|
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, १२ पुस पहुँचका आधारमा काजसरुवा मिलाएका प्रहरीले अब अनिवार्य दरबन्दी भएकै ठाउँमा जानुपर्ने भएको छ । गतवर्ष चैतअघि काजसरुवा भएका प्रहरी करिब तीन हजार छन् । उनीहरू दश दिनभित्र दरबन्दी भएको कार्यालयमा नगए कारबाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले बिहीबार १० दिनभित्र दरबन्दी भएको कार्यालयमा र्फकन परिपत्र गरेको छ । काजसरुवा भएका प्रहरी दरबन्दी रहेको कार्यालयमा नफर्किए सम्बन्धित कार्यालयका प्रहरी प्रमुखसमेत कारबाहीमा पर्ने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गत चैतअगाडि नै काजसरुवा भएर दरबन्दीमा नफर्किएका प्रहरीको संख्या तीन हजारभन्दा बढी छ । परिपत्रअनुसार उनीहरू सबै १० दिनभित्र दरबन्दी भएकै कार्यालयमा पुगिसक्नुपर्नेछ । 'चैतअगाडि काजसरुवा भएका सबैलाई १० दिनभित्र दरबन्दी रहेको ठाउँमा जान हामीले बिहीबारै परिपत्र गरेका छौँ,' प्रशासन विभागका प्रमुख एआइजी विनोद सिंहले भने, 'अब अत्यावश्यक अवस्थामा मात्र काज सरुवा हुनेछ ।' दरबन्दी एक ठाउँमा भए पनि काज सरुवा मिलाएर आफूअनुकूल ठाउँमा बस्ने प्रवृत्ति प्रहरी संगठनको रोग नै भइसकेको एक उच्च प्रहरी अधिकारी बताउँछन् । 'जनताका लागि काम गरिसकेपछि खटाएकै ठाउँमा गएर काम गुर्नपर्छ,' ती प्रहरी अधिकारी भन्छन्, 'घर पायक बसेर घरका लागि काम गर्न त प्रहरीमा जागिर खानुहुन्न ।' सरुवा वर्ष-वर्षमा मात्र हुने तर काज सरुवा जुनसुकै वेला पनि गर्न मिल्ने भएकाले प्रहरीमा धेरैजसो काज सरुवा भएर आफूलाई पायक पर्ने कार्यालयमा बस्ने चलन छ । नेपाल प्रहरीमा लामो समय काजमा काम गर्नेमा जुनियर प्रहरी अधिकारी धेरै छन् । कतिपय कमाई हुने ठाउँमा त कतिपय घरनजिक काजमा काम गर्दै आएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । कागजमा विभिन्न ठाउँमा सरुवा भइसके पनि काम भने एउटै कार्यालयमा गर्ने प्रहरी अधिकारीको संख्या धेरै रहेको पनि स्रोतको भनाइ छ । बिहीबारको परिपत्रमा विशेष परिस्थितिमा भने एक वर्षभन्दा लामो समय पनि काजमा काम गर्न छुट दिइएको छ । 'कुनै विशेषज्ञ व्यक्ति सम्बन्धित कार्यालयलाई चाहिएमा अथवा दुवैजना सेवामै रहेका वेला श्रीमान्/श्रीमती सँगै बस्ने अवस्थामा भने परिपत्रले छुट दिएको छ,' एआइजी सिंहले भने । नबसी नहुनेबाहेक अन्यको तत्काल दरबन्दीमा जानुपर्ने र नबसी नहुनेको हकमा पनि स्पष्ट कारण लिखित रूपमा प्रहरी प्रधान कार्यालयलाई पठाउनुपर्ने पत्रमा उल्लेख छ । आवश्यकताविना नै काजमा राखेका सम्बन्धित प्रहरी कार्यालयको प्रमुखलाई समेत कारबाही गरिने प्रधान कार्यालयको रणनीति छ ।
प्रधान कार्यालयमा पाँच सय प्रहरी घटाइने
प्रहरी प्रधान कार्यालयका पाँच सयभन्दा बढी प्रहरी अनावश्यक रहेको खुलेको छ । प्रधान कार्यालयले गरेको एक अनुसन्धानमा २५ प्रतिशत कर्मचारी अनावश्यक रहेको औँल्याइएको छ । हाल प्रधान कार्यालयमा करिब दुई हजार दुई सय कर्मचारी कार्यरत छन् । त्यसमध्ये २५ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव अनुसन्धान प्रतिवेदनले गरेको छ । एसपी रवीन्द्र रेग्मी संयोजकत्वको समितिले सो प्रतिवेदन दिएको हो । प्रतिवेदनअनुसार कर्मचारी कटौती गर्न लागिएको प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तल्लो तहका प्रहरी अनावश्यक रहेको प्रतिवेदनमा औँल्याइएको छ । फिल्डमा भन्दा सजिलो हुने भएकाले धेरै प्रधान कार्यालयमा आउने गरेका छन् । त्यस्तै, प्र्रधान कार्यालयका काम गर्ने कर्मचारीलाई कार्यालय समयमा पनि कडाइ गरिएको छ । बिहान सवा १० बजेअघि नै कार्यालयमा उपस्थित हुनुपर्ने र पौने चारभन्दाअघि निस्कन नमिल्ने प्रावधान लागू गरिएको छ । ढिलो आउने र छिटो र्फकने प्रहरीलाई कारबाही गर्न थालिएको प्रधान कार्यालयले जनाएको छ । यसलाई व्यवस्थित गर्न प्रधान कार्यालयले विद्युतीय हाजिर प्रणाली तथा मास्टर कार्ड प्रयोगमा ल्याउने तयारी गरेको छ ।
|