|
नयाँ पत्रिका काठमाडौं, १२ पुस कर कार्यालयको नक्कली कागजपत्र बनाएको अभियोगमा पक्राउ परे पनि बिरामी परेको भन्दै नर्भिक अस्पतालको आरामदायी बेडमा बसेका गोविन्द संघाई बिहीबार हिँडेरै घर गएका छन् । पक्राउ परेको २२ दिनपछि संघाई दुई लाख धरौटीमा छुटेका हुन् । काठमाडौं जिल्ला अदालतले बिहीबार दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि अस्पतालको बेडबाट उठेर संघाई घरतिर हिँडेका हुन् । उनी पक्राउ परेलगत्तै बिरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए । पक्राउ परेको २२ दिन नै उनी नर्भिक अस्पतालको एक सय नौ नम्बरको 'सुइट'मा बसेका थिए । कर कार्यालयको नक्कली कागजपत्र बनाएको अभियोगमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले १९ मंसिरमा पक्राउ गरेको थियो । पक्राउ परेकै दिनदेखि उनी अस्पताल भर्ना भएका थिए । एक दिन पनि हिरासतमा नबसी नर्भिक अस्पतालको आरामदायी बेडमा बसेर उनी बिहीबार रिहा भएका हुन् । उनका कर्मचारी वीरेन्द्र अधिकारीलाई पनि जिल्ला अदालतले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । सरकारी वकिल कार्यालयले संघाईविरुद्ध ४३ लाख ५० हजार बिगो दाबी गरी गत सोमबार मुद्दा दायर गरेको थियो । दुग्ध विकास संस्थानको ९३ लाखको टेन्डर संघाईकै कारण रद्द भएकाले उनलाई त्यसको आधा बिगो दाबी गरिएको थियो । तर, अदालतले दुई लाख रुपैयाँमा नै उनलाई रिहा गर्ने आदेश दिएको हो । दुग्ध विकास संस्थानको टेन्डरका लागि उनले कर कार्यालयको किर्ते कागजात पेस गरेको छानबिनमा खुलेको थियो । स्रोतका अनुसार संघाई पक्राउ परेको थाहा पाएलगत्तै नर्भिक अस्पतालका डाक्टर रमेश चोख्यानी आएर उनलाई नर्भिक लिएर गएका थिए । संघाईको अवस्था सामान्य भए पनि अस्पतालले उनलाई डिस्चार्ज गर्न नमिल्ने बताएको थियो । दुग्ध विकास संस्थानको क्रेटको ठेक्काका लागि संघाईले त्यसरी कर तिरेको नक्कली कागजपत्र पेस गरेको राष्ट्रिय सतर्कता केन्द्रको उजुरीका आधारमा उनी पक्राउ परेका थिए । सरकारी टेन्डरमा प्रतिस्पर्धा गर्दा कुनै पनि कम्पनीले सम्पूर्ण कर चुक्ता गरेको हुनुपर्छ । संघाईले पनि संस्थानको स्याचेट क्रेट खरिदसम्बन्धी टेन्डरमा किर्ते कागजपत्र पेस गरेका थिए । सिआइबीका अनुसार उनले असारमै कर तिरेको नक्कली कागजपत्र बनाएका थिए । जब कि भदौमा मात्र उनले कर तिरेका थिए । बैंक अफ एसियादेखि सिटीसेन्टर, नेपाल लाइफ इन्सुरेन्सजस्ता कम्पनीका सञ्चालक संघाई नेपालका धनी व्यवसायीका रूपमा चिनिन्छन् । तर, २१ लाख कर तिरेको कागजपत्रसमेत उनले नक्कली बनाएका थिए । बिहीबार छुटेपछि उनी हिँडेरै घर जानुले पनि बिरामी नभईकन उनी अस्पतालमा बसेको पुष्टि भएको छ । गत सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीले संघाईबारे नर्भिक अस्पतालले कुनै जानकारी नै नदिई राखेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।
|
Comments
RSS feed for comments to this post