|
अहमदावाद/ गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी गुजरातको राजधानी गान्धीनगरमा निर्मित नयाँ बुलेटप्रुफ कार्यालयमा आउँदो जनवरीदेखि सर्ने भएका छन् । करिब एक करोड ५० लाख भारतीय रुपैयाँको लगानीमा निर्माण गरिएको सो भवन नयाँदिल्लीमा अवस्थित साउथ ब्लकको ढाँचामा तयार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको साउथ ब्लकभित्र प्रधानमन्त्री कार्यालय रहेको छ । नवनिर्मित भवनमा प्रान्तीय मन्त्रीका कार्यकक्षसमेत राखिने जनाइएको छ । 'पञ्चामृत' नाम दिइएको चारतले सो भवन ३५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । भवनको निर्माण गुजरातको सडक तथा भवन विभागले गरेको हो भने यसको डिजाइन गुजरातका प्रख्यात आर्किटेक्टले गरेका हुन् । यसअघि यी आर्केटेक्टले गुजरात उच्च अदालत, अमुल डेरीलगायत केही कर्पोरेट भवनको समेत डिजाइन गरिसकेका छन् । सुरक्षाका कारण भवनको झ्याल र ढोकामा बुलेटप्रुफ सिसा राखिएको छ । भवनमा मन्त्रिपरिषद् बैठकका लागि एक विशेष कक्षसमेत निर्माण गरिएको छ, जसलाई चौबीसै घन्टा सिसिटिभीले निगरानी गर्नेछ । मुख्यमन्त्रीको कार्यालय राज्यसभा भवनको पहिलो तलासँग समानान्तर हुने गरी बनाइएको सडक तथा भवन निर्माण विभागका उच्च अधिकारीले बताएका छन् । सभाहलमा प्रवेश गर्ने मन्त्री तथा सांसदको प्रत्यक्ष निगरानी गर्न मोदीको कार्यालय राज्यसभा भवनको पहिलो तलासँग समानान्तर हुने गरी बनाइएको समाचारमा उल्लेख छ । एक वर्षभन्दा कम समयमै सो अत्याधुनिक भवन निर्माण गरिएको सडक तथा भवन निर्माण विभागले जनाएको छ । भवनको हरेक विषयमा मोदीले विशेष चासो राख्दै आएका छन् । हाल मादीको कार्यालय सचिवालयको ब्लक नं १को पाँचौँ तलामा रहेको छ ।
|