प्रहरीले बुधबार पक्राउ गरेको समाचार छ । यसअघि गत मंगलबार बलात्कारका मुख्य अभियुक्त बस ड्राइभर राम सिंहलाई दिल्ली अदालतले पाँच दिन हिरासतमा राख्न आदेश दिएको थियो ।

 

Add comment


Security code
Refresh