|
नयाँ पत्रिका काठमाडौं, १२ पुस थ्री स्टार क्लब सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा पुनः शीर्ष स्थानमा उक्लिएको छ । नवौँ चरणको खेलमा बिहीबार दशरथ रंगशालामा विभागीय टोली एपिएफलाई २-० ले पराजित गर्दै थ्री स्टार शीर्ष स्थानमा उक्लेको हो । ०६१ को विजेता थ्री स्टारले २२ अंक बटुलेको छ । एपिएफ नौ खेलबाट १२ अंक बटुल्दै १२औँ स्थानमा रह्यो । थ्री स्टारले रानीपोखरी कर्नर टिम (आरसिटी)लाई दुई अंकले पछि पारेको छ । आरसिटी २० अंकका साथ दोस्रो स्थानमा छ । उत्कृष्ट लयमा प्रदर्शन गरिरहेको आरसिटीले बुधबार बाँसबारी फुटबल क्लबसँग २-० को हार बेहोर्दा थ्री स्टारलाई प्रत्यक्ष फाइदा पुगेको हो । थ्री स्टारले एपिएफविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको थ्री स्टारले पहिलो हाफमा दुई गोल गरेको थियो । जसमध्ये एक एपिएफका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको आठौँ मिनेटमा अपि|mकन स्ट्राइकर एदिउमी फेमीले थ्री स्टारलाई १-० ले अघि बढाएका थिए । विक्रम लामाको लामो पि|mकिकमा फेमीले डिबक्सभित्रैबाट 'वान टच'मै गोल गरेका थिए । सुरुवातमै गोल गरेको थ्री स्टारले केही समय आक्रामक खेल प्रस्तुत गर्यो । २०औँ मिनेटमा थ्री स्टारले आत्मघाती गोल उपहार पार्यो । विजय गुरुङले डिबक्सनजिकबाट प्रहार गरेको बल एपिएफका सरोज कोइरालासँग ठोक्किएर गोलमा परिणत हुन पुगेको थियो । आत्मघाती गोलसँगै थ्री स्टारले पहिलो हाफको खेलमा २-० को अग्रता बनाइराख्यो । थ्री स्टारले पहिलो हाफको तुलनामा दोस्रो हाफमा भने बिर्सनलायक प्रदर्शन गर्यो । लगातार तीन पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्ध फुकुवापछि मैदानमा देखिएका स्ट्राइकर सन्तोष साहुखलले ३-४ गोल अवसर खेर फाले । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको एपिएफले पनि गोल अवसर सदुपयोग गर्न नसक्दा खेलमा महत्त्वपूर्ण तीन अंक गुमायो । चोटग्रस्त स्ट्राइकर गणेश लावतीविना नै मैदानमा उत्रिएको एपिएफले दोस्रो हाफमा केही राम्रो गोल अवसर सिर्जना गरे पनि स्ट्राइकर र मिडफिल्डरले सदुपयोग गर्न सकेनन् । खेलपछि एपिएफका प्रशिक्षक जनक सिंहले खेलाडीहरूले अवसर सदुपयोग गर्न नसकेको स्वीकार गरे । उनले टोलीमा गणेशको अभाव महसुस भएको बताए । एपिएफका प्रशिक्षक सिंहले भने, 'पहिलो हाफको तुलनामा दोस्रो हाफको खेलमा निकै परिवर्तन थियो, तर खेलाडीहरूले अवसर सदुपयोग गर्न सकेनन्, गणेशको अभाव देखिएको छ ।' प्रशिक्षक सिंहले थ्री स्टारसँगको खेल दबाबमा प्रतिस्पर्धा गरेको बताए । थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले एपिएफविरुद्धको खेलमा खेलाडीले 'ओभर कन्पिmडेन्स' देखाएको बताए । 'खेलाडीहरूले सुरुवातमै गोल गरेपछि ओभर कन्पिmडेन्स भए,' उनले भने, 'त्यसैले दोस्रो हाफको खेलमा बिर्सनलायक प्रदर्शन देखियो ।'
जावलाखेल नवौँ स्थानमा
लगातार दोस्रो खेलमा जित हात पार्दै जावलाखेल युथ क्लब लिग अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ । जावलाखेलले तेस्रो जित हात पार्ने क्रममा बिहीबार सरस्वती युथ क्लबलाई २-० ले पराजित गर्यो । नवौँ स्थान रक्षा गर्दा जावलाखेलले ११ अंक जोडेको छ । बिहीबार दोस्रो खेलमा जावलाखेल र सरस्वतीले पहिलो हाफमा गोलको अवसर गुमाएका थिए । दोस्रो हाफको खेलमा जावलाखेल सरस्वतीमाथि हाबी भयो । जावलाखेलले खेलको ५१औँ मिनेटमा जुमा बेन्लीको गोलबाट अग्रता लियो । अपि|mकन स्ट्राइकर जुमाले सरस्वतीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै जावलाखेललाई खेलमा अगाडि राखेका थिए । जावलाखेलले खेलको ६७औँ मिनेटमा अर्काे गोल गर्यो । यसपटक स्ट्राइकर राज पौडेलले गोल गरे । पराजयपछि सरस्वती रेलिगेसनको दबाबमा परेको छ । सरस्वती नौ खेलपछि ८ अंकका साथ लिगको १३औँ स्थानमा छ । सरस्वतीभन्दा अगाडि रेलिगेसनमा रहेको मध्यपुरको सात अंक छ । मध्यपुरले नवौँ चरणमा जित हात पारे सरस्वती रेलिगेसन जोनमा पर्नेछ । खेलपछि सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, 'खेलाडीहरूले एकदमै राम्रो खेलेे, धेरै राम्रा गोल अवसर थियो, तर अवसर सदुपयोग गर्न नसक्दा तीन अंक गुम्न पुग्यो ।' यता जावलाखेल प्रशिक्षक किशोर केसी भने जितपछि खुसी देखिए । उनले भने, 'मेरो योजना टोलीलाई रेलिगेसनबाट बचाउने हो, उपाधि जित्ने होइन, योजनाअनुसार नतिजा आइरहेकाले खुसी छु ।'
|