Friday, May 24, 2013

फुटबलरका नेताको टक्कर पीडीएफ मुद्रण इमेल

भनिन्छ महत्त्वाकांक्षी सपनाले मानिसको जीवनमा धेरै प्रभाव पार्छ, कसैले सकारात्मक त कसैले नकारात्मक परिणाम भोग्नुपर्छ । यस्तै भएको छ फुटबलरको नेताका रूपमा चर्चित मोहमद विन हमाम र सेप ब्लाटरको जीवनमा ।
एसियाली फुटबल महासंघ -एएफसी)का पूर्वअध्यक्ष मोहमद विन हमाम कुनै समय एसियाली फुटबलकै सर्वाधिक शक्तिशाली व्यक्ति थिए । हमामकै सोचमा एसियामा फुटबलको गतिविधि सञ्चालन हुने गरेको थियो । एसियाली फुटबल क्षेत्रमा एक दशक राज गरेपछि हमामले फिफा अध्यक्षको सपना देखे । फुटबलको विश्वकै नेता हुने उनको चाहना भने एसियाका फुटबलरको पकडले मात्र पूरा हुन सकेन । फिफा अध्यक्षमा सेप ब्लाटरको प्रत्याशी हुनु उनका लागि महत्त्वाकांक्षाको उल्टो परिणाम भयो ।
हमामलाई त्यो ज्ञान भएन, जहाँ ७५ वषर्ीय ब्लाटरमाथि कडा चुनौती छ भन्ने । ब्लाटरको प्रत्यासी भएर फिफाको नेतृत्वमा उठ्नु हमामका लागि ठूलो चुनौती थियो । तर, हमामलाई फिफा अध्यक्षको सपना देखाउने भने ब्लाटरले नै रहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूको दाबी छ । किनभने, ब्लाटर र हमाम कुनै एक समय घनिष्ठ मित्र थिए । ब्लाटरलाई आवश्यक पर्दा हमामले र हमामका लागि ब्लाटरले सहयोग गर्ने गरेका थिए ।
फुटबल क्षेत्रमा राज गर्न चाहिने भनेकै पैसा हो । पैसाविना फुटबल क्षेत्रमा हुने 'राजनीति' सम्भव नभएको अहिलेसम्मको इतिहासले पनि देखाउँछ । अन्तर्राष्ट्रिय फुटबलका पण्डितहरू पनि भन्ने गर्छन्, 'फुटबल भनेकै पैसाको चलखेल हो, विनापैसा फुटबल क्षेत्र हाँक्न सकिँदैन ।' यस पक्षलाई हमाम र ब्लाटर दुवैले राम्रैसँग बुझेका थिए । यसैकारण सन् १९९६ मा फिफाको महासचिव हुँदा ब्लाटरले हमामलाई छाडेनन् । ब्लाटरले हमामलाई कार्यकारी समितिको सदस्यका रूपमा फिफामा भित्र्याएका थिए ।
ब्लाटरको चलाखी थियो- अर्बौ डलरको मालिकलाई आफ्नो साथ राखेमा कसैले धाक लगाउन र चुनौती दिन पनि सक्दैन, पावर र पैसाको बलमा आफ्नो पकड राख्न सकिन्छ । रणनीतिमा ब्लाटर सफल हुँदै गए भने हमाम कमजोर बन्दै गए । ब्लाटरले आफ्नो तेस्रो कार्यकालमा हमामसँगको सम्बन्ध प्रगाढ बनाइसकेका थिए । हमाम कतारको धनाढ्य व्यक्तिका रूपमा चिनिएका व्यक्ति हुन् । ब्लाटरका लागि फुटबल क्षेत्रमा हमामले जति सहयोगी अरू थिएनन् ।
फिफाबाट आफूलाई पनि फाइदा हुने सपनामा हमामले ब्लाटरलाई सहयोग गरे । तेस्रोपटक फिफा अध्यक्षमा ब्लाटर चुनिँदा 'प्लेन' नै चार्टर्ड गरी हमाम चुनावमा लागेका थिए । उनले पैसाको खोलै बगाए । हमाम साथमा रहँदासम्म फिफा अध्यक्षमा कुनै खतरा नहुने विश्वास ब्लाटरलाई थियो । आफूलाई सहयोग गरेको गुन तिर्न र भविष्यमा सहयोग जारी रहने आशामा फिफाको नेतृत्वका लागि चौथोपटक चुनाव हुनुअघि ब्लाटरले सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्रका रूपमा कतार हुने घोषणा गरे । ब्लाटरकै सहयोगमा कतारले सन् २०२२ को विश्वकप आयोजना अधिकार जित्न अस्ट्रेलिया, जापान, दक्षण्िा कोरिया र अमेरिकी दाबेदारीलाई पन्छायो । गर्मी तथा मुस्लिम राष्ट्रमा विश्वकप फुटबल आयोजना दिन नहुने पक्षमा सिंगो युरोप नै लागेको थियो । तर, ब्लाटरले कसैको कुरा नसुनी आफ्नो मित्र हमामलाई खुसी पार्न विश्वकप फुटबलको आयोजना दिए ।
'अब हामी विश्वकपका लागि नयाँ भूमिमा जाँदै छौँ, रुस र पूर्वी युरोपले अहिलेसम्म विश्वकप फुटबल आयोजना गरेका छैनन्, न त मध्यपूर्व र अरब विश्वले विश्वकप आयोजना गरेका छन्, उनीहरू सबै लामो समयदेखि विश्वकप आयोजना गर्ने अवसरको प्रतीक्षामा थिए, ती क्षेत्रमा हुने फुटबल विकासको सम्भावनालाई लिएर खुसी छु,' विश्वकप कतारमा आयोजना हुने घोषणामा ब्लाटरले भने, 'सन् २०२२ को विश्वकप आयोजना गर्न हामीलाई विश्वास गरेका सबैलाई निराश पार्ने छैनौँ, यो निर्णयप्रति कसैले दुःख मान्नुपर्ने छैन, हामी सबैसँग मिलेर नयाँ इतिहास रच्न चाहन्छौँ ।'
आफ्नो देशमा विश्वकप आयोजना हुने भएपछि ब्लाटरलाई धन्यवाद दिँदै हमामले पनि भने, 'फिफा अध्यक्षले हामीमाथि जुन विश्वास गरे, त्यसलाई टुट्न दिन्नाँै, ऐतिहासिक रूपमा विश्वकपको आयोजना गर्नेछौँ ।' कतारलाई विश्वकपको आयोजना दिएपछि विश्व फुटबलले ब्लाटर र हमामबीचको वास्तविक सम्बन्धलाई छर्लंग बुझ्यो । युरोपियन तथा ल्याटिन अमेरिकनहरू भने ब्लाटर र हमामबीचको मित्रताका कारण चिढिए । विश्वकप आयोजना घोषणापछि कपितय अवस्थामा ब्लाटरको उत्तराधिकारीका रूपमा हमामलाई लिन थालियो ।
ब्लाटर र हमामबीचको सम्बन्ध नङ र मासुझैँ हुँदा युरोपियन र ल्याटिन अमेरिकन फुटबलका शक्तिशाली व्यक्तिहरू निरिहजस्तै देखिए । दुवैबीचको सम्बन्धलाई तोड््न युरोपियनले धेरै कोसिस पनि गरे । तर, उनीहरू आफ्नो योजनामा तत्काल सफल भएनन् । कतारलाई विश्वकप आयोजक चुनिँदा व्यापक आर्थिक चलखेल भएको आरोप ब्लाटरमाथि युरोपियनले लगाएका थिए । उनीहरूको भनाइ थियो-कतारमा विश्वकप भित्र्याउन हमामले व्यापक रूपमा फिफामा आर्थिक सहयोग गरेको पनि आरोप लगाए ।
ब्लाटर र हमाममाथिको आरोप लगाउनुको अर्को अर्थ पनि थियो- आसन्न फिफा चुनाव । सन् २०२२ मा हुने विश्वकप घोषणाको केही सयमपछि फिफाको चुनाव हँुदै थियो । चौथो कार्यकाल पनि आफ्नै पोल्टामा पार्ने ब्लाटरको चाहना थियो र पैसा पनि चाहिएको थियो । यसमा हमामबाट ठूलो सहयोग पाउने आशा ब्लाटरले गरेका थिए । फिफा चुनाव हुने केही महिनाअघिसम्म पनि ब्लाटरलाई लागेको थियो-हमामले फेरि आफूलाई सहयोग गर्नेछन् । ब्लाटरले आफूलाई एक्लो फिफा अध्यक्षको रूपमा हेरेका थिए ।
तर, एसियापछि विश्व फुटबल हाँक्ने मनसाय बनाएका हमामले एकाएक फिफा अध्यक्षको प्रत्याशीमा आफ्नो नाम दर्ता गरे । हमामले अध्यक्षमा उठ्ने घोषणा गरेपछि ब्लाटरको सातो गयो । उनी रनभुल्लमा परे, मित्र हमाम आफूविरुद्ध उठ्दै छन् भन्ने खबरले । पछिल्लो तीनमध्ये दुई कार्यकालको अध्यक्षमा ब्लाटर निर्विरोध भएका थिए । दुवै कार्यकालमा युरोपियन समूहले ब्लाटरलाई हल्लाउन सकेका थिएनन् । प्रत्याशीका रूपमा हमाम अगाडि आउँदा केही हदसम्म युरोपियन समूह खुसी देखिए । उनीहरूले घुमाउरो रूपमा हमामको पक्षमा वकालतसमेत गरे । फिफाको कार्यकारी सदस्य मात्र रहेका हमाम अध्यक्षको प्रत्याशी भएसँगै अन्य पक्ष दंग भए ।
अपि|mकन, युरोप तथा एसियन राष्ट्रबाट सहयोग पाएपछि हमाम खुला रूपमा ब्लाटरको प्रतिस्पर्धी भएर प्रचारमा हिँडे । यसका लागि हमामले आफूनजिकका फिफा सदस्यहरूलाई साथमा लिइरहे । चुनावी दौडमा ब्लाटरलाई पाखा लगाउन विरोधीका रूपमा हमाम प्रस्तुत भएका थिए । एजेन्सीहरूका अनुसार चुनावको केही महिनाअगाडि हमामले ब्लाटरलाई अगामी निर्वाचनमा अध्यक्षमा नउठ्न आग्रह गरेका थिए । लगातार तीनपटकको कार्यकाल सम्हालेपछि ब्लाटरलाई चौथोपटक अध्यक्षमा नउठ्न हमामले आग्रह गरेको एजेन्सीहरूले उल्लेख गरेका थिए ।
ब्लाटर भने आफ्नो मित्रले गरेको घोषणा र प्रचारप्रति सन्तुष्ट थिएनन् । चुनावी मैदानमा जे पनि हुनसक्ने भयले ब्लाटर हमामलाई मैदानबाट हटाउने मौका खोजिरहेका थिए । त्यहीवेला आफ्नो पक्षमा मत खसाल्न आफूनजिकका क्यारिबियन फिफा सदस्यलाई हमामले ४० हजार डलर घुस दिएको सार्वजनिक भयो । घुसकाण्ड सार्वजनिक भएपछि भने ब्लाटरलाई ब्रह्मास्त्र प्राप्त गरेजस्तै भयो । चुनाव हुनु केही साताअघि घुसकाण्डको खुलासा भएको थियो । त्यसपछि ब्लाटर शक्तिशाली बने । तत्कालको फिफाको कार्यकारी कमिटीले एएफसीका अध्यक्ष मोहमद विन हमाम र क्योरिबयन फुटबल युनियनका अध्यक्ष तथा फिफा उपाध्यक्ष ज्याक वार्नरलाई कार्यकारी सदस्यबाट निलम्बन गर्‍यो । ब्लाटर समूहले दुवैजनामाथि फिफाका सदस्यहरूलाई आर्थिक प्रलोभन देखाएर आसन्न निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाए ।
घुसकाण्ड आरोपका सम्बन्धमा प्रारम्भिक छानबिनमा फिफाको इथिक्स कमिटीले हमाम र वार्नरलाई फिफा कार्यकारी सदस्यबाट निलम्बन गरी थप छानबिनमा पठायो । कमिटीले क्यारेबियन फुटबल युनियनका अन्य दुई सदस्य डेबी मिन्ग्वेल र ज्यासन सिल्भेस्टरलाई समेत निलम्बन गर्‍यो । यी दुवै सदस्य हमामनजिक थिए ।
निलम्बनमा परेपछि एएफसी अध्यक्ष हमामले फिफा चुनावको एक साताअघि अध्यक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । हमामको उम्मेदवारी फिर्तासँगै फिफा अध्यक्षमा ब्लाटर फेरि एक कार्यकाल अध्यक्ष हुने सुनिश्चित भयो । तर, भ्रष्टाचार र घुसखोरीको मुद्दा नसकिँदासम्म फिफाको निर्वाचन गर्नु उपयुक्त नहुने भन्दै तत्काल स्थगित गर्नुपर्ने माग केही सदस्य राष्ट्रहरूले राखे । तर, उनीहरूको माग अस्वीकृत भयो । अन्ततः ब्लाटर सन् १९९८ देखि फिफा अध्यक्ष रहेका ब्लाटर चौथो कार्यकालमा पनि निर्विरोध भए ।
सन् १९९८ मा तत्कालीन ब्राजिलका जाओ हाभालान्जेको कार्यकालपछि ब्लाटर पहिलोपटक फिफाको अध्यक्षमा चुनिएका थिए । सन् २००२ को चुनावमा दक्षण्िा अपि|mकी इसा हायाटुलाई हराएर उनी दोस्रोपटक अध्यक्ष चुनिए । सन् २००७ मा हमामले लाखौँ डलर खर्चेर ब्लाटरको साथ दिएका थिए । जसका कारण त्यसपटक अध्यक्षमा ब्लाटरको प्रतिद्वन्द्वीमा कोही उभिएनन् र उनी नै निर्विरोध निर्वाचित भए ।
ब्लाटरको चौथो कार्यकाल हमामका लागि अफाप भयो । ब्लाटर पुरानो मित्रमाथि जाइलागे, अन्तर्राष्ट्रिय फुटबलमा हमाममाथि आजीवन प्रतिबन्ध लगाए । घुसकाण्डपछि चोटमाथि चोटमा परेका हमामले एएफसीको अध्यक्षबाट पनि राजीनामा दिए । फुटबललाई त्याग्न नसकिने बताउने हमामले बारम्बार ब्लाटरले आफूलाई फँसाएको दाबी गर्दै आएका छन् ।
यसबीच हमाम र ब्लाटरबीच बोलचाल नै बन्द भएको एजेन्सीहरूले उल्लेख गरेका छन् । हमामले न्यायका लागि अन्तर्राष्ट्रिय खेलकुद अदालतमा अपिल पनि गरे । हमामलाई विश्वास थियो कि विश्वभरका खेलकुद विवाद र आर्थिक अनियमितता हेर्ने सर्वोच्च निकाय कोर्ट अफ आबिर्टेसन फरस्पोर्ट -सिएएसएस)बाट आफूले न्याय पाउनेछु । केही महिनाअगाडि सिएएसएसले हमामलाई फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाउनु नपर्ने निर्णय सुनायो । सिएएसएसको फैसालले हमामलाई केही राहत त भयो । तर, फिफाको भ्रष्टाचार र घुसखोरीकाण्डमा भने हमाम निर्दोष साबित हुन सकेनन् ।
फिफाको अनुसन्धान पूरा नभएको जनाउँदै हमामलाई एएफसीको अनुशासन कमिटीले आर्थिक व्यवहारमा आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष पदबाट ३० दिनका लागि निलम्बन गर्‍यो । त्यो समय सकिनुअघि नै फेरि एएफसीले हमामलाई ९० दिनसम्म प्रतिबन्ध लगायो । सिएएसएसको फैसलापछि हमामले भने आफू फुटबलमा नफर्किने र सबै गतिविधिबाट सन्न्यास लिने बताएका थिए । ४२ वर्ष अन्तर्राष्ट्रिय फुटबलमा सेवा गरेका हमामले ब्लाटरलाई लक्षित गर्दै विश्व फुटबलको फोहोरी र कुरूप खेलका कारण आफू कहिले पनि यस क्षेत्रमा नआउने घोषणा गरे ।
एसियन फुटबलको लेखा परीक्षण प्रतिवेदनमा हमामले एएफसीको बैंक खाताबाट पैसा झिकेर निजी प्रयोजनमा खर्च गरेको अभियोग लगाइयो । तर, बि्रटिस मिडियाका अनुसार सिएएसएसले हमामलाई निर्दोष साबित गरेपछि ब्लाटरले उनलाई फसाउन यस्तो रणनीति अपनाएका थिए । त्यसअघि एसियन फुटबलको लेखा प्रतिवेदन सार्वजनिक हुने गरेको थिएन । तर, हमामलाई फुटबल क्षेत्रबाटै हटाउन ब्लाटरको रणनीतिमै लेखा प्रतिवेदन सार्वजनिक गर्न लगाइएको आरोप लाग्दै आएको छ । यसकै कारण ब्लाटरको शक्तिअगाडि निरही देखिएका हमामले फिफा र एएफसीसँग नाता तोडेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गर्ने गरेका छन् । अन्ततः फुटबलको नेतृत्वमा रहिरहन अनेक चलखेलमा माहिर मानिने ब्लाटरले आफ्नो विरोधी हमामलाई पाखा लगाए । एक समयको ब्लाटर र हमामबीचको घनिष्ठ सम्बन्ध फिफा चुनावका कारण पछिल्लो दुई वर्षयता एक-अर्काका विरोधीमा परिणत भएको छ ।

श्रीलोचन राजोपाध्याय (एजेन्सीको सहयोगमा)

 

 

Add comment


Security code
Refresh