|
एजेन्सी अहमदाबाद, ५ पुस भारतीय जनता पार्टी -भाजपा)ले गुजरातको विधानसभा चुनावमा बहुमत हासिल गरेको छ । मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले गुजरातमा लगातार तेस्रोपटक चुनाव जितेको हो । मोदीले मणिनगरबाट निलम्बित आएपिएस अफिसर सन्जीव भाटकी पत्नी श्वेतालाई पराजित गरी लगातार तेस्रोपटक विधानसभामा विजयी भएका छन् । मोदीले एक लाख २० हजार चार सय ७० मत प्राप्त गरेका छन् भने श्वेताले ३४ हजार ९७ मत हासिल गरेकी छिन् । कुल एक सय ८२ स्थानका लागि भएको विधानसभा चुनावमा समाचार तयार पार्दासम्म भाजपाले ९५ स्थानमा जित हासिल गरिसकेको छ भने २१ स्थानमा अग्रता कायम राखेको छ । कंग्रेसले ४६ स्थानमा मात्र जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । अन्य पार्टीले भने अहिलेसम्म तीन स्थानमा मात्र विजय हासिल गरेका छन् । मतगणनाका लागि गुजरातभर ३३ वटा केन्द्र स्थापना गरिएका छन् भने आठ हजार कर्मचारी खटाइएका छन् । गुजरातमा नरेन्द्र मोदी पुनः आफ्नो सत्ता कायम राख्ने पथमा अघि बढेको राजनीतिक विश्लेषकले जनाएका छन् । जितसँगै भाजपाको राष्ट्रिय राजनीतिमा मोदीको दबदबा कायम रहने अनुमानसमेत गर्न थालिएको छ । यस चुनावअघि नै मोदीलाई सन् २०१४ मा हुने चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । भाजपा अध्यक्ष नितिन गडकरीले गुजरातका जनताले पाँचौँपटक भाजपालाई तथा तेस्रोपटक मोदीलाई चुनेको प्रतिक्रिया दिएका छन् । कंग्रेसको अलावा पूर्वमुख्यमन्त्री केसुभाइ पटेल नेतृत्वको गुजरात परिवर्तन पार्टीले समेत मोदीलाई टक्कर दिने प्रयत्न गरे पनि उनीहरू सफल हुन सकेनन् । कंग्रेस नेता तथा विदेशमन्त्री सलमान खुर्सिदले गुजरातमा कंग्रेसको सिटसंख्या बढेको तथा मत प्रतिशत पनि पहिलेको तुलनामा बढेको प्रतिक्रिया दिएका छन् । चुनाव नतिजाबारे प्रतिक्रिया दिँदै कंग्रेस प्रवक्ता अभिषेक मनुसिंघवीले गुजरातमा मोदीले सोचेअनुरूप परिणाम आए पनि यसैलाई हेरेर राष्ट्रियस्तरमा उनलाई स्वीकार गरिएको अर्थ लगाउन नमिल्ने बताए । त्यस्तै, वित्तमन्त्री पी चिदाम्बरमले भाजपा तथा मोदीलाई एक सय १७ भन्दा कम सिटमा सीमित राख्न सकेकामा गुजरातमा कंग्रेस विजयी भएको प्रतिक्रिया दिएका छन् । गुजरातको विधानसभा चुनावमा सत्ताधारी भाजपाभन्दा मोदीको व्यक्तित्वले काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केन्द्रको राजनीतिमा छलाङ मार्ने उद्देश्यका साथ यसपटक गुजरातको चुनावी मैदानमा मोदीले आफ्नो सम्पूर्ण शक्ति खर्च गरेको राजनीतिक विश्लेषकले जनाएका छन् । राष्ट्रिय स्वयंसेवक संघको राम्रो समर्थन पाउँदै आएका मोदी राजनीतिका प्रस्ट वक्ता मानिन्छन् । हालसम्म भ्रष्टाचारमा नमुछिएका मोदीलाई गुजरातका धेरै व्यक्तिले कुशल प्रशासकका रूपमा हेर्दै आएका छन् । गुजरातको समृद्धि तथा विकासको श्रेय मोदीलाई दिने गरिएको छ । भारतका कैयाँै उद्योगपति मोदीको नीतिको खुलेर प्रशंसा गर्ने गर्छन् । तीनपटक लगातार विधानसभा चुनावमा विजयी हुनुमा उनको लोकपि्रयताको प्रभाव भएको भारतीय राजनीतिक विश्लेषकको भनाइ छ ।
|