Wednesday, May 22, 2013

ट्राफिकको आचरण सुधार्न पहल पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १२ पुस
ट्राफिक प्रहरीले सवारीचालकलाई गर्ने रुखो व्यवहार सुधार्न प्रहरीले पहल थालेको छ । प्रहरीको आचरण सुधार गर्न तालिम सुरु गरिएको छ ।
महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले 'ट्राफिक प्रहरी आचरण तथा व्यवहार सुधार'सम्बन्धी अनुशिक्षण तालिमको बिहीबार उद्घाटन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तालिम सुरु गरेको हो । ६ दिनसम्म सञ्चालन हुने सो तालिमको उद्देश्य मुस्कानसहित सेवा दिने रहेको महाशाखाले
जनाएको छ ।
सो अवसरमा एआइजी ढकालले ट्राफिक प्रहरीले स्वदेशी तथा विदेशी नागरिकसँग व्यवहार गर्नुपर्ने भएकाले संगठनले ट्राफिक प्रहरीलाई राजदूतका रूपमा हेरेको र ट्राफिक प्रहरीको व्यवहार र प्रस्तुति राम्रो हुनुपर्नेेमा जोड दिए ।
प्रहरीको कार्यक्षमताभन्दा पनि बोलीको कारणले जनगुनासो बढेकाले संगठनप्रति नै नकारात्मक धारणा आउने उनको भनाइ थियो ।
सो कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ट्राफिक प्रहरी र आम सडक प्रयोगकर्ताबीचको दूरी कम गर्न तालिमको व्यवस्था गरिएको उल्लेख गरे । तालिमपछि ट्राफिक प्रहरीको आचरण र व्यवहारमा सुधार आउने उनको अपेक्षा छ ।
उद्घाटन समारोहमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक लव विष्टले कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजीव घिमिरे, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष अजय राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरलगायतले मन्तव्य राखेका थिए ।

 

Add comment


Security code
Refresh