Thursday, Jun 20, 2013< /p>

प्लास्टिकको पेस्तोल देखाएर बैंक लुटिएको खुलासा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १२ पुस
दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालय नक्कली पेस्तोल देखाएर लुटिएको खुलेको छ । प्रहरीले शुक्रबार भएको घटनामा आबद्ध सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
बैंककै कर्मचारीको योजनामा बैंक लुटिएको सो घटनाका सबै अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । बैंकको तलुसीपुर शाखाका हेड क्यासियर खगेन्द्र बस्नेत, उनका चालक अमर महरा, बस्नेतका फुपूका छोरा सुशील रोकायसहितका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । बस्नेत र महराबाहेक अन्यलाई सिआइबीको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बस्नेतले बैंक डकैतीका लागि तीनजना पेसेवर व्यक्तिलाई लगाएको खुलेको छ । पहिलेदेखि नै विभिन्न डकैतीमा संलग्न रहेका गोरखाका प्रकाश परियार, रामेछापका प्रेम तामाङ र मिनुर तामाङलाई सिआइबीले पक्राउ गरेको हो ।
सिआइबीका एसएसपी उत्तम कार्कीका अनुसार बैंकमा आफूले गरेको आर्थिक अनियमितता ढाकछोप गर्न नै कर्मचारी बस्नेतले डकैतीको योजना
बनाएका थिए ।
त्यसका लागि फुपूका छोरा रोकायको सहयोगमा परियारको समूहलाई डकैतीमा प्रयोग गरिएको थियो । दुई महिनाअघि डकैतीको योजना बनाएका बस्नेत त्यसको कार्यान्वयनका लागि छलफल गर्न २९ मंसिरमा दाङबाट काठमाडौं आएका थिए । त्यसको भोलिपल्ट परियारको समूहसँग बबरमहलस्थित रातो भाले रेस्टुरेन्टमा खाना खाई दक्षिणकाली पुगेर बाटोमा नै योजना सुनाएका थिए । सो समूहलाई उनका भाई रोकायले भेटाएको अनुसन्धानमा खुलेको छ । परियारको समूहलाई सहमत गराई बस्नेत त्यही दिन दाङ फर्किएका थिए ।
भोलिपल्ट बस्नेतका भाई रोकाय र परियारको समूह मिलेर महाबौद्धबाट दुईवटा नक्कली पेस्तोल र झोला किनेका थिए । सोही दिन दाङ गएका उनीहरू घोराहीस्थित एन्जिला होटलमा बसेको प्रहरीले जनाएको छ । त्यसको दुई दिनपछि अर्थात् ३ पुसमा उनीहरू बैंकमा पुगेर थप जानकारी लिएका थिए ।
सुरुमा उनीहरूले ६ पुसमा नै डकैतीको योजना बनाएका थिए । तर, सो दिन बैंकका अन्य गार्डहरूसमेत सो शाखामा ज्याकेट लिन गएकाले उनीहरूको योजना असफल भएको हो । त्यसको दुई दिनपछि अर्थात् ६ गते साँझ भने उनीहरू सफल भएका थिए ।
एसएसपी कार्कीका अनुसार हेड क्यासियर बस्नेतले बैंकमा गरेको करोडभन्दा बढी अनियमितता लुकाउन त्यसरी डकैती गराएका थिए । त्यही कारण करिब ८७ लाख मात्र डकैती भए पनि उनले दुई करोड ६ लाख डकैती भएको हिसाब देखाएका थिए ।

यसरी परे फन्दामा

सिआइबीका अधिकारीका अनुसार बैंकका कर्मचारी बस्नेतले डेढ वर्षयता रकम हिनामिना गर्दै आएका थिए ।
थोरै/थोरै गर्दै झन्डै एक करोड रुपैयाँ अनियमितता गरिसकेपछि रकम फिर्ता गर्न नसक्ने अवस्थामा उनी पुगेका थिए । त्यसकारण बैंकमा डकैती गराउने र हिनामिना भएको रकम डकैती भएको बताएर अनियमिततालाई गुपचुपमै राखी अन्त्य गराउने उनको योजना थियो ।
काठमाडौंमा रहेका भाइ पर्ने एक व्यक्तिमार्फत उनले डकैतीका लागि आवश्यक व्यक्ति खोजेका थिए । विभिन्न व्यक्तिसँग छलफल गरेकोमा पहिलाका केही व्यक्तिहरूलाई उनले अस्वीकार गरेका थिए । पछि कर्मचारीकै मिलेमतो हुने भएकाले कुनै डर पनि नहुने भन्दै उनले एक समूहलाई तयार बनाई दाङ बोलाएका थिए । त्यसका लागि अघिल्लो शनिबार उनले काठमाडौंमै आई सो समूहसँग वार्तासमेत गरेका थिए ।
डकैती भएको दिन सन्ध्याकालीन काउन्टरको समयमा बैंकमा तीनजना मात्र थिए । शाखाप्रबन्धक ऋषिकैलाश श्रेष्ठ, हेड क्यासिर बस्नेत र सुरक्षा गार्ड प्रेम नेपाली ।
सुरुमा बैंक डकैती गर्न गएका व्यक्तिले पैसा जम्मा गर्न गएको बहाना बनाए । उनीहरूले आफूले लगेको पैसा गन्न सुरक्षागार्डलाई समेत लगाएका थिए । गार्ड पैसा गन्न लागेका वेला दुईजनाले पेस्तोल निकाली तीनैजनालाई नियन्त्रणमा लिई कोठामा लगेर थुनेका थिए । त्यसरी नियन्त्रणमा लिने क्रममा क्यासियर बस्नेतको व्यवहार सामान्य थिएन । पेस्तोल देखाएका व्यक्तिहरूले सोध्दै नसोधी उनले सेफ भएको ठाउँ उनीहरूलाई देखाएका थिए । जसअनुसार चार युवक बैंकमा भएको करिब ८७ लाख रुपैयाँ नगद र चेकहरू लिई भागेका थिए । ६ बजेको समयमा डकैती भएको बताइए पनि आठ बजेमात्र प्रहरीलाई खबर गरिएको थियो । मोबाइल खोसेर आफूहरूलाई कोठामा थुनिएको र शाखाप्रबन्धककी श्रीमती खोज्दै आएपछि मात्र प्रहरीलाई खबर भएको उनीहरूले बताएका थिए । डकैती गर्न गएका युुुवकले तीनैजनाको हात बाँधी मुखमा पट्टी लगाएका थिए ।
डकैतीमा संलग्न युवाहरूलाई भगाउन र पैसा ओसार्न गाडीको व्यवस्थासमेत बस्नेत स्वयंले गरेका थिए । स्रोतका अनुसार आफ्नो गाडी दुर्घटनामा परेर बिगि्रएपछि उनले साथी तीर्थराम शर्माको बा.७च ३६८५ नम्बरको कार लिएका थिए । सोही कारमा कुमारी बैंकमा कार्यरत चालक बोहराले पैसा लगेर आफ्नो कोठामा राखेका थिए । डकैतीमा संलग्न चारजना भने पेस्तोल फालेर दुईवटा बस चढेर काठमाडौं आए ।
भनिन्छ अपराधीले कुनै न कुनै ठाउँमा अपराधको प्रमाण छोड्छ । बस्नेतले भने धेरै ठाउँमा प्रमाण छाडेका थिए । प्रहरीलाई ढिलो खबर गर्नु तथा डकैतीको वेला क्यासियर बस्नेतको असामान्य व्यवहारले घटनामा बैंककै कर्मचारीको मिलेमतोको आशंका गरिएको थियो । बैंकको सिसिटिभीसमेत बन्द हुनुले पनि थप आशंका बढाएको थियो ।
त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दा बस्नेतको संलग्नता खुलेको थियो । उनको चालकको कोठामा लुटिएको रकम भेटिएपछि उनको संलग्नताको पुष्टि भएको हो ।
घटनामा संलग्न परियार यसअघि पनि ०६६ मा महाराजगन्जस्थित डालिमा मनी एक्सचेन्जमा डकैती गर्ने फरार अभियुक्त हुन् । उनले गत शुक्रबार पनि डकैती भएको रकममध्ये एक लाख आफूले लिएका थिए । सो रकम उनले आमाबुबालाई दिएका थिए ।

 

Comments   

 
0 #1 N karkee 2012-12-28 14:06
Thanks to Nepal police, I would like to appreciate the policeman who were deployed to investigate the matter. Government and Nepal police organization should also reward the police personnel who were deployed. Of course , the suspects must be punished at maximum level.The bank managers should take some knowledge fro this incident.
Quote
 

Add comment


Security code
Refresh