Wednesday, May 22, 2013

अमेरिकी विदेशमन्त्रीमा केरी पीडीएफ मुद्रण इमेल

एजेन्सी
वासिङटन, ७ पुस
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिनेटर जोन केरीलाई विदेशमन्त्रीका लागि छनोट गरेका छन् । विश्वभरका नेताबाट सम्मान तथा विश्वास हासिल गरिसकेका केरि विदेशमन्त्रीको भूमिका निर्वाह गर्नका लागि तयार रहेको ओबामाले बताएका छन् ।
सन् २००४ मा डेमोक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका केरीले हाल सिनेटको वैदेशिक सम्बन्ध समितिका अध्यक्षको पदभार ग्रहण गर्दै आएका छन् । सन् २००४ को राष्ट्रपतिको चुनावमा उनी जर्ज डब्ल्यू बुससँग पराजित भएका थिए । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सुसन राइसले गत हप्ता विदेशमन्त्री बन्ने दौडबाट आफ्नो नाम फिर्ता लिएपछि यस पदमा केरिलाई छनोट गरिएको हो । गत सेप्टेम्बरमा लिबियाको बेन्घाजीस्थित अमेरिकी महावाणिज्यदूतवासमा भएको हमलामा राइसको भूमिकालाई लिएर विपक्षी रिपब्लिकनहरूले उनको चर्को आलोचना गरेका थिए ।
राष्ट्रपति भवन ह्वाइटहाउसमा बोल्दै ओबामाले अमेरिकी सत्ताको सबै विषयको आधारभूत ज्ञान भएका अनुभवी सिनेटर केरिलाई यस पदका लागि प्रशिक्षण जरुरी नभएको बताएका छन् । केरिको नाम संसद्को माथिल्लो सिनेटले सदर गर्ने विश्वास रहेको ओबामाले बताएका छन् । यस घोषणाको समयमा विदेशमन्त्री हिलारी क्लिन्टन भने अनुपस्थित थिइन् । उनी पेटसम्बन्धी समस्याका कारण घरमै आराम गरिरहेकी छिन् । विज्ञप्तिमार्फत क्लिन्टनले केरि विदेशमन्त्री पदका लागि उपयुक्त उम्मेदवार भएको समेत बताएकी छिन् ।
भियतनाम युद्धको अनुभव सँगालेका केरि सन् २००८ मै विदेशमन्त्री बन्ने दौडमा रहे पनि हिलारी क्लिन्टनले बाजी मारेकी थिइन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा विजयी भएपछि ओबामाले मन्त्रीमण्डलमा समावेश गरेका केरि पहिलो व्यक्ति हुन् । ओबामाले केही दिनमा नयाँ रक्षामन्त्री तथा सिआइए प्रमुख पनि नियुक्त गर्ने तयारी गरिरहेको प्राप्त समाचारमा उल्लेख छ । यौनकाण्डमा मुछिएपछि सिआइए प्रमुख डेभिड पेट्रेआसले गत महिना पदबाट राजीनामा दिएका थिए ।

 

Add comment


Security code
Refresh