Wednesday, Jun 19, 2013< /p>

अख्तियारमा महाशाखा प्रमुखसहित ६२ जनाको जिम्मेवारी हेरफेर पीडीएफ मुद्रण इमेल

सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, १२ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विभिन्न महाशाखा प्रमुखसहित ६२ जनाको जिम्मेवारी हेरफेर गरिएको छ ।
अख्तियारका सचिव गणेशराज जोशीले विभिन्न ६ वटा अनुसन्धान महाशाखा, मुद्दा महाशाखा, प्रशासन महाशाखा तथा योजना महाशाखासहित नौवटा महाशाखा प्रमुखसहित ६२ जनाको जिम्मेवारी परिवर्तन गरेका हुन् । अख्तियारमा ११ वटा महाशाखा रहेका छन् । तीमध्ये प्रहरी महाशाखा र विशेष अनुसन्धान कार्यदलबाहेक सबै महाशाखाका प्रमुखको फेरबदल गरिएको हो ।
अख्तियार सचिव जोशीले सम्बन्धित विषयको दक्षता, योग्यता र विशेषज्ञताकै आधारमा जिम्मेवारी हेरफेर गरिएको जानकारी दिए । 'अब नयाँ योजना र लक्ष्यका साथ अघि बढ्ने उद्देश्यले आन्तरिक रूपमा व्यवस्थापन गरेको हँु,' जोशीले नयाँ पत्रिकासँग भने ।
उनले भ्रष्टाचार नियन्त्रण गर्ने कार्य निकै चुनौतीपूर्ण भए पनि आफ्ना कर्मचारीको टिमलाई दक्ष बनाएर भ्रष्टाचार निवारण गर्ने कार्यमा अघि बढ्ने योजना बनाइएको जानकारी दिए । अख्तियारका तत्कालीन सचिव भगवतीकुमार काफ्ले सेवानिवृत्त भएपछि सरकारले झन्डै दुई महिनाअघि मात्रै अख्तियारको सचिवमा जोशीलाई पठाएको थियो ।
अख्तियारका अनुसार १ नम्बर महाशाखा प्रमुख सहन्यायाधिवक्ता राजेन्द्र पोखरेललाई ४ नम्बर महाशाखामा सरुवा गरिएको छ भने मुद्दा महाशाखाका सहन्यायाधिवक्ता गणेश अर्याललाई १ नम्बर महाशाखामा सरुवा गरिएको छ । १ नम्बर महाशाखाले भूमिसुधार, सिँचाइ, ऊर्जा, लोकसेवा आयोग तथा अन्य संवैधानिक निकायमा भएका अनियमितता सम्बन्धमा छानबिन र अनुसन्धान गर्छ ।
यसैगरी २ नं. महाशाखा प्रमुख रहेका सहसचिव भूपेन्द्र पौडेललाई ५ नम्बर महाशाखामा सरुवा गरिएको छ भने २ नम्बर महाशाखामा सहन्यायाधिवक्ता चिरञ्जीवी खनाललाई ल्याइएको छ । खनाल ४ नम्बर महाशाखामा थिए । २ नम्बर महाशाखाले कृषि, वातावरण, सहकारी, स्थानीय विकासलगायतका निकायमा भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन र अनुसन्धान गर्ने गरेको छ भने ५ नम्बर महाशाखाले अर्थ, श्रम र महालेखामा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्छ ।
३ नम्बर महाशाखामा ६ नम्बर महाशाखाका बद्री गौतमलाई ल्याइएको छ भने ३ नम्बर महाशाखा प्रमुख रहेका ऋषि दवाडीलाई ६ नम्बर महाशाखामा सरुवा गरिएको छ । ३ नम्बर महाशाखाले गृह, परराष्ट्र, वनलगायतका निकायमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्छ भने ६ नम्बर महाशाखाले शिक्षा, पर्यटन तथा नागरिक उड्ययनलगायतका निकायमा भएको अनियमितता
छानवीन गर्छ ।
सहन्यायाधिवक्ता समीर सिलवाललाई मुद्दा महाशाखामा सरुवा गरिएको छ । ५ नम्बर महाशाखा प्रमुख रहेका सहसचिव प्रेमकुमार राईलाई प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ भने प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद ढुंगानालाई योजना महाशाखा प्रमुखमा सरुवा गरिएको छ । योजना महाशाखा प्रमुख तथा प्रवक्ता ईश्वरीप्रसाद पौड्यालको यसअघि नै खानेपानी विभागको महानिर्देशकका रूपमा सरुवा भएपछि योजना महाशाखा रिक्त रहँदै आएको थियो ।
अख्तियारको प्रहरी महाशाखा प्रमुखका रूपमा रहेका डिआइजी बीरेन्द्रबाबु श्रेष्ठ र विशेष अनुसन्धान कार्यदल प्रमुख सहन्यायाधिवक्ता श्रीधर सापकोटालाई भने यथावत् राखिएको छ ।

"भ्रष्टाचार रोक्ने कार्य चुनौतीपूर्ण"

अख्तियारका कार्यबाहक प्रमुख आयुक्तको समेत जिम्मेवारी पाएका सचिव गणेशराज जोशीले भ्रष्टाचार र अनियमितता रोक्ने कार्य निकै कठिन र चुनौतीपूर्ण रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण कार्य चुनौतीपूर्ण रहे पनि आफूहरू भ्रष्टाचार र अनियमितता रोक्न दत्तचित्त भएर लाग्ोको उनको भनाइ छ । 'भ्रष्टाचार रोक्न एक्लो प्रयासले कठिन छ, सबै पक्षको सहयोग र साथ हुनुपर्छ,' सचिव जोशीले भने ।
लामो समयदेखि पदाधिकारी नभएकाले पनि काम गर्न कठिन भएको उनले बताए । जोशीले अख्तियारमा आन्तरिक व्यवस्थापन गरि आफू भ्रष्टाचार नियन्त्रणमा नयाँ योजनाका साथ अघि बढेको जानकारी दिए । नेतृत्वमा राजनीतिक प्रतिबद्धता तथा सार्वजनिक पदमा बसेकामा इमानदारिता र नैतिकताको विकास नहुँदासम्म भ्रष्टाचार नरोकिने उनले बताए । सचिव जोशीले स्थानीयस्तरमा हुने भ्रष्टाचार र अनियमितता स्थानीयस्तरमा नै रोक्न सकिने बताए । उनले शिक्षा, स्वास्थ्य, वन र स्थानीय निकायका तल्लो तहमा अत्यधिक अनियमितता हुने गरेको पाइएको जनाए ।
गाविससचिवले गरेको अनियमितता जिल्ला विकास समितिले, अहेवलगायतका स्वास्थ्यकर्मीले गरेका अनियमितता क्षेत्रीय स्वास्थ्य निर्देशनालय र वन कर्मचारीले गरेका अनियमितता क्षेत्रीय वन निर्देशनालयले नै कडाइका साथ हेरिदिएमा धेरै हदसम्म भ्रष्टाचार कम हुने सचिव जोशीको भनाइ छ । उनले गाउँमा भएको भ्रष्टाचारमा कारबाही गराउन सामान्य व्यक्ति अख्तियारसम्म आउन नपरोस् भन्ने उद्देश्यले प्रशासन कार्यालयलगायतका निकायलाई बढी प्रभावकारी र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याए ।

 

Add comment


Security code
Refresh