Friday, May 24, 2013

बलात्कारविरुद्धको प्रदर्शनमा लाठी चार्ज पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, ७ पुस
एक युवतीमाथि गत आइतबार भएको सामूहिक बलात्कारको विरोधमा भारतभर जारी प्रदर्शन थप उग्र बन्दै गएको छ । भारतको राजधानी नयाँदिल्लीमा गुडिरहेको बसमा ५-६ जना युवाले २३ वर्षे युवतीमाथि सामूहिक बलात्कार गरेका थिए ।
शनिबार बिहान राष्ट्रपति भवननजिकै रायसिना हिलमा उपस्थित हजारौँ प्रदर्शनकारीले पीडित युवतीलाई न्याय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । प्रहरीको घेरा तोड्दै राष्ट्रपति भवनतिर अघि बढ्न  खोजेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्नुका साथै लाठी चार्जसमेत गरेका छन् ।
सो क्रममा एक ट्राफिक प्रहरीसहित तीनजना घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, पानीको बोतल तथा जुत्ता प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको समाचार छ । प्रहरी हस्तक्षेपपछि प्रदर्शनकारीले धर्ना दिनुका साथै सरकार तथा प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । आक्रमणकारीले प्रहरीको एक भ्यानको सिसा तोडफोड गरेका छन् । एक महिलाले क्रोधमा आएर आफ्नै हातले गाडीको सिसासमेत फोडेकी छिन् ।
प्रधानमन्त्री मनमोहन सिंहले प्रदर्शनकारीको सुरक्षा सुनिश्चित गर्न गृहमन्त्री सुशीलकुमार सिन्देलाई निर्देशनसमेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनमा विभिन्न विद्यालय तथा कलेजका छात्रछात्रा, विभिन्न संगठनका कार्यकर्ता, गृहिणी, पेसाकर्मी, युवाहरू, वृद्धहरूलगायत विभिन्न क्षेत्रका मानिसको उपस्थिति रहको छ । बलात्कारविरुद्ध देशभर ६ दिनदेखि प्रदर्शन जारी छ ।
इन्डिया गेटमा शनिबार बिहानै भेला भएका प्रदर्शनकारी नाराजुलुुस गर्दै राष्ट्रपति भवनतर्फ अघि बढेका थिए । केही प्रदर्शनकारीले अभियुक्तलाई फाँसी दिनसमेत सरकारसमक्ष माग गरेका छन् । प्रदर्शनमा भारतीय सेनाका पूर्वप्रमुख भिके सिंहको समेत सहभागिता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा सिंहले सरकारको अकर्मण्यताका कारण युवती बलात्कृत भएको आरोप लगाए ।
हालका दिनमा भारतका कुनै पनि महिला आफूमाथि भएको दुव्र्यवहारविरुद्ध प्रहरी चौकीमा उजुरी गर्न नजानुको कारणप्रति सरकारले चासो नराखेको धारणा उनले राखेका छन् । राजनीतिज्ञ र कर्मचारीतन्त्रका कारण सुरक्षा प्रणालीमा सुधार हुन नसकेको उनको आरोप छ । युवती बलात्कारको अभियोगमा प्रहरीले घटनासँग  सम्बन्धित ६ जनालाई पक्राउ गरी आवश्यक सोधपुछ जारी राखेको छ । 
राजधानी दिल्लीका अलावा देशका कैयौँ स्थानमा बलात्कारविरुद्ध प्रदर्शन जारी छ । देशमा लगातार रूपमा बलात्कारका घटना घटिरहे पनि सरकारले यसबारे ठोस कदम नउठाएको प्रदर्शनकारीको आरोप छ ।

बलात्कृत युवतीको हालत नाजुक

बलात्कृत युवतीलाई हाल भेन्टिलेटरबाट हटाइए पनि उनको स्वास्थ्यस्थिति नाजुक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । युवतीको उपचार भइरहेको दिल्लीस्थित सफदरजंग अस्पतालपरिसरमा पनि प्रदर्शन जारी छ । यसैबीच दिल्ली उच्च अदालतले बलात्कार भएको रातमा घटनास्थलनजिकैको चौकीमा डयुटीमा रहेका प्रहरीको नाम अदालतलाई उपलब्ध गराउन प्रहरीलाई आदेश दिएको छ ।

 

Add comment


Security code
Refresh