Saturday, May 25, 2013

मैनबत्ती बालेर अप्रेसन बिरामीमाथि गम्भीर खेलबाड पीडीएफ मुद्रण इमेल

साना-ठूला गरी दैनिक २० भन्दा बढी अप्रेसन हुँदै आएको कोसी अञ्चल अस्पतालमा मैनबत्ती बालेर अप्रेसन गर्नुपर्ने अवस्थाबारे सुन्दा त्यहाँ बिरामीको जीवनमाथि कसरी खेलबाड भइरहेको छ भन्ने प्रस्ट भएको छ । अस्पताल आफैँमा संवेदनशील स्थल हो । अझ अपे्रसन कक्ष त अस्पतालभित्रको पनि अति संवेदनशील स्थान हो । तर, अस्पतालको अप्रेसन कक्षमै निरन्तर बिजुली आपूर्ति हुँदैन, अप्रेसनका वेला बिरामीलाई सुताइने बेड जीर्ण छ, त्यहाँ प्रयोग गरिएका उपकरण पुराना भएकै कारण सञ्चालनमा कठिनाइ छ, लोडसेडिङको वेलामा अस्पतालको आफ्नै जेनेरेटर चलाए पनि ट्रान्सर्फमर अभावमा भोल्टेज ँअप/डाउन’ भइरहँदा संवेदनशील उपकरण बिग्रनेसम्मको अवस्था छ, बिजुलीको भरपर्दो आपूर्ति नहुँदा चिकित्सकले मैनबत्ती बालेरै बिरामीको अप्रेसन गर्नुपर्ने दयनीय अवस्था छ भने त्यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न । सरोकारवाला निकायले तत्काल आवश्यक सुधारका लागि उचित कदम चालेन भने कुनै पनि वेला कोसी अञ्चल अस्पतालमा गम्भीर दुर्घटना नहोला र बिरामीको ज्यानसमेत तलमाथि नहोला भन्न सकिने अवस्था छैन ।
विद्युत् प्राधिकरणले बुधबारदेखि आफ्नो लोडसेडिङ तालिकामा दुई घन्टाको समयावधि थपेर दैनिक १२ घन्टा लोडसेडिङ हुने नयाँ तालिका प्रकाशित गरेको छ । उसले अनेक तर्कका बलमा लोडसेडिङ बढ्नुको औचित्य पुष्टि गर्ने असफल प्रयास पनि गरेको छ । प्राधिकरणको पछिल्लो निर्णयले अब मुलुक २४ घन्टामा आधा समय बिजुलीविहीन अवस्थामै रहनेछ । लोडसेडिङको बढ्दो समय तालिकाले अब कोसी अञ्चल अस्पतालको अप्रेसन कक्षभित्र अझै मैनबत्ती खपत हुने संकेत गरेको छ । पूर्वाञ्चलकै बिरामीको बढी चाप हुने सरकारी अस्पतालको यस्तो दुरवस्था देखिँदा पनि सरकारले उचित ध्यान नदिनु जनताको जीवनमाथिकै गम्भीर उपेक्षा हो । जिम्मेवार राज्यको गैरजिम्मेवारी हो ।
कोसी अञ्चल अस्पतालका चिकित्सकले निकै ठूलो जोखिम मोलेर बिरामीको अप्रेसन गर्दै आएका छन् । यस्तोमा कथम् कुनै दुर्घटना भइहाल्यो भने उनीहरूले लोडसेडिङ वा उपकरणलाई दोष दिएर उम्किन पाउनेछैनन् । त्यसैले कुनै दुर्घटना भइसकेपछि ज्या भनेर चुकचुकाउनुभन्दा पहिल्यै सम्भावित खतराप्रति आवश्यक सतर्कता अपनाएर अस्पतालमा नियमित र प्रभावकारी बिजुली आपूर्तिको व्यवस्था मिलाउने र अप्रेसन कक्षका अत्यावश्यक उपकरण मर्मत र आवश्यकताअनुसार फेरबदल गर्ने कार्यमा सरकारले अविलम्ब ध्यान पुर्‍याउनु जरुरी छ । तर, समयमै अस्पतालका चिकित्सकले सचेत गराउँदा गराउँदै पनि सरकार मौनता साधेर बस्यो र त्यसैका कारण अस्पतालमा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी बिरामीको अप्रेसन गर्ने चिकित्सक, अस्पताल प्रशासन वा सरकार कसले लिन्छ ?

 

Add comment


Security code
Refresh