|
कोलकाता/ भारतीय राज्य आसामको एक चिया बगानका मजदुरले सञ्चालककोे घरमा आगो लगाई सञ्चालक दम्पतीको हत्या गरिदिएका छन् । आक्रोशित सयौँ मजदुरले बुधबार राति तिनसुकिया जिल्लास्थित कुनापत्थर चिया बगानका सञ्चालक मृदुलकुमार भट्टाचार्यको घरमा आगजनी गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । आगजनीबाट बगान सञ्चालक मृदुल र उनकी पत्नी रीताको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, आक्रोशित मजदुरको भिडले बगान सञ्चालकका दुईवटा गाडीमा समेत आगजनी गरिदिएको समाचार छ । दुई हप्ताअघि बगान प्रशासनले बगानमा रहँदै आएका केही मजदुरलाई घर खाली गर्न निर्देशन दिएलगत्तै मजदुर र बगान प्रशासनबीच विवाद सुरु भएको प्रहरीले जनाएको छ । करिब सात सयको संख्यामा आएका चिया मजदुरले बगान सञ्चालकको घर घेरा हाली आगजनी गरिदिएको स्थानीय अधिकारी एसएस मिनाक्षी सुन्दरमले जनाएका छन् । मृतकको शव घरको भग्नावशेषबाट निकालिएको उनले जनाए । घटनामा संलग्न केही मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । कामदारले पनि स्थानीय टेलिभिजन च्यानलमा आक्रमण गरेको स्वीकार गरेका छन् । करिब दुई वर्षअघि मृदुल भट्टाचार्यद्वारा सञ्चालित अर्को एक चिया बगानमा पनि प्रशासक र मजदुरबीच झडप भएको थियो । बगान प्रशासकले महिला चिया मजदुरमाथि दुव्र्यवहार गरेको भन्दै प्रशासकमाथि आक्रमण गरेपछि झडप भएको थियो । झडपपछि सञ्चालक मृदुलले केही मजदुरमाथि गोली चलाएका थिए । गोली चलाएपछि आक्रोशित मजदुरले चिया बगानमा आगजनी गरिदिएका थिए । भारतको कुल चिया उत्पादनमा आसामको उत्पादनले ५५ प्रतिशत भाग ओगट्छ । आसाममा करिब आठ सय चिया बगान रहेका छन् ।
|