Thursday, Jun 20, 2013< /p>

महाविनाशको हल्ला र भय पीडीएफ मुद्रण इमेल

धु्रवसत्य परियार

'क्लियोपेट्राको नाक आफैँमा केही छोटो हुन्थ्यो भने पूरै संसारको मुहार परिवर्तन हुने थियो ।'
- पास्कल ।
भनिन्छ, प्राचीन मिश्रकी राजकुमारी क्लियोपेट्रा अनिन्द्य सुन्दरी थिइन् । उनको सुन्दरतासामु जतिसुकै वीर पुरुष पनि हार्न पुग्थ्यो । उनी जति सुन्दरी थिइन्, त्यति नै महत्त्वाकांक्षी पनि थिइन् । उनको मुहारमा हार नामको कुनै रेखा थिएन ।
यिनकै समयमा रोममा एक वीर सम्राट थिए- जुलियस सिजर । क्लियोपेट्रा आफ्नै भाइहरूबाट खोसिएको राज्य फिर्ता गर्न सिजरको सहयोग चाहन्थिन् । उल्टै सिजर नै क्लियोपेट्राको मोहमा परे । त्यसपछि सिजरले चाहेको राज्य विस्तार हुन सकेन सायद । यदि क्लियोपेट्राको नाक आधा इन्च लामो वा छोटो भइदिएको भए संसारका राज्यमा अर्कै फेरबदल हुने थियो ।
भर्खरै संसारकै सर्वसाधारणमा पृथ्वीको अन्त्य हुँदै छ भन्ने त्रास फैलियो, अनेक तरंगमार्फत । भूकम्प, सुनामी वा कुनै तारा-ग्रहको ठक्करले पृथ्वीमा महाविनाश हुँदै छ, फेरबदल हुँदै छ, यस्तै हल्ला फैलियो । कतिले प्रभुको प्रार्थना गरे सब ठीक हुने पनि हल्ला फैलाए ।
पृथ्वीको अन्त्य हुने/नहुने तर्क र तथ्य आ-आफ्नै छन्, आफ्नै ठाउँमा छन् । जन्म र मृत्यु भएजस्तै पृथ्वीको उत्पत्ति भएको हो भने अन्त्य पनि होला । दिन-रात, ऋतु जुन नियममा संसार चल्दै आएको छ, त्यो नियममा तलमाथि नहोला भन्न सकिन्न । अथवा, भयानक भुइँचालो, ज्वालामुखी, सुनामी नआउला भन्न सकिन्न । यस्ता महाविनाशबारे कल्पना गर्न हुन्छ । तर, कहालिनु हुँदैन । यसो गर्नु जन्मेपछि मर्ने नै हो भनेर आत्महत्या गर्नु जस्तै हो ।
प्रधान कुरा त बाँच्दासम्म कसैलाई अन्याय नगरी वा नसही शान्तिले कसरी बाँच्ने भन्ने नै हो ।
हामी बाँच्दासम्म अशान्तिले बाँच्छौँँ । अन्याय गरेर बाँच्छौँ भने, मरिन्छ कि ! मरेपछि के होला ? भनी सोच्न हामीलाई नैतिक अधिकार हुँदैन । जानीजानी विष पिउँछौँ भने मर्छु भन्ने चिन्ताको के अर्थ ? नजानेरै पियौँ भने मर्ने चिन्ता नै आउँदैन । तर, हामी कतिपय दुध पिएर पनि विष पिएको संशयमा पर्छौं । हाम्रा लागि सबैभन्दा ठूलो धोका पनि, साथ पनि संशय नै हो । संशयलाई नजान्दासम्म जीवन नै धोका बन्छ ।
हामी कतिपय साह्रै दयालाग्दो गरी कृत्रिम दुनियाँको त्रासमा बाँच्छौँ । त्यो कृत्रिम दुनियाँ जहाँ मृत्युपछि आत्माको अस्तित्व रहन्छ । त्यो कृत्रिम दुनियाँ, जसलाई आत्मवादी दार्शनिकले स्वर्ग र नर्कको नाम दिएर निर्माण गरेका छन् ।
यस्ता कृत्रिम दुनियाँभन्दा हाम्रा लागि पृथ्वी, सूर्यर्-ताराको ताप, प्रकाश, आकाश र आत्मा महत्त्वपूर्ण छन् । यसप्रतिको चिन्तन-मनन् जीवनसंगत छन् । तर, आत्माको चिन्तन-मनन गर्न भौतिक शरीर र संसार चाहिन्छ । हामी सीधै भौतिकवादी नभई आत्मवादी हुनै सक्दैनौँ ।
केहीबेरलाई मानौँ हाम्रा त्रास र चिन्ता पल्लो घरका चीत्कार हुन्, हारगुहार हुन् । आफ्नै घरमा सहयोग गर्ने दिल छैन, सहयोग दिने चिज छैन भने पल्लो घरको हार-गुहारको के अर्थ ? हामीले भय र त्रासलाई विवेकपूर्ण किसिमले केलाउन सक्नैपर्छ ।
प्रायः हामी यस्तो समाजमा छौँ, पल्लो घरको चीत्कार सुन्दैनौँ । सुनिहाल्यौँ भने पनि निकै साँगुरिएर सुन्छौँ । पल्लो घर, पल्लो समाज, पल्लो जात, पल्लो धर्म, पल्लो देश, पल्लो महादेश हामी यसरी नै विचार र व्यवहार गर्छौं । हामी कतिपयले समग्रमा 'पृथ्वी हाम्रो घर' भनी सोच्नसम्म सक्दैनौँ ।
हामी जो घर-घरमा सीमित छौँ । आफ्नो मात्रै घर भत्कने/बिग्रने चिन्तामा छौँ । हाम्रा लागि वेलाबखत पृथ्वी नै भत्कने हल्ला शुभ नै हुन्छ । कम्तीमा हामीले केही दिन भए पनि आफ्नो घर बिग्रने/भत्कने चिन्ता त त्याग्छौँ ।
पछिल्लो हप्ता 'ध्रुवे हात्ती'को हल्लाले बजार लियो । उसले घटाएका घटना पाशविक नै हुने भए, यसलाई छाडौँ । गत हप्ता नै भारतमा एक युवती सामूहिक बलात्कृत भइन् । एउटा पाशविक घटना घट्यो/घटाइयो । जुन घटनाले सारा भारत जाग्यो । ठीक यही वेला देशको अध्यागमन विभागमै विदेशबाट फर्किएकी चेली लुटिएको, बलात्कृत भएको समाचार सार्वजनिक भयो । तर, यस घटनाले नेपाली जनता खासै जागेको पाइएन । हाल जनता अस्थिर राजनीतिका कारण निराश पनि छन् । निराश मन भयभित नै हुन्छ । भयमुक्त मन हुनलाई राजनीतिक स्थिरता जरुरी हुन्छ । देशमा राजनीतिक संकट छ । आर्थिक, सामाजिक विकास हुन सकेको छैन । वर्गीय, जातीय खाडल गहिरिँदो छ । राज्यले सबैलाई समान न्याय, शिक्षा, सेवा-सुविधा दिने प्रणाली स्थापित हुन सकेको छैन । जनताका आधारभूत आवश्यकता पूरा हुन सकेका छैनन् । मुलुकभर कहीँकतै अमन चयन छैन । आमसर्वसाधारण नेतृत्व र राज्य व्यवस्थाप्रति आक्रोशित छन् । यसो हुनुमा राजनीतिक दल, नेता, नेतृत्वदेखि हामी चेतनशील नागरिक जिम्मेवार छौँ ।  आज विश्वमै एक प्रकारले राजनीतिक संकट छ । विभिन्न राष्ट्रका राजनीतिक दलभित्रै, दलहरूबीच र अन्य राष्ट्रबीच नीति, सिद्धान्त र वादबारे मतभिन्नता देखिँदै आएको छ । यसो हुनुमा न्याय र इमानदारीप्रतिको कमजोर बुझाइ नै हो । जबसम्म हरेक राज्यमा समान न्याय प्रणाली स्थापित हुन सक्दैन, तबसम्म परिवार, समाज, राष्ट्र हुँदै संसारभरि नै कुनै न कुनै रूपमा विद्रोह/आन्दोलन चलिरहन्छ । भय-आतंक फैलिरहन्छ । राष्ट्रको समृद्धि र प्रगतिमा बाधा आइरहन्छ ।
जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ गैरसरकारी संस्था हाबी हुन पुग्छन् । हाल देशमा दलित, महिला, जनजाति आदिवासी, बालबालिका आदिका अधिकारका लागि गैरसरकारी संस्था लागिपरेका छन् । यो सकारात्मक नै हो । तर, यस्ता अधिकारकर्मी पनि साँगुरो स्वार्थमा लागेको देखिन्छ । अझ पछिल्लो समय त कतिपय अधिकारकर्मी वा समाजसेवीले कुनै सेलिब्रेटीले झैँ सुविधासम्पन्न जीवनका लागि वा कुनै पुरस्कार वा अवार्ड चुम्नकै लागि काम गरिरहेजस्तो देखिन्छ ।
क्लियोपेट्राको नाकले संसारमा प्रभाव पर्नुको कारण जे-जस्तो होस् । त्यसको यतिखेर हामीले चासो लिइरहनु आवश्यक छैन । समाजसेवी, अधिकारकर्मी, शासक, प्रशासक, नेता वा नेतृत्वको सोच र चिन्तनले भने परिवार, समाजक र राष्ट्रलाई सीधै प्रभाव पारेको हुन्छ । समाजमा नेतृत्वदायी भूमिकामा उभिएका मानिस साँगुरो स्वार्थबाट माथि उठ्नैपर्छ । तब मात्र मुलुकलाई सकारात्मक दिशामा डोर्‍याउन सकिन्छ ।

 

Add comment


Security code
Refresh