Tuesday, Jun 18, 2013< /p>

सप्तरीमा वर्षेनी दुई करोड युनिटभन्दा बढी विद्युत् चोरी पीडीएफ मुद्रण इमेल

रामनारायण विश्वास/नयाँ पत्रिका
सप्तरी, १२ पुस
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको गृहजिल्ला सप्तरीमै विद्युत् प्राधिकरणको लापरबाहीका कारण वर्षेनी दुई करोड युनिटभन्दा बढी विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणको राजविराजस्थित
वितरण केन्द्रका अनुसार पछिल्लो आवमा मात्रै सप्तरीमा २ करोड ५ लाख ३५ हजार २ सय ८२ युनिट विद्युत् चुहावट भएको छ ।
एक युनिटको ९ रुपैयाँका दरले सोही आवमा मात्रै  १८ करोड ४८ लाख १६ हजार ५ सय ३८ रुपैयाँ घाटा भएको हो ।
पाँच आवमा सप्तरीमा भएको विद्युत् चुहावटका कारण  झन्डै १ अर्ब ७ करोड १ लाख ५४ हजार ४ सय ५४ रुपैयाँ घाटा बेहोर्नुपरेको छ । बढ्दो चुहावट नियन्त्रण गर्न नसक्दा
प्राधिकरणले घाटा बेहोर्नु परेको हो । जिल्लामा विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणको
वितरण केन्द्र राजविराजले स्थानीय प्रहरीको सहयोगमा गतवर्षदेखि अभियान सुरु गरे पनि सफल हुन सकेको छैन ।
प्राधिकरण राजविराजका प्रमुख शम्भु कुसियत यादवले चुहावट नियन्त्रणमा कडाइ गरिँदै आएको दाबी गरे । उनले पछिल्लो आवमा विद्युत् चुहावट गर्नेबाट १७ लाख ३९ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । राजविराज नगरपालिकासहित सप्तरीका विभिन्न गाविसबाट विद्युत् चोर्ने ३८ जनालाई सोमबार प्रहरीको सहयोगमा विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले पक्राउ गरेको छ । प्राधिकरणका अनुसार सोमबार र आइतबार गरी झन्डै ५० जनालाई विद्युत् चोर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
राजविराजसहित जिल्लाका लौनिया, मुसहरिनिया, विषहरिया, देउरीभरुवालगायत गाविसबाट विद्युत्् चोरीमा संलग्न पक्राउ परेका छन् । पोलबाट सिधै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय उपकरणसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा र जफत गरिएका विद्युतीय उपकरण लिलामीका लागि प्राधिकरणमा राखिएको यादवले जानकारी दिए ।
चुहावट नियन्त्रणमा प्रयास गर्दै आए पनि एक्लै केही गर्न नसकिने उनको भनाइ छ । राजनीतिक दबाब र हस्तक्षेपका कारण चुहावट नियन्त्रण अभियान असफल हुँदै आएको यादवले दाबी गरे ।

 

Add comment


Security code
Refresh