|
भवानीश्वर गौतम/नयाँ पत्रिका पर्सा, १२ पुस सामुदायिक विद्यालयमा पढाउने शिक्षकको मासिक तलब कति होला ? सबैको अनुमान हुन्छ- न्यूनतम पनि १३-१४ हजार । तर, पर्साका केही शिक्षकको अवस्था भने फरक छ । उनीहरूले पाउने मासिक तलब सात सय ३० रुपैयाँ मात्र छ । वीरगन्जनजिकैको सुगौली बिर्तास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका दुई शिक्षकले आठ महिनादेखि सात सय ३० रुपैयाँ मासिक पारिश्रमिकमा पढाइरहेका छन् । सो विद्यालयका प्राथमिक तहका बालमैत्री शिक्षक पन्नालाल चौरसिया र छोटेलाल ठाकुरले आठ महिनादेखि सात सय ३० रुपैयाँमा पढाइरहेका छन् । सरकारी शिक्षक तथा कर्मचारीको तलब प्रत्येक वर्ष बढ्दै गइरहेको हुन्छ । तर, उनीहरूको तलब भने प्रत्येक वर्ष घट्दै गएर यो वर्षदेखि सात सय ३० रुपैयाँ पुगेको हो । ०६७ सालमा ६ हजार दुई सय १० रुपैयाँ मासिक तलब रहेका ती दुई शिक्षकको ०६८ सालमा दुईर् हजार ७० रुपैयाँ थियो भने यो वर्ष अझै घटेर सात सय ३० रुपैयाँ पुगेको हो । सरकारले प्रतिविद्यार्थी लागत -पिसिएफ)का आधारमा नियुक्त गरिएका ती शिक्षकको अवस्था दयनीय बन्दै गएको हो । सो विद्यालयमा विद्यार्थीको चाप बढ्दै गए पनि पनि जिल्ला शिक्षा कार्यालयको लापरबाहीका कारण अनुदान घटाउँदै गएको छ । राजनीतिक दबाबका आधारमा अनुदान बाँड्ने प्रवृत्तिले विद्यार्थी संख्या धेरै भएका विद्यालयको पनि यस्तो बेहाल भएको हो । 'पर्सामा सबैभन्दा बढी विद्यार्थीको चाप यही विद्यालयमा छ, तर सरकारबाट सबैभन्दा कम पिसिएफ यहीँ आउँछ,' शिक्षक पन्नालाल चौरसिया भन्छन्, 'पूर्वजिशिअको पैसाको चलखेलले हाम्रो विद्यालयलाई रकम दिएन, जसले पैसा दिन्छ, विद्यार्थी नभए पनि त्यही ठाउँमा अनुदान दिइयो ।' सात सय ३० रुपैयाँको जागिर शिक्षकलाई निल्नु न ओकल्नुजस्तै भएको छ । चौरसिया भन्छन्, 'सात सय ३० रुपैयाँमा केही गर्नै सकिँदैन, बढेर आउँछ कि भन्ने आशाले छोड्न सकेका छैनौँ ।' सात सय ३० रुपैयाँ तलब भएका अर्का शिक्षक छोटेलाल ठाकुरले बिहान-बेलुका ट्युसन पढाएर आएको दुई/तीन हजार कमाइले जीवन निर्वाह गरेको बताए । बालमैत्री भनिएको सो विद्यालयमा चौरसिया कक्षा १ र ठाकुर कक्षा २ का ग्रेड शिक्षक हुन् । सो विद्यालयमा विद्यार्थीको चाप धेरै छ । कुनै कक्षामा त करिब डेढ सय विद्यार्थी एउटै कक्षामा बसेर पढ्नुपर्ने बाध्यता छ । प्रावि तहमा ६ सय ७० विद्यार्थी छन् । कक्षा एकमा एक सय ३४, दुईमा एक सय ३६, तीनमा एक सय १९, चारमा एक सय २७ र पाँचमा ८८ जना विद्यार्थी रहेका छन् ।
सात विद्यार्थीका लागि सात शिक्षक
कतै डेढ सय विद्यार्थीलाई एकै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता भएको पर्सामा कतै भने सात विद्यार्थीका लागि सात शिक्षक खटिएका छन् । पर्साको हरपदगन्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सात विद्यार्थीका लागि सात शिक्षक रहेको नेराप्रावि सुगौली बिर्ताका व्यवस्थापन समिति सदस्य शिवनारायण मिश्रले बताए । उनले भने, 'हाम्रो विद्यालयका विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ ।' सोही विद्यालयका प्रधानाध्यापक विजेन्द्र ठाकुरले विद्यालयमा धेरै कठिनाइ भइरहेको बताए । पिसिएफका आधारमा नियुक्त गरिएका शिक्षकले पाएको तलबले डिप्रेसन भएर छाड्ने अवस्था आउन लागेको उनको भनाइ छ । भाषण गर्न सक्ने विद्यालयमा पिसिएफ अनुदान धेरै जाने र धेरै विद्यार्थी भएको र राम्रो गर्न खोज्नेलाई अनुदान आउन नसकेको उनले गुनासो गरे । पर्साका जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहले जिल्लामा शिक्षकको दरबन्दी मिलान गर्ने तयारीमा रहेको र त्यसक्रममा सुगौली बिर्ताको नेराप्राविलाई राम्रो शिक्षक दिने वाचा गरे । पहिले शिक्षा मन्त्रालयले प्राविलाई मात्र पिसिएफ अनुदान दिने गरेको र पछि निमावि र माविलाई पनि दिन सुरु गरेपछि रकम अभाव भएको साहले बताए । उनले भने, 'रकम थोरै आएकाले थोरै दिएका हौँ, विद्यालयलाई गर्नुपर्ने सहयोग मैले गर्छु ।' सरोकार पक्षले भने राजनीतिक प्रभाव र लेनदेनका आधारमा वित्तीय स्रोतको वितरण हुने गरेको आरोप लगाएका छन् ।
|