Thursday, May 23, 2013

बर्डफ्लुको जोखिम र सचेतनाको कमी पीडीएफ मुद्रण इमेल

पछिल्लो समयमा नेपालमा बर्डफ्लु संक्रमणको आतंक देखिएको छ । केही समयअघि धादिङको धार्केमा बर्डफ्लु भेटिएको पुष्टि भएदेखि नै सर्वसाधारणमा छाएको बर्डफ्लु आतंक राजधानीकै रामकोट र सीतापाइलाका कुखुरा फार्ममा पनि बर्डफ्लु भेटिएको पुष्टिसँगै झनै चर्केको छ । हुन त राजधानीमा बर्डफ्लु भेटिएको यो नै पहिलोपटक होइन । यसअघि भक्तपुरको मनोहरा खोलाकिनारको सुकुम्बासी बस्ती, ललितपुरको भैंसेपाटीलगायत क्षेत्रमा पटकपटक बर्डफ्लु संक्रमण भेटिएको थियो । अहिले फेरि काठमाडौंकै रामकोट र सीतापाइला क्षेत्रमा सो रोगको संक्रमण देखिएपछि राजधानीवासीमा चिन्ता थपिनु पनि स्वाभाविकै हो ।
सन् २००३ मा पहिलोचोटि चीनमा हजारौँ पक्षीको मृत्यु भएपछि तिनमा एच ५ एन १ जीवाणु देखिएको थियो । यही जीवाणुबाट संक्रमित एक पक्षीबाट अर्को पक्षीमा सर्ने रोगलाई नै बर्डफ्लु भन्ने गरिएको छ । पक्षीबाट पक्षीमा सर्ने रोग भए पनि विभिन्न कारणबाट बर्डफ्लु मान्छेमा पनि सर्न सक्छ र मान्छेमा सरेको अवस्थामा यस रोगले ज्यानैसमेत लिनसक्ने बताइन्छ । तर, नेपालमा हालसम्म मान्छेमा यो रोगको संक्रमण देखिएको छैन । कुखुरामा बर्डफ्लु संक्रमण भएको पाइएमा सबैभन्दा पहिले कुखुरा फार्ममा काम गर्ने कामदार, मासु विक्रेता वा वधशालामा काम गर्ने कामदारलाई रोग सर्ने बढी सम्भावना हुन्छ । कुखुराको मासुबाट मात्र यो रोग सर्ने नभई सुली, अन्डा, संक्रमित अन्डा राखेको क्रेटलगायत अनेक वस्तुको संसर्गबाट पनि यो रोग सर्न सक्ने खतरा रहन्छ ।
यो रोगबाट बच्ने उपाय भनेकै संक्रमित पक्षीको संसर्गबाट टाढै रहनु हो । खासगरी अस्वाभाविक रूपमा कुखुरा मरेको अवस्थामा बर्डफ्लुको संक्रमण भएको आशंका गरी सम्बन्धित निकायलाई समयमै सूचना दिने, संक्रमित पक्षी, तिनका अन्डा, सुलीलगायत सम्पूर्ण सामग्री विधिपूर्वक नष्ट गर्ने तथा संक्रमित फार्मलाई निर्मलीकरण गर्ने जस्ता उपाय अपनाउने हो भने यस रोगको संक्रमणको त्यति ठूलो डर नहुने विशेषज्ञले नै बताउने गरेका छन् । तर, हामीकहाँ त आफ्नो फार्मका कुखुरामा बर्डफ्लु लागेको शंका लाग्नासाथ सम्बन्धित निकायमा खबर गर्नुको साटो संक्रमित कुखुरालाई बजारमा पठाउने चाँजोपाँजो पहिले मिलाइन्छ । पछिल्लो समयमा रामकोटका व्यापारीको संक्रमित फार्मबाट रातारात हजारौँ कुखुरा गायब भएका घटनाबाट पनि यसको पुष्टि हुन्छ । व्यापारीले खाडल खनेर गाडेको तर्क गरे पनि सरकारबाट क्षतिपूर्ति पाउने हुँदाहुँदै सम्बन्धित निकायलाई थाहै नदिई एकाएक उनले कुखुरा नष्ट गरे भनेर पत्याउन कठिन छ । व्यापारीका यस्ता हर्कतले भने मान्छेमा बर्डफ्लु संक्रमणको उच्च जोखिम रहेको देखिन्छ ।
व्यापारीदेखि सर्वसाधारण उपभोक्तासम्म र सरोकारवाला सरकारी निकायदेखि स्वयं सरकारसम्म सबैले आवश्यक सतर्कता अपनाउने हो भने बर्डफ्लुको जोखिम सोचेजति खतरनाक छैन । तर, सबैले तैँ चुप मै चुप गर्दै संक्रमित पक्षीकै व्यापार गरिरहने हो भने यसको महामारी नफैलेला भन्न सकिन्न ।

 

Add comment


Security code
Refresh