Friday, May 24, 2013

भारतीयलाई नागरिकता दिने प्रयासमा गृहमन्त्री गच्छदार पीडीएफ मुद्रण इमेल

सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, १३ पुस
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रयास गरेका छन् । भारतीय नागरिक रामचेत यादव -आरसी यादव) लाई गच्छदारले अंगीकृत नागरिकता दिलाउन खोजेका हुन् ।
हाल कैलालीमा बसोबास गर्दै आएका यादव भारत उत्तरप्रदेश राज्यको खिरी जिल्लास्थित लक्षीमापुरका स्थायी बासिन्दा हुन् । भारतीय नागरिक यादवलाई गच्छदारले यसअघि नै उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बनाएका छन् । आफू गृहमन्त्री रहेकै वेला शक्ति प्रयोग गरी उनले यादवलाई नेपाली नागरिकता दिलाउने प्रयास गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गच्छदारले यादवलाई अंगीकृत नागरिकता दिलाउन अपनाउनुपर्ने सबै प्रक्रिया छिटोभन्दा छिटो पूरा गर्न मन्त्रालयको नागरिकता महाशाखासमेत हेर्ने सहसचिव भोला सिवाकोटीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गच्छदारको दबाब बढेपछि सहसचिव सिवाकोटीले उनलाई नागरिकता दिन  कैलाली प्रशासनले पठाएको फाइलको अध्ययन थालेका छन् । महाशाखाका अधिकारीहरूले भने यादवलाई नागरिकता दिनु नियमविपरीत हुने भन्दै फाइल अगाडि बढाउन नहुनेमा जोड दिएका छन् ।
गृहमन्त्रीको तीव्र दबाब रहिरहेमा यादवलाई नेपाली नागरिकता दिने फाइल अगाडि बढाउन बाध्य हुनुपर्ने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले बताए । 'दबाब आइरह्यो भने फाइल अगाडि नबढाई सुख पाउने स्थिति छैन,' ती कर्मचारीले भने, 'दबाबमा अर्को देशको नागरिकलाई नेपाली नागरिकता दिनु ऐन-नियमविपरीत र घातक हुने भए पनि आफूहरू मन्त्रीको अगाडि निरीह बन्नुपर्ने स्थिति आएको छ ।' यसरी नै नेपालमा २०-२५ वर्ष बसेका अर्को मुलुकका नागरिकलाई अंगीकृत नागरिकता दिँदै गएमा घातक परिणाम बेहोर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने भारतीय नागरिक यादवलाई नेपाली नागरिकता दिने तयारी भइरहेको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । कोइरालाले भने, 'मेरो नोटिसमा छैन, मैले पनि बुझ्नैपर्छ ।'
ऐनले नै अंगीकृत नागरिकता दिन सकिने आधार स्पष्ट गरेकाले अंगीकृत नागरिकता दिने काम नरोकिएको प्रवक्ता कोइरालाले बताए । तर, केही वर्षयता अंगीकृत नागरिकता दिन कडाइ गरिएको उनले जानकारी दिए । 'विगत केही वर्षदेखि अलि कडा भएको हो,' उनले भने ।
नागरिकता ऐन २०६३ मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ अंगीकृत नागरिकता दिन सकिने प्रावधान छ । यादव त्यस्ता कुनै व्यक्तित्व होइनन् । उनले करिब २०/२५ वर्षअघि भारतको उत्तरप्रदेशबाट कैलाली आएर एक सरकारी विद्यालयमा विज्ञान विषय पढाउन सुरु गरेका थिए । पछिल्ला वर्षमा भने उनले कैलालीमा मोडर्न एरा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका छन् ।
यादवलाई अंगीकृत नागरिकता दिन दुई वर्षअघि कैलाली प्रशासन कार्यालयले सिफारिस गरेर गृह मन्त्रालयमा पठाएको थियो । तर, गृह मन्त्रालयले अर्को देशको नागरिकलाई कुनै विशेष योगदानविना नै नेपाली नागरिकता दिन नसकिने भन्दै कैलाली प्रशासनले पठाएको सिफारिस अस्वीकृत गरेको थियो । कैलाली प्रशासनले सिफारिस गरेपछि यादवलाई नागरिकता दिलाउन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित विभिन्न नेताहरूले मन्त्रालयका अधिकारीहरूलाई दबाब दिँदै आएका थिए । तर, मन्त्रालयले फाइल अगाडि बढाउन नमानेपछि यादवलाई नागरिकता दिने प्रयास असफल भएको थियो ।
जनआन्दोलन ०६२/६३ पछि बनेका सरकारहरूले अंगीकृत नागरिकता वितरणमा कडाइ गर्दै आएका छन् । गृह मन्त्रालयका अनुसार ०६४ सालयता अंगीकृत नागरिकता कसैलाई पनि दिइएको छैन ।

के हो अंगीकृत नागरिकता ?

नागरिकता ऐनमा अंगीकृत नागरिकता वैवाहिक अंगीकृत र अंगीकृत गरी दुई किसिमले पाउनसक्ने उल्लेख छ । ऐनअनुसार वैवाहिक अंगीकृत नागरिकता पाउन कठिन छैन । तर, अंगीकृत नागरिकता भने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिबाहेक अन्यलाई दिन कठिन छ ।
कुनै विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी नेपालमै बसेमा ती महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिन सकिने ऐनमा व्यवस्था छ । अंगीकृत नागरिकता भने बुबा विदेशी भए पनि आमा नेपाली र नेपालमै बसेको अवस्थामा उनीहरूबाट जन्मिएका सन्ततिले अंगीकृत नागरिकता पाउन सक्ने ऐनमा उल्लेख छ ।
नागरिकता ऐनमा अंगीकृत नागरिकता पाउन विदेशी नागरिकहरू जसले विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानवकल्याण तथा नेपालको समग्र औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई सरकारले अंगीकृत नागरिकता दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लोपटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिको रूपमा टोनी हेगेनलाई अंगीकृत नागरिकता दिइएको थियो । पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारीलाई पनि अंगीकृत नागरिकता दिइएको थियो ।

 

Comments   

 
+1 #1 nunho lama yolmo 2012-12-29 21:06
yo dalal haru le tarai ma aadha bhanda badi bharatiye haru lai nagrikta baadi sakeko huna parchha yas paali ko janganana ko tathyank here pugi halchha,yasto deshdrohi lai kada bhanda kada sajay huna parchha,
Quote
 

Add comment


Security code
Refresh