Thursday, May 23, 2013

खोलामा बस खस्दा सुर्खेतमा १५ को मृत्यु पीडीएफ मुद्रण इमेल

गणेशकञ्चन भारती/नयाँ पत्रिका
दशरथपुर (सुर्खेत), १३ पुस
सुर्खेतको दशरथपुर र कल्याणको बीचमा पर्ने गमखोलामा शुक्रबार बिहान बस खस्दा १५ जनाको निधन भएको छ । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् ।
गुमीबाट सदरमुकाम वीरेन्द्रनगरतर्फ ४५ यात्रु बोकेर आउँदै गरेको ना२ख ५७४१ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ४० मिटर तल खोलामा खसेको थियो ।
घटनास्थलमा १३ जनाको मृत्यु भएको थियो भने लेखफर्सा- ९ की बुद्धिकला फौजाको उपचार गर्दागर्दै क्षेत्रीय अस्पताल कालागाउँमा र चालक ललित भण्डारीको नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा नेपाली सेनाका जमदार मानबहादुर गाहा र चण्डीका गण पाल्पामा कार्यरत गजेन्द्र गुरुङको मृत्यु भएको छ । मृतकको शव शुक्रबार नै स्थानीय दशरथपुर स्वास्थ्यचौकीमा पोस्टमार्टम गरेर आफन्तले बुझेका छन् ।
गम्भीर घाइते आठजनाको नेपालगन्ज र १७ जनाको क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते उपचारपछि घर फर्किएका छन् । गाडीले गुमीबाट कति जना यात्रु लिएर आएको थियो भन्नेबारे केही खुलेको छैन । गुमीबाट भन्दा बीचबाटोबाट धेरै यात्रु चढेको घाइतेले बताएका छन् ।
घटनामा सामान्य घाइते भएका कल्याणका दुई बालकले खबर गरेपछि स्थानीय उद्धारका लागि पुगेका थिए । एकीकृत माओवादी सुर्खेतले शुक्रबारै एक विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।

ब्रेकफेलका कारण दुर्घटना : प्रहरी

ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बसको स्पि्रङ पट्टा टुटेको र ब्रेकफेल भएर चालकले गाडी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको पाइएको जनाएको छ । गाडी पुरानो मोडेलको भएको र बस व्यवसायी समितिले थोत्रा गाडीहरू कच्ची र अप्ठ्यारोमा चलाउने, नयाँ र स्थिति ठीक भएका गाडीहरू पक्की बाटोमा चलाउनुको परिणाम यो दुर्घटना भएको ट्राफिक इन्चार्ज कृष्ण सापकोटाको भनाइ छ । 'बाटो खुला र सजिलो भएको अवस्थामा पनि गाडी दुर्घटना भएको हो,' सापकोटाले भने, 'चालक बसेको साइडभन्दा विपरीत दिशाबाट गाडी खसेकाले चालकको लापरबाहीभन्दा बसको खराबीले दुर्घटना भएको हो ।' यता, मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतका अध्यक्ष विष्णु खड्काले पनि बसको खराबीका कारण दुर्घटना भएको बताए ।

समयमै उद्धार भएको भए मर्नेको संख्या कम हुन्थ्यो : स्थानीय

स्थानीयवासीले बस दुर्घटनापछि घटनास्थलमा उद्धार टोली ढिला जानु र घाइतेले समयमै उपचार नपाएका कारण पनि मृत्यु हुनेको संख्या बढेको जनाएका छन् । उद्धारमा संलग्न शिक्षक नारायणदत्त तिवारीले घटना भएको एक घन्टापछि मात्रै प्रहरीको उद्धार टोली घटनास्थलमा पुगेको बताए । त्यसभन्दाअघि नेपाली सेनाको दशरथपुरमा रहेको एउटा टुकडी र स्थानीयले उद्धार गरेका थिए । स्थानीयका अनुसार घटनास्थलमा बस दुर्घटना भइसकेपछि धेरैजनाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । 'हामीलाई बचाउनूस्' भन्दै बसभित्रवाट घाइतेहरू चिच्याइरहेका थिए, हामीले सक्नेजति गर्‍यौँ,' तिवारीले भने, 'बसबाट झिकेर बाटोमा राखिरहेको अवस्थामा पाँचजनाको ज्यान गयो ।' उनले घटनास्थलमै घाइतेको उपचार गर्ने व्यवस्था मिलाइएको भए पनि कम्तीमा पाँचजना बाँच्न सक्ने अवस्था रहेको बताए ।
सदरमुकामबाट एम्बुलेन्स र प्रहरीको गाडी घटना भएको एक घन्टापछि घटनास्थल पुगेका थिए । घटनास्थल सदरमुकाम वीरेन्द्रनगरबाट २५ किलोमिटर मात्र टाढा रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि कच्ची बाटो भएका कारण समयमै एम्बुलेन्स र आफूहरू घटनास्थलमा आउन नसकेको बताएको छ । 'हामीले खबर पाउनसाथ एम्बुलेन्स र सबै गाडी उद्धारमा पठाएका थियौँ,' सुर्खेतका एसपी विश्वनिरञ्जन प्रधानले भने, 'बाटो कच्ची र अप्ठ्यारो भएकाले घटनास्थलमा एम्बुलेन्स आउन र बिरामीलाई अस्पताल पुर्‍याउँदा धेरै समय लाग्यो ।'

एकैपटक बस खोलामा बजारियो : घाइते


आज -शुक्रबार) दिउँसो हुने भलिबल प्रतियोगिताका लागि हामी साटाखानीको चौरासे जाँदै थियौँ । दशरथपुर बजारबाट मलगायत ६ जनाको हाम्रो टिम बसमा चढ्यो । बस ओरालोमा गुडिरहेको थियो, चढेको पाँच मिनेट मात्रै भएको थियो, एक्कासि बसले बाटो छोड्यो, हामी चिच्यायौँ, एकैपटक बस खोलामा बजारियोे । सबै कराइरहेका थिए । मेरोनजिकै बसेको हाम्रो भलिबल टिमका साथी मानबहादुर गाहा चिच्याइरहेका थिए । उनलाई गाडीले च्यापिरहेको थियो । उनी बचाऊ बचाऊ भन्दै थिए । उनले हामीलाई पनि छाडेर गइसकेछन् । म भने गाडीको फुटेको झ्यालको सिसाबाट बाहिर निस्किएँ । बाहिर आउँदा सबैलाई किचिरहेको देखेँ । म निस्कँदा मेरो साथी मानबहादुर बोल्नै छाडेका थिए । धेरै समयपछि मान्छेहरू आएर मलगायत सबैलाई उठाउन थाले ।

मृतकको नाम

दीपा ढकाल- दशरथपुर ११, सुर्खेत
मानबहादुर गाहा- दशरथपुर-७ "
कुमार पौडेल- दशरथपुर ७,    "
गजेन्द्र गुरुङ- गुमी ५,    "
ममता खड्का- दशरथपुर ४,    "
चन्द्रकला रावत- कल्याण ८,    "
एमन मिधुन- साटाखानी,    "
गान्दी सुनार- गुमी १,    "
अजित सुनार- गुमी १,    "
प्रज्ज्वल श्रीष- गुमी ४,    "
केशर श्रीष- गुमी ४,    "
बुद्धिकला फौजा- लेखफर्सा ९,    "
ललित भण्डारी- वीरेन्द्र्रनगर-६    "
टकराव विक- दैलेख
राम रानाभाट- भरतपुर, चितवन

 

Comments   

 
0 #2 Nepali 2012-12-30 15:39
Hilepani bata Okhaldhunga ko dhule bato rasilo. Tyo bichma ek thau GAJAB ko aakar. Pachi Aaune jane dherai holan. Chalakle bandai gareko batoma kaha asajilo huncha. Bato nirman sasthalai belaima sujhab dinu. Animatrai Mandir ra Gumbama Imandari ra Anusasan ko Manne ghumi rahancha ra Ghantiharu baji rahanechan.
Quote
 
 
0 #1 swaviman 2012-12-29 14:51
Dudhkoshi (Jairam) dekhi Diktel: Darlagdo ukaalo bato, Purano motar ra bhitra matra haina chanamathi yatruharu. Sanguro ghumtika karan dherai thauma CHALAKLE, 'revese gear' upayoag. Kataho ho katta tala hururu pareko bhir. Ekjana yatru bhandai thiea mareara aiepugyo! Durgam jillama dhulea bato pugda sammanko mala payea. Bato ra Motar ko bidhi JARURI. Haina bhane dheraiko ... . Bhagawanle haat thapi dieun. RIP
Quote
 

Add comment


Security code
Refresh