Tuesday, May 21, 2013

बैंक तथा वित्तीय संस्थामा सञ्चालन जोखिम बढ्दो पीडीएफ मुद्रण इमेल

आशीष ज्ञवाली/नयाँ पत्रिका
काठमाडौं, १२ पुस
♦ एच एन्ड बी डेभलपमेन्ट बैंकका कुलेश्वर शाखाप्रमुख नीरज नेपालबाट ँगुड फर पेमेन्ट’ चेकबाट करोडौँ रकम अनियमितता
♦ बैंक अफ काठमाण्डूका दाङ शाखाका हेड क्यासियर खगेन्द्र बस्नेतको प्रमुख योजनामा लुटपाट
♦ हिमालयन बैंक आइटी शाखामा काम गर्ने अनिशभक्त सुवालबाट प्रविधि दुरुपयोग गरी ६ करोड रुपैयाँ अनियमितता
♦ नबिल बैंकको एटिएम विभागमा कार्यरत सविन रिमालबाट बैंक छाडेपछि पिन नम्बर चोरी गरी ४८ लाख अनियमितता

नेपालको बैंकिङ क्षेत्रमा माथि उल्लेख गरिएका घटना एक वर्ष अवधिमा भएका हुन् । एच एन्ड बी बैंकमा भएको चेककाण्डको एक महिना नपुग्दै दाङमा हेड क्यासियरको संलग्नतामा बैंक अफ काठमाण्डूको दाङ शाखामा लुटपाट भयो । बैंक तथा वित्तीय संस्थामा ऋणको जोखिमसँगै पछिल्लो समय सञ्चालन जोखिमसमेत बढ्दै गएको माथि उल्लेखित घटनाबाट पुष्टि हुन्छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्था प्रवाह गर्ने कर्जाबाट हुने जोखिम न्यू्नीकरणमा मात्र केन्दि्रत थिए । तर, पछिल्लो समय देखिएका घटनाले बैंक तथा वित्तीय संस्था सञ्चालन जोखिमलाई समेत न्यूनीकरण गर्नुपर्ने देखिएको नेसनल बैंकिङ टे्रनिङ इन्स्िटच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताए । 'सञ्चालन जोखिमका कारण बैंक तथा वित्तीय संस्थामा ठूलो जोखिम निम्तिन सक्छ,' उनले भने, 'धेरैथरीका कर्मचारीले काम गर्ने हुँदा उनीहरूलाई तालिमका माध्यमबाट जोखिम कम गराउन सकिन्छ । '
चारै वित्तीय संस्थामा अनियमितताका घटनामा संलग्न व्यक्ति ३० वर्षभन्दा मुनिका छन् । सबै घटना छिटो पैसा कमाउने उद्देश्यले घटेका देखिएका छन् । बैंक तथा वित्तीय संस्थामा माथिल्ला र तल्ला कर्मचारीबीच रहेको ठूलो असमान तलबका कारण पनि यस्ता घटना हुने देखिएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए ।
'बैंक तथा वित्तीय संस्थाको मुख्य आधार तल्लो तहका कर्मचारी हुन्,' उनले भने, 'काम धेरै गर्नुपर्ने भए पनि थोरै तलब हुने भएकाले यस्ता प्रवृत्ति देखिएका हुन् ।' अनियमितता गरेका चारवटै कर्मचारी बैंकमा जम्मा हुने निक्षेपसँग नजिक रहेर काम गर्ने हुन् ।
एच एन्ड बी बैंकका नेपाललाई अन्य कर्मचारीको तुलनामा बढी अधिकार थियो । बैंक अफ काठमाण्डूमा लुटपाट गर्ने बस्नेतलाई शाखामा जम्मा हुने निक्षेपको पूर्ण जानकारी हुन्थ्यो । हिमालयन र नबिलको घटना पछिल्लो समय बैंकले अपनाएका प्रविधि दुरुपयोग गरी भएको अनियमितता हो ।
बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म सञ्चालन जोखिमका विषयमा ध्यान पुर्‍याउन नसकेको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । 'सञ्चालन जोखिमका विषयमा हामीले ध्यान दिन सकेनौँ,' उनले भने, 'पछिल्ला घटनाबाट यसमा सचेत हुनुपर्ने पाठ सिकाएको छ ।'
राज्यले अवलम्बन गरेको आर्थिक उदारीकरणले वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच सहज बन्दै गए पनि सँगसँगै विकृतिसमेत बढ्न थालेको छ । हाल निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा ९ हजार कर्मचारी कार्यरत छन् । खासगरी दोस्रो जनआन्दोलनपछि बैंक तथा वित्तीय संस्थासँगै शाखा सञ्जालसमेत बढेका छन् ।
पछिल्ला घटनाले बैंक तथा वित्तीय संस्थाले कर्मचारी भर्नासँगै सञ्चालन जोखिमबारे उनीहरूलाई तालिमका माध्यमबाट जोखिम न्यूनीकरण गर्नुपर्ने देखिएको छ । शाखा विस्तारसँगै बैंक तथा वित्तीय संस्थामा अनुभव नभएका कर्मचारी नियुक्त गरिँदा सञ्चालन जोखिम बढ्ने किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तीले बताए । 'कर्मचारी नियुक्त भएसँगै उनीहरूलाई अनियमितता गरेपछि हुने कानुनी कारबाहीबारे जानकारी छैन,' उनले भने, 'छिटो धनी हुने कारणले यस्ता घटना घटेका देखिन्छन् । त्यसका लागि सचेतना आवश्यक छ ।'
सञ्चालन जोखिम न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउनुपर्ने राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीको सुझाब छ ।

 

Add comment


Security code
Refresh