|
सरकारले हरेक वर्ष जोडतोडले भर्ना अभियान चलाएर विद्यार्थी भर्नादर उच्च देखाए पनि विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थी संख्या भने खासै उत्साहप्रद छैन । भर्ना भएअनुसारका विद्यार्थी सहरबजारकै विद्यालयमा त उपस्थित हुने गरेको पाइँदैन भने दूरदराजका ग्रामीण भेगका विद्यालयमा भर्ना भएको संख्याअनुसार शतप्रतिशत विद्यार्थी उपस्थित हुने कल्पना गर्नु बेकार हो । खासगरी ग्रामीण भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी घरको कामकाजबाट फुर्सद भए मात्र विद्यालय जाने गर्छन् । अधिकांशले खेतबारीको मेलापात, गाईबाख्रा चराउने काम, भाइबहिनी हेर्ने कामबाट छुट्टी पाए मात्र विद्यालय जाने मौका पाउँछन् । त्यसैले अधिकांश विद्यालयमा विद्यार्थी कम उपस्थित देखिने गरेको छ । विद्यालयको पट्यारलाग्दो अध्यापन शैली र शिक्षक-शिक्षिकाको रुखो व्यवहारले गर्दा पनि त्यस्ता विद्यालयमा विद्यार्थी आकर्षण घटेको हुनसक्छ । त्यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढाउने भरपर्दो आधार नभएको हुनाले पनि विद्यार्थीको उपस्थिति पातलिएको हो । यसैबीच सिन्धुपाल्चोकका जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले विद्यालयमा विद्यार्थी आकर्षण बढाउन विद्यार्थीलाई झोला, टिफिन बक्स, पानीको बोतल, कापी र कलम वितरण गरेर राम्रो कामको सुरुआत गरेका छन् । उनले हेल्प नेपाल नामक गैरसरकारी संस्थासँग मिलेर विद्यालयमा विद्यार्थी आकषिर्त गराउन त्यसरी विभिन्न सामग्री वितरण गरेका छन् । यसले विद्यार्थीलाई आकषिर्त गर्ने र विद्यालयमा विद्यार्थीको उपस्थिति बाक्लिने अपेक्षा गर्न सकिन्छ । सरकारले पनि कायमै छ । साथै, कतिपय जिल्लाका विद्यालयमा त नियमित खाजाको पनि व्यवस्था गरिएको छ भने छोरीलाई स्कुल पठाउने परिवारलाई मासिक रूपमा खाने तेलसमेत वितरण गर्ने गरिएको छ । यस्ता प्रयासले केही हदसम्म बालबालिकालाई आकषिर्त गरिरहेकोमा सिन्धुपाल्चोकका जिशिअ गौतमको प्रयासले पनि सकारात्मक प्रभाव पार्न सक्छ । यसलाई अन्य जिल्लाका जिशिअ तथा अन्य गैरसरकारी संस्थाले पनि सिको गर्न सके त्यसको प्रभावकारिता बढ्न सक्छ । नेपालका अधिकांश विद्यालयमा भर्ना भएअनुसारका बालबालिकाको नियमित उपस्थिति कहिल्यै भेटिने गरेको छैन । अझ कतिपय विद्यालयले त फर्जी विद्यार्थी संख्या बढाएर बढीभन्दा बढी सरकारी सुविधा हात पारिरहेका समाचार पनि वेलावेलामा आइरहेका हुन्छन् । विद्यालयका यस्ता हर्कतले सरकारी सुविधा व्यापक दुरुपयोग भइरहेको देखिन्छ भने अर्कातिर भर्ना भएर पनि विद्यालयबाहिरै रहेका विद्यार्थीको संख्या पनि राज्यको टाउको दुखाइ बनिरहेको छ । विद्यार्थीलाई विद्यालयसम्म पुर्याउन राज्य र बालबालिकाकै क्षेत्रमा काम गरिरहेका संघसंस्थाले भौतिक सामग्रीको लोभ देखाएर मात्र हुँदैन, त्यसका लागि अभिभावकवर्गमा चेतना छर्ने अभियान पनि सँगसँगै अघि बढाउनुपर्छ । अभिभावक सचेत भए भने बालबालिकालाई भौतिक सामग्रीको आकर्षण देखाएर विद्यालयसम्म तान्नुपर्ने स्थिति आउँदैन । त्यसैले सरोकारवाला निकायको यसतर्फ अविलम्ब ध्यान जानु जरुरी छ ।
|