|
काठमाडौं/ दोस्रो संस्करणको राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भैरहवाले बैतडीको सामना गर्ने भएको छ । अर्को खेलमा एपिएफले पोखराविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह 'ए' को अन्तिम खेलमा बिहीबार भैरहवाले विराटनगरलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । अर्को खेलमा काठमाडौंलाई ६१ रनले पराजित गर्दै एपिएफ समूह 'ए'को विजेता बन्यो । पुल्चोक इन्जिनियरिङ मैदानमा पहिलो ब्याटिङ गरेको भैरहवाले १९.२ ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको विराटनगर १४.२ ओभरमा ४० रनमा समेटियो । पहिलो ब्याटिङ गरेको भैरहवाको सुरुवात खराब रह्यो । राष्ट्रिय टोलीका ओपनर फैजर रहमान खान र सागर पुनको जोडीले पहिलो विकेटका लागि ६ रनमा जोड्यो । त्यसपछि सागर र सुभाष प्रधानले दोस्रो विकेटका लागि ५९ रनको गतिलो साझेदारी गरेका थिए । सुभाषले ४६ बलमा पाँच चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५४ रनको योगदान दिएका थिए । सागरले २६ बलमा पाँच चौका ठोक्दै २७ रन बटुले । विराटनगरका राजकुमार प्रधानले ३.२ ओभरमा दश रन खर्चेर सर्वाधिक पाँच विकेट लिँदा भैरहवाको मध्य तथा पुछारका ब्याट्सम्यान सस्तै रनमा आउट भए । इनिङको एक समय भैरहवा ८६-३ को बलियो अवस्थामा थियो । भैरहवाले अन्तिम सात विकेट ४० रनको अन्तरमा गुमायो । विराटनगरका ब्याट्सम्यानले कृष्ण कार्की -३) र लालबहादुर अधिकारी -२) का घातक बलिङ सामना गर्न सकेनन् । इनिङको तेस्रो बलमै विराटनगरले ओपनर ब्याट्सम्यान महेबुब आलमलाई एक रनमा गुमाएको थियो । सो इनिङमा मनोज मण्डलले सवाधिक १२ रन जोडे । अर्को खेलमा एपिएफले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर १७६ रनको विशाल योगफल खडा गर्यो । एपिएफका लागि सुभाष खकुरेलले ६४ बलमा सर्वाधिक ९३ रनको योगदान दिएका थिए । उनले ९ चौका र दुई छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले ४२ बलमा एक छक्का र ६ चौकाका साथ ६९ रन बटुले । प्रत्युत्तरमा काठमाडौंले २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र जोड्यो । काठमाडौंका लागि राजेश पुलामीले ४३ बलमा पाँच चौका र २ छक्का हिर्कार्र्एर ५३ रनको योगदान दिए ।
|