Friday, May 24, 2013

बलात्कृत भारतीय युवतीको उपचार सिंगापुरमा पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, १२ पुस
गत हप्ता भारतमा सामूहिक बलात्कारको सिकार भएकी युवतीलाई थप उपचारका लागि बिहीबार सिंगापुर लगिएको छ ।
भारतमा उपचार जारी रहे
पनि स्वास्थ्यमा सुधार हुन नसकेका कारण उनलाई सिंगापुर लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकको सल्लाहमा भारत सरकारले बिहीबार बिहान एयर एम्बुलेन्समार्फत उनलाई उपचारका लागि सिंगापुर लगेको हो । युवतीका साथमा एक चिकित्सकको टोली र परिवारका सदस्यसमेत सिंगापुर गएका छन् । युवतीको उपचार खर्च भारत सरकारले बेहोर्नेछ ।
हाल भारतीय दूतावासको रोहबरमा उनको सिंगापुरको सुविधासम्पन्न माउन्ट एलिजावेथ अस्पतालमा उपचार थालिएको प्राप्त समाचारमा उल्लेख छ ।
बलात्कारविरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन जारी छ । भारत सरकारले ती युवतीमाथिको बलात्कारका विषयमा विशेष छानबिन गर्न बुधबार आदेश दिएको छ । अवकाशप्राप्त न्यायाधीश उषा मेहेराको नेतृत्वमा छानबिन आयोग गठन गरिएको सरकारका वरिष्ठ प्रवक्ता तथा वित्तमन्त्री पी चिदाम्बरमले जनाएका छन् । आयोगले घटनामा प्रहरी, सरकारी अधिकारी वा अन्य कुन व्यक्तिको कमजोरी रहेको थियो भन्नेबारे छानबिन गर्ने
उनले बताए ।
त्यस्तै, आयोगअन्तर्गतको एक समितिले बलात्कारविरुद्धको हालको कानुनको अध्ययन गरी कानुन परिमार्जन आवश्यक रहे/नरहेकोबारे सरकारलाई सिफारिस गर्ने चिदाम्बरमले जनाएका छन् । छानबिन आयोगले ३० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
बलात्कारविरुद्धको प्रदर्शन बिहीबार पनि जारी छ । राष्ट्रपति भवनबाहिर भेला भएका विद्यार्थी तथा युवाले दोषीमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
त्यस्तै, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले सरकारको आलोचनासमेत गरेका छन् । युवतीको बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिइनुपर्ने मागसहित व्यापक रूपमा आन्दोलन चर्किएको छ ।
प्रदर्शनका क्रममा एक प्रहरीको ज्यान गएको छ भने सयभन्दा बढी घाइते भएको बताइएको छ ।

 

Add comment


Security code
Refresh