|
नयाँ पत्रिका सप्तरी, १२ पुस बढ्दो चिसोका कारण सप्तरीमा दुई सातामा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा तीन बृद्ध छन् । सप्तरीको बरही वीरपुर गाविसका ६० वषर्ीय हीरालाल यादव र दौलतपुर-८ का ४६ वषर्ीय झल्लु रामको मृत्यु भएको हो । मोहनपुर र बैरवाका एकएकजनाको मृत्यु भएको बिहीबार जिल्ला प्रहरी कार्यालयमा सूचना आएको छ । दुवै वृद्ध भए पनि विस्तृत विवरण नआएको प्रहरीको भनाइ छ । चिसोले बालबालिका र वृद्ध बढी प्रभावित हुने गरेको राजबिराजस्थित सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । दैनिकजसो २० देखि २५ जना बालबालिका तथा पाँचजना वृद्धवृद्धा उपचारार्थ भर्ना हुने गरेको अस्पताल आकस्मिक विभागका इन्चार्ज लालकिशोर सिंहले बताए । अस्पताल भर्ना भएका बालबालिका र वृद्धवृद्धामा कोल्ड डायरिया, निमोनिया, कोल्ड ज्वरो, टाइफाइड, टान्सिल आदि रोगका लक्षण देखा परेको छ । सदरमुकाम राजबिराजबाहेक जिल्लाको कञ्चनपुर, हनुमाननगर, कल्याणपुर, भारदह, तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा निजी अस्पतालमा समेत ठन्डीले सिकिस्त भई उपचार गराउन आउनेको संख्यामा वृद्धि भइरहेको छ । चिसो बढे पनि सदरमुकाम राजबिराजसहित जिल्लाका कुनै पनि ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छैन । बिहानैदेखि लाग्ने बाक्लो कुहिरो र चिसो हावाले विद्यालय जाने बालबालिका बढी प्रभावित हुने गरेका छन् । यसअघि प्रशासनले विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाउने गरेको थियो । जाडोले गतवर्ष सप्तरीमा दुई दर्जनको मृत्यु भएको थियो । रातिदेखि एक्कासि चल्ने चिसो हावा र बिहानैदेखि लाग्ने गरेको बाक्लो कुहिरोले सर्वसाधारणलाई घरबाट बाहिर निस्कनसमेत कठिनाइ भइरहेको छ । सदरमुकाम राजबिराजसहित जिल्लाका अन्य बजार क्षेत्रका व्यापारी दिनभर आगो ताप्नमै व्यस्त देखिन्छन् ।
|