|
नयाँ पत्रिका काठमाडौं, १० पुस सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार नेपाल पुलिस क्लबले बलियो विभागीय टोली नेपाली सेनालाई २-१ ले पराजित गरेको छ । लिगको नवौँ चरणमा सेनामाथिको जितसँगै पुलिसले महत्त्वपूर्ण तीन अंक बटुलेको छ । जितका बाबजुद पुलिस लिगको आठौँ स्थानमा रह्यो । पुलिसले ९ खेलबाट १२ अंक जोडेको छ । पराजयसँगै सेनाले चौथो स्थानमा उक्लने अवसर खेर फालेको छ । पुलिसलाई हराएको खण्डमा सेनाले गोलअन्तरमा चौथो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबलाई पाखा लगाउने थियो । सेनाले ९ खेलबाट १४ अंक जोड्यो । आठ खेल मात्रै खेलेको मच्छिन्द्रको १७ अंक छ । गोलअन्तरमा सेना मच्छिन्द्रको तुलनामा एक गोलले अघि रहेको छ । दशरथ रंगशालामा आधा दर्जन गोल अवसर खेर फालेको सेनाले उत्कृष्ट खेल पस्केको थियो । खेलमा अग्रता पुलिसले लियो । खेलको १२औँ मिनेटमा योगेश श्रेष्ठले हेडिङ गोल गर्दै पुलिसलाई खेलमा १-० ले अघि राखे । योगेशले दिनेश गुरुङले प्रहार गरेको कर्नर किकमा हेडिङ गोल गरेका थिए । पुलिसले खेलमा सुरुवाती अग्रता कायम गरे पनि उक्त अग्रतालाई लामो समय टिकाइराख्न सकेन । सेनाले खेलको १७औँ मिनेटमा बराबरी गोल फर्कायो । राजु तामाङले दिएको पासमा डिबक्सभित्र अनमार्क रहेका भरत खवासले सहजै बराबरी गोल गरेका हुन् । भरतको गोलपछि पहिलो हाफको खेल १-१ को बराबरीमै टुंगियो । दोस्रो हाफको खेलमा थप एक गोल थप्दै पुलिस आर्मीसँग महत्त्वपूर्ण तीन अंक खोस्न सफल भयो । पुलिसका लागि भोला सिलवालले विजयी गोल गरेका थिए । खेलको ६१औँ मिनेटमा चेतन घिमिरेको पासलाई सदुपयोग गर्दै भोलाले पुलिसलाई २-१ अघि राखे । जितपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले सेनासँग महत्त्वपूर्ण तीन अंक खोस्न सकेकोमा खुसी व्यक्त गरे । पुलिसका प्रशिक्षक श्रेष्ठले सेनाबाट उत्कृष्ट प्रदर्शन भएको स्वीकार गरेका छन् । श्रेष्ठले भने, 'हामी प्राविधिक र मानसिक रूपमा सेनाभन्दा अघि थियौँ, यसको तुलनामा सेनाले उत्कृष्ट खेल खेल्यो, तर हामी तीन अंक लिन सफल भयौँ, यो नै महत्त्वपूर्ण पक्ष हो ।' प्रशिक्षक श्रेष्ठले पुलिसको योजना अब 'टप एट'तर्फ रहेको बताए । 'अब हामी रेलिगेसन क्षेत्रबाट माथि उठेका छौँ, त्यसैले हाम्रो अबको योजना सुपर एटतर्फ हुने छ,' उनले भने सेनाका प्रशिक्षक योगम्बर सुवालले खेलाडीहरूले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपरेको बताए । 'खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा तीन अंक गुम्यो,' प्रशिक्षक सुवालले भने । प|mेन्ड्स र एनआरटी बराबरी न्युरोड टिम -एनआरटी) र प|mेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामै भएको खेलमा प्रभावशाली प्रदर्शन गर्न नसकेको दुवै टोलीले गोलरहित बराबरीका साथ अंक बाँडेका हुन् । खेलमा एनआरटीको तुलनामा प|mेन्ड्सले केही गतिलो प्रदर्शन देखाएको थियो । यद्यपि खेलमा केही राम्रा गोल अवसर सिर्जना गरेको प|mेन्ड्सले गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा प|mेन्ड्सका कप्तान सागर थापाको हेडिङ क्रसबार नजिकिँदै बाहिरिएको थियो । जगजित श्रेष्ठले २५ यार्डबाट निकालेको पासमा सागरले उत्कृष्ट हेडिङ गरेका थिए । एनआरटीले भने खेलको कुनै पनि वेला आकर्षक मुभ बुन्न सकेन । खेलको ६६औँ मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो । प|mेन्ड्सका अपि|mकन खेलाडी जिकाऐ लियोन्सलाई डिबक्सभित्र लडाएपछि रेप|mी श्रवण लामाले कमललाई सीधै रातो कार्ड देखाएका थिए । बराबरीको नतिजापछि एनआरटीले १५ अंक पुर्याएको छ । नवौँ स्थानको प|mेन्ड्सले ९ अंक बटुलेको छ । खेलपछि एनआरटीका प्रशिक्षक डिकेन सुवालले जितका लागि आए पनि योजना सफल नभएको बताए । उनले नतिजाप्रति सन्तुष्टि जनाए । उनले भने, 'हाम्रो योजना स्पष्ट तीन अंक लिने थियो, तर योजना सफल हुन सकेन, १० जना भएर पनि प|mेन्ड्सलाई रोक्न सफल भयौँ, त्यसमै सन्तुष्ट छु ।' प|mेन्ड्सका प्रशिक्षक रमेश महर्जन विदेशी खेलाडी र स्वदेशी खेलाडीबीच तालमेल नमिल्दा बराबरी नतिजा आएको बताए । 'यसपटक रणनीति परिवर्तन गरेर हामीले दुई विदेशी खेलाडीलाई स्ट्राइकिङमा खेलाएका थियौँ, तर खेलाडीबीच तालमेल नै मिलेन,' उनले भने ।
|